coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘गुण्डुका मूर्ति मच्छेश्वर महादेवको’

सूर्यविनायक नपा– ५ स्थित मच्छेश्वर महादेव मन्दिरको भग्नावशेष र अनुसन्धानका क्रममा स्थलगत भ्रमण गर्दै अनुसन्धान टोली । साथमा मन्दिरबारे शिलालेख ।तस्बिर : कृष्ण/नागरिक

भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ गुण्डुस्थित पुरातात्विक महत्वका मूर्तिहरू मच्छेश्वर महादेवको रहेको पुष्टि भएको छ।

खुला आकाशमुनि रहेका यी मूर्तिलाई कसैले पिशाचेश्वर, कसैले मसानेश्वर त कसैले इशमसानेश्वर महादेवको रूपमा रहेको मान्दै आएका थिए । इतिहास एवं संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठको समूहले गरेको अध्ययनबाट गुण्डुस्थित खुला आकाशमुनिका मूर्ति मच्छेश्वर महादेवको रहेको पुष्टि भएको हो ।
श्रेष्ठको अगुवाइमा स्थानीयवासी र स्नातक तहमा इतिहास एवं संस्कृति विषय अध्ययनरत विद्यार्थी समूहले संयुक्त रूपमा मूर्तिहरू र शिलालेखको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा भेटिएका शिलालेखले मूर्तिहरू मच्छेश्वर महादेवको भएको संकेत गरेको छ।

श्रेष्ठका अनुसार एक स्थानीयवासीले मन्दिरबाट घरमा लगेर राखेको शिलालेखमा मच्छेश्वर महादेव लेखिएको पाइएको छ । शिलालेखमा नेपाल संवत् ८३५ (वि.सं. १७७१) स्पष्ट रूपमा लेखिएको छ ।
श्रेष्ठका अनुसार अनुसन्धानले हाल मूर्तिहरू रहेको स्थानमा लिच्छविकालमै हंसगृह नामक बस्ती रहेको देखाएको छ । त्यसबेला यस स्थानमा शैव सम्प्रदायको बस्ती रहेको थियो । अहिले मूर्ति रहेको स्थानमा पनि मन्दिर रहेको र त्यो भत्किएको अनुसन्धानकर्ताको अनुमान छ । मूर्ति रहेको स्थानमा गुम्बज शैलीको मन्दिर रहेकाले त्यसै रूपमा पुनर्निर्माण गरी धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउन सकिने श्रेष्ठले बताए।

स्थानीय राज कार्कीका अनुसार करिब १० वर्षअघि गुण्डु क्षेत्र घुम्न आएका एक ब्राह्मणले मूर्ति रहेको स्थानलाई पिशाचेश्वर महादेव नामाकरण गरिदिएका थिए । उनले भनेकै आधारमा स्थानीयवासीले सो क्षेत्रलाई पिशाचेश्वर भन्न थालेका थिए । मन्दिरको भग्नावशेष जस्तो देखिने यो क्षेत्रको ऐतिहासिक महत्व भए पनि सरकारले खासै चासो दिएको छैन ।स्थानीयवासीका अनुसार यस क्षेत्रमा करिब दुई वर्षअघि नेपाली सेनाले उत्खनन गरेको थियो । त्यस क्रममा सेनाले माटोहरू पन्छाई सफा गरेको स्थानीय दीपेश कार्कीले बताए । मूर्ति रहेको स्थानलाई पहिरोले छोपेर पुरेपछि सेनाले माटो पन्छाएको थियो।

मूर्ति रहेको स्थानलाई हाल चारैतिरबाट होचो पर्खालले घेरिएको छ । गोरेटो बाटो हुँदै जानुपर्ने यो स्थानमा हाल केही ढुंगाका मूर्ति मात्रै छन् । यहाँ मन्दिरका रूपमा कुनै पनि भौतिक संरचना छैनन् । मूर्तिहरू रहेको स्थाननजिकै सुकेको पोखरी पनि छ । सुकेको पोखरीको माझमा पनि प्रस्तर मूर्तिहरू छन् । पोखरीको माझमा शिवलिंग स्थापना गरेको देखिन्छ।

मूर्ति रहेको स्थानलाई हाल चारैतिरबाट होचो पर्खालले घेरिएको छ । गोरेटो बाटो हुँदै जानुपर्ने यो स्थानमा हाल केही ढुंगाका मूर्ति मात्रै छन् । यहाँ मन्दिरका रूपमा कुनै पनि भौतिक संरचना छैनन् ।

यो स्थाननजिकै अनन्तलिंगेश्वर, डोलेश्वर, सुवर्णेश्वर, आशापुरेश्वरलगायत महादेवका मन्दिर छन् । वरपरका मन्दिरको नाममा पनि ‘श्वर’ शब्द रहेकाले यो स्थानको मन्दिरको नाम मच्छेश्वर नै रहेको देखिन आउने अनुसन्धानका सदस्य एवं ख्वप कलेज स्नातक तह तेस्रो वर्षकी मनीषा थापा बताउँछिन् । यो स्थानमा नेवारी शैलीमा बनेको एउटा पाटी अहिले पनि सुरक्षित नै छ।

मच्छेश्वर महादेव रहेको स्थान पुग्न सूर्यविनायक मन्दिरबाट करिब सात किलोमिटर गुण्डुतर्फ जानुपर्छ । सूर्यविनायक जंगलको शिखरमा पुगेपछि गुण्डुको कार्की गाउँ हुँदै झन्डै आधा किलोमिटरको गोरेटो बाटो हिँडेपछि मच्छेश्वर पुगिन्छ ।सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा ऐतिहासिक महत्व बोकेको यो स्थानलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने बताउँछन् । उनले अनुसन्धानपछि यो स्थानको महत्व अझ बुझिएकाले नगरपालिका त्यसलाई विकास गर्न लागिपर्ने बताए ।


 

प्रकाशित: २१ फाल्गुन २०७४ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App