७ वैशाख २०८१ शुक्रबार
समाज

हरियो बन्दैछ बाग्मती किनार

काठमाडौं- बाग्मती सरसफाई महाअभियान नदी सफाईसँगै किनाराका क्षेत्रमा हरियाली बढाउन संचालित साझेदारी कार्यक्रमबाट नदी सफाभएसँगै बाग्मती किनार हरियो हुँदै गएको छ। स्थानीय सामुदायिक क्लबलगायत स्थानीय २५ संस्थाहरुको सहकार्यमा करिव ७ करोड बराबरको लागतमा बाग्मती किनारमा हरियाली क्षेत्र बनाउने कार्यक्रम अगाडि बढाइएको हो।

अभियान अन्तर्गत जोरपाटी नारायणटारदेखि कीर्तिपुर सुन्दरीघाटसम्मको २१ किलो क्षेत्रमा ८ वटा उद्यानको निर्माण सकिइसकेको र अब १३ वटा निर्माणको क्रममा रहेको अधिकार सम्पन्न बाग्मती  विकास समितिका प्रमुख राजेश सिंहले बताए।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको मुख्य उद्देश्य अर्न्तगत नै बाग्मती नदीको दुवै किनारामा हरियाली प्रवर्द्धन गर्ने, बाग्मती नदीको सौैन्दर्य बढाउने विभिन्न कार्यक्रम संचालन हुँदै आएका छन्। सरकारको निर्देशन अनुसार संघसंस्थाले आफ्नै लगानीमा निर्माण, संरक्षण र संबर्द्धन गर्ने काम गरिरहेका छन्। यसबाट सरकारी गैर सरकारी निकायहरुको सहभागिताको नमूना बाग्मती नदीमा उद्यान र हरियाली विस्तार हुने अपेक्षा समितिको छ।

हालसम्म सरकारी कार्यालय र गैर सरकारी संस्थाहरु गरी जम्मा ५० वटाले उक्त कार्यमा सहभागी हुन मौखिक प्रतिबद्धता देखाई लिखित रुपमा ४७ कार्यालय/ संस्थाहरुले निवेदन समेत दिई सकेको समितिले जनाएको छ। जसमा २५ वटासँग संझौता भई २१ वटाले काम थालिसकेका  छन्, जसमध्ये ८ वटाले बगैंचा निर्माण गरिसकेका छन्।

नारायणटार पुलदेखि सुन्दरीघाटसम्म ४०० रोपनी क्षेत्र उद्यान र हरियाली बनाउन जग्गा उपलब्ध छ। यो सबै क्षेत्रमा हररियाली बनाउन २१ करोड भन्दा बढी लाग्ने सरकारी अनुमान छ। ती मध्ये हालसम्म बाग्मती नदीको नारायणटार पुलदेखि सुन्दरीघाट पुल सम्म २५० रोपनी क्षेत्रफलमा उद्यान र बृक्षारोपणको लागि विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुबाट माग आएको छ। हालसम्म सो क्षेत्रको १७२ रोपनी क्षेत्रमा उद्यान निर्माण गर्न संझौता भई हरीयाली बढाउने, उद्यान निर्माण, वृक्षारोपणलगायका काम भइरहेको सिंहले जानकारी दिए।

बाग्मती सफाई महाअभियान अर्न्तगत नदीमा शुद्ध पानी बग्न थालेपछि कार्यक्रममा गैर–सरकारी संघ–संस्थाको आर्कषण बढेको समितिले जनाएको छ। ती संघ संस्थाहरुले भू–क्षय नियन्त्रणमा पनि सहयोग पुर्याई वातावरण स्वच्छ पार्न सहयोग पुग्ने र बाग्मती किनारमा वसोवास गर्नेहरु साथै अन्यलाई पनि स्वस्थ्य मनोरन्जनको स्थल विकास गर्न कार्यक्रम आफ्नै अग्रसरतामा बढाउँदै लगेका छन्।

जसअनुसार नदीको दुवै किनारमा खाली भएको क्षेत्रहरुमा स्वतःस्फूर्त उद्यान निर्माण र बृक्षारोपण समेत भइरहेको छ। योजना पूरा भएपछि किनारको सौन्दर्य वृद्धिसँगै जैविक विविधता संरक्षण, सहर क्षेत्रमा मनोरञ्जन र घुमफिरको स्थलसमेत बढ्ने सरकारी अपेक्षा छ।

२०७० सालको जेठ महिनाको अगाडिसम्म बाग्मती र धोबी खोला करिडोर लगायतका उपत्यकाका नदीको अवस्था यस्तै बेहाल रहेको थियो।  भविष्यमा स्वच्छ र हरियाली बाग्मती बनाउने भन्दै सुरुमा पाँच ओटा संघ संस्था मिलेर सुरु गरेको बाग्मती सरसफाइ अभियानले निरन्तर १७१ हप्ता पूरा गरिसकेको छ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितिका प्लानटेसन विज्ञ रामदयाल यादवले  भौतिक पूर्वाधार निर्माण बाहेकको हरियाली प्रवर्द्धन गर्ने, सौन्दर्य बढाउने, मनोरञ्जनात्मक स्थल निर्माणको काम भने विभिन्न सरकारी, गैरसरकारी संघरसंस्थाले स्वःस्फूर्त रुपमा निर्माण गर्ने अनुमति लिइसकेको जानकारी गराए।

नारायणटार खण्डको उक्त क्षेत्रमा 'राम्रो जोरपाटी हाम्रो जोरपाटी' नामको स्थानीय संस्थाले उद्यान निर्माण र सफाइको जिम्मा लिएको छ भने तिलगंगा आवास क्षेत्र टोल सुधार समितिले तिलगंगा नीलो पुल क्षेत्रमा, नेपाल सोका गाक्काई इन्टरनेसनलले तिलगंगामा, आर्ट अफ लिभिङले टेक बहादुर रायमाझी आरोग्य मन्दिर परिसरमा, तिलगंगा महिला समूहले सिनामंगल पहेँलो पुलमा, सशस्त्र प्रहरी बलले प्रयागनगरमा, निजामती कर्मचारी श्रीमती संघले सिनामंगलमा उद्यान निर्माणको जिम्मा लिएको छ।

त्यसैगरी नेपाल नागरिक उद्यान प्राधिकरणले सिनामंगल पुलबाट तल्लो क्षेत्रमा, नेसनल भोलन्टियर एसोसिएसनले बानेश्वर क्याम्पसअगाडि, वातावरण विभागले बानेश्वर क्याम्पस वरपर, नेपाल प्रहरी सामुदायिक सेवाले बानेश्वर क्याम्पसको दक्षिण भागमा, नबिल बैंकले कोटेश्वर पुल मीनभवनमा उद्यान बनाएको छ।

गैरआवासीय नेपाली संघले शंखमूल ललितपुरतर्फ, कृष्णप्रणामी सेवा समिति नेपालले शंखमूल बागमती अपार्टमेन्टअगाडि, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले पचली भैरव, पुडासैनी मैत्री समाजले नयाँबस्ती गोठाटारमा, फ्लोरिकल्चर एसोसिएसन नेपालले कोटेश्वर महादेवस्थान तलको क्षेत्रम, नेपाल टेलिकमले सहिदनगर शंखमूल क्षेत्रमा उद्यान निर्माणको काम गरिरहेका छन्।

यस्तै युथ एलाइन्स इन्भार्नमेन्ट, निजामती तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), भिएस निकेतन मावि, उच्च माध्यमिक विद्यालय संघ, सांग्रीला टुर्स एन्ड होटल ट्रेनिङ सेन्टर, जीवन विज्ञान, नेपाल विज्ञापन संघ, कान्तिपुर पब्लिकेसन, एपेक्स कलेज, काठमाडौं इन्जिनियरिङ कलेज, दिव्य हस्पिटालिटी, सत्य साई सेवा क्षेत्रिय समिति, महिला वातावरण समूह, जोरपाटी टोलवासी, नेपाली सभा, नेपाल चित्रगुप्त समाज, आदर्श सेवा नवजीवन केन्›, लायन्स क्लब अफ काठमाडौं, युनाइटेड ट्रेडर्स प्रालि, डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल, तारा युवा क्लब, ब्रम्हकुमारी राजयोग सेवा केन्›, मिरमिरे युवा समाज, बागमती मनोहरा सरोकार समिति र माकलबारी क्षेत्रले सम्झौताका लागि निवेदन दिइसकेका छन्।

उद्यान निर्माणको जिम्मा विभिन्न संघसंस्थाले लिएपछि समितिले दुवैतर्फको करिडोर सडक पक्की बनाउने र नदीलाई ढलमुक्त बनाउने काममा केन्द्रीत गरेको समितिका प्रमुख सिंहले बताए।

प्रकाशित: ३ भाद्र २०७३ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App