७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अन्ततः जर्मनीमा बन्ने भयो नयाँ सरकार

बर्लिन –लामो समयदेखिको राजनीतिक अस्थीरतापछि युरोपेली मुलुक जर्मनीमा नयाँ सरकार गठन हुने भएको छ।

जर्मनीको सोसियल डेमोक्र्याटिक (एसपिडी)ले जर्मन चान्सलर एन्जेला मर्केलको कन्जरभेटिभ दल नेतृत्वसँग आइतबार गठबन्धन बनाउनका लागि निर्णायक मतदान गरेपछि सरकारविहीनताको लामो समस्यालाई चिर्दै जर्मनीले नयाँ सरकार पाउने बाटो खुलेको हो।

युरोपकै ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा एसपिडीको निर्णयसँगै लामो समयदेखिको राजनीतिक अनिश्चितताको अन्त्य हुने भएको छ । आफ्नो पार्टीको प्रस्तावलाई संसद्को दुई तिहाई सदस्यले ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेको एन्जेलाको कन्जरभेटिभ दलका अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । दुई तिहाई मत अपेक्षा गरिएको भन्दा धेरै भएको बताइएको छ । संसद्मा दुई तिहाई मत प्राप्त गर्नुको अर्थ अब वर्तमान चान्सलर मर्केलले चौथौ कार्यकालका लागि मध्य मार्च महिनासम्ममा शपथ लिन सक्ने छिन् । एसपिडीसँगको गठबन्धन कन्जरभेटिभको सन् २०१३ देखिको गठबन्धन कै निरन्तरता हो।

निर्वाचन सम्पन्न भएको पाँच महिनासम्म कार्यवहाक चान्सलरका रुपमा काम गरिरहेकी मर्केल सामु चुनौतीका पहाड रहेका छन् । युरोपकै सबैभन्दा ठूलो देश भएका कारण जर्मनीले अर्थतन्त्र र सुरक्षाका विषयमा नेतृत्व गरोस् भन्ने चाहना पनि अन्य युरोपेली मुलुकसँग रहेकाले मर्केललाई यो चुनौतीसँग पनि जुध्न पर्ने बाध्यता रहेको रोयटर्सले जनाएको छ।

राजधानी बर्लिनस्थित पार्टी मुख्यालयमा आइतबार कन्जरभेटिभसँग गठबन्धनका बारेमा आयोजना भएको बैठकमा एसपिडीका कार्यवहाक नेता ओलाफ स्कूल्जले भने, ‘अब हामी प्रष्ट भएका छौं । एसपिडीले जर्मनीको अर्को सरकारमा पनि सहभागिता जनाउने छ।’

मर्केलले भने एसपिडीलाई बधाई दिनका लागि आफ्नो दलको ट्विटर अकाउन्ट प्रयोग गरेकी छिन् । ‘म देशको राम्रोका लागि एसपिडीसँग पुनः काम गर्न इच्छुक रहेकी छु,’ उनले बताएकी छन् ।
युरोपली आर्थिक तथा वित्तिय मामिलाका आयुक्त पेरे मोस्कोभिसीले पनि ट्विटरमार्फत एसपिडीलाई उनीहरुको जिम्मेवार र निर्णायक मतदानका लागि बधाई दिएका छन् र बलियो युरोपका लागि जर्मनी अब तयार भएको बताएका छन्।

फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मारीले ट्विटरमै आफूले स्कूल्ज र जर्मनीको कार्यवहाक अर्थमन्त्री एवं मर्केलको विश्वास पात्र पिटर अल्टमाइएरस आइतबार टेलिफोनमा एसपिडीको मतपछि युरो जोनलाई नयाँ गति दिनबारेमा कुराकानी गरेको बताएका छन् । उनले युरोपको साझा समस्या मिलेर हल गर्ने विषयमा पनि कुराकानी भएको बताएका छन् । ‘गठबन्धन बनेकोमा म खुसी छु,’ एसपिडीकी सम्भावित नेत्री एन्ड्रिया नाहलेसलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

मर्केल नेतृत्वको सरकारमा अर्थमन्त्री बन्न लागेको भन्ने विवरण बाहिरिएको विषयमा एसपिडीका नेता स्कूल्जले भने प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । उनले आफू मन्त्री बन्न लागेको विषयमा केही नबोले पनि संघीय मन्त्रिपरिषद्मा एसपिडीका तर्फबाट तीन महिला र तीन पुरुष सहभागी हुन लागेको जानकारी भने गराएका छन् । मर्केललाई सरकार बनाउन अत्यावश्यक सहयोग गरेको एसपिडीले अर्थ मन्त्रालयसहित महत्वपूर्ण मन्त्रालय लिने बताइएको छ।

पछिल्लो राजनीतिक समीकरणले अब अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी)संसद्को ठूलो प्रतिपक्ष दल बन्ने निश्चित भएको छ । पार्टीको आधिकारिक ट्विटर अकाउन्टमा ट्विट गर्दै एएफडीले एसपिडीको निर्णय जर्मनीको लागि ठूलो विपत्ति भएको प्रतिक्रिया जनाएको छ । ट्विटमार्फत नै उसले सरकारको आलोचनात्मक प्रतिपक्ष बन्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

यसैबीच पछिल्लो निर्वाचनमा एसपिडीले नराम्रो नतिजा ल्याएपछि कडा प्रतिपक्षको भूमिकामा बस्नु पर्ने माग गर्दै आएको उसको युवा संगठनले मर्केललाई सरकार बनाउन सहयोग गरेकोमा पार्टी प्रति असन्तुष्टि जनाएको छ । एसपिडीका युवा मोर्चाका प्रमुख केभिन कुनेर्टले पार्टीको निर्णयले आफू स्तब्ध भएको भन्दै आफूहरुले पार्टी नेतृत्वको आलोचना गर्न नछोड्ने बताएका छन् ।लामो समयपछि देशमा सरकार बन्ने भएपछि जर्मनका व्यापारीमा भने खुसीयाली छाएको रोयटर्सले जनाएको छ ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App