७ वैशाख २०८१ शुक्रबार
अन्य

‘प्रे फर सिरिया’


काष्ठमण्डप
रगतमा लतपतिएर रोइरहेका बालबालिकाका तस्बिर अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
कतिपय तस्बिरमा अभिभावकले बालबालिका च्यापेर दौडेको देखिन्छ भने केही बालबालिका एक्लै रोइरहेका । यस्ता तस्बिर र भिडियो सामाजिक सञ्जालमा देखिन थालेको केही वर्ष भइसक्यो । गत साता भने सामाजिक सञ्जालमा यस्ता तस्बिरले फेरि एकपटक स्थान पाए । संसारभरबाट यस्ता तस्बिर र भिडियो पोस्ट भए।

गत साता सामाजिक सञ्जालमा तस्बिरहरू मात्र पोस्ट गरिएका थिएनन्, तस्बिरसँगै सन्देश समेत प्रवाहित भए । गत साता सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान खिचेको थियो, सिरियाको गुटामा भएको हमलाले । जहाँ केही दिनमै सयौँ मानिस मारिए र कैयौँ घरबारविहीन बनाइए ।गुटाको दर्दनाक दृश्यले धेरैको ध्यान खिचेकैले हुनुपर्छ, गत साता एकाएक सिरियासम्बन्धी विषयले सामाजिक सञ्जालमा चर्चा पायो । सिरियाली जनताको पक्षमा आवाज उठाउँदै संसारभरबाट सामाजिक सञ्जालमा युद्धको विरोध गरियो।

‘मार्च १५ मा सिरिया युद्ध सुरु भएको आठ वर्ष पुग्छ । अहिलेसम्म चार लाख ६५ हजार सिरियाली नागरिक मारिएकामा ११ हजार बालबालिका छन् । ६१ लाख सिरियाली नागरिक घरबारविहीन छन् । ४८ लाख शरणका लागि भौँतारिइरहेका छन् । संसारले कसरी यस्तो हुन दिइरहेको छ ? प्रे फर सिरिया,’ सिरियाली मूलका फ्रान्सेली ट्विटर प्रयोगकर्ता किन्डरले गत बिहीबार यस्तो ट्विट गरे । घाइते र घाउले छटपटाइरहेका बालबालिकाको तस्बिरसहितको यो ट्विट एक सय ५७ पटक रिट्विट भयो।

अहमदु बेल्लो विश्वविद्यालय जारिया नामक अकाउन्टबाट ‘आज जुन हालतमा सिरिया छ, भोलि त्यो हालत हाम्रो हुन सक्छ । जबसम्म हामीले अर्को मानवको पीडा बुझ्न सक्दैनौँ, तबसम्म हामी मानव हुन सक्दैनौँ, प्रे फर सिरिया, सिरियाको बालबालिकालाई बचाऔँ,’ भन्दै गरिएको ट्विट दुई सय ७० पटक रिट्विट भयो ।नेपालमा पनि धेरैले ‘प्रे फर सिरिया’ ह्यासट्याग प्रयोग गरेर सिरियाली युद्धको विरोध गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तादेखि साहित्यकार, कलाकारसम्म सबैले आ–आफ्नो ठाउँबाट विश्वव्यापी रूपमा दबाब दिइरहेका छन्।

युनिसेफले गुटामा भएको कहालीलाग्दो घटनापछि निःशब्द भएको भन्दै खाली विज्ञप्ति निकाल्यो । नेपालका बालबालिकाले पनि सिरियामा भइरहेको हिंसालाई रोक्न मध्यस्थताको आग्रह गर्दै संयुक्त राष्ट्रसंघ महासचिवलाई युनिसेफको नेपाल कार्यालयमार्फत पत्र र सेतो गुलाब पठाए ।सिरियामा सन् २०११ मा युद्ध सुरु भएयता पाँच लाखभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अन्य मध्यपूर्वी मुलुकमा भएको प्रदर्शनबाट प्रेरित भएर सिरियाका नागरिकले सरकारविरुद्ध शान्तिपूर्ण विद्रोह सुरु गरेका थिए । शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनपछि राज्य र विद्रोही पक्षबीच सशस्त्र युद्ध नै सुरु भयो । त्यसमा विदेशी शक्ति राष्ट्र पनि पक्ष र विपक्षमा विभाजित भए।

त्यसपछि सिरियामा युद्ध रोकिएको छैन । जसले दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो मानवीय संकट निम्त्याएको छ ।पछिल्लोपटक गुटामा भएको आक्रमणले विश्वलाई नै स्तब्ध पारेकाले संसारभरबाट ‘प्रे फर सिरिया’ ह्यासट्याग चलाइएको हो । त्यसमा नेपाली पनि सहभागी भएका हुन् ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App