८ वैशाख २०८१ शनिबार
खेल

पिएसजीविरुद्ध रियाल तयार

मड्रिड– स्पेनिस ला लिगामा शनिबार गेटाफेमाथि ३–१ ले विजय हासिल गरेपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध खेल्न टोली तयार रहेको प्रतिक्रिया दिएका छन्।

सान्टियागो बेर्नाबेउमा गारेथ बेलको गोलबाट अग्रता लिएको रियालका लागि क्रिस्ट्रियानो रोनाल्डोले  दुई गोल थपेका थिए । यससँगै रोनाल्डोले ला लिगाको २ सय ८६ खेलमा ३ सय १ गोल गरेका छन् । लियोनल मेसीपछि ला लिगामा ३ सय गोल कटाउने रोनाल्डो दोस्रा खेलाडी हुन्।

गेटाफेका लुइक रेमीले ४७औं मिनेटमा दोहोरो पहेंलो कार्डको सामना गर्दै मैदान छाडेपछि दश खेलाडीमा समेटिए पनि भ्रमणकारी टोलीले रियालमाथि दबाब कायम राखेको थियो ।  जर्ज मोलिनालाई नाचोले फाउल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई फ्रान्सिस्को पोर्टिलोले सदुपयोग गरेका थिए।महत्वपूर्ण समयमा रोनाल्डोको पुनरागमनले युरोपियन च्याम्पियन रियालको मनोबल बढाएको छ । साबिक विजेता रियालले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा ३–१ ले हराएको पिएसजीविरुद्ध मंगलबार दोस्रो लेग खेल्नेछ।

‘यो हामीले आशा गरेको खेल हो,’ रियालका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘मंगलबारको खेलका लागि हामीले धेरै गम्भीर भएर तयारी गरेका छौं । हामीले त्यो खेल फरक जोसका साथ खेल्नुपर्छ।’
ला लिगामा रियालले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दूरी १० अंकमा छोट्याएको छ । तथापि एट्लेटिकोले एक खेल कम खेलेको छ । गेटाफे दशौं स्थानमा छ।

२४औं मिनेटमा रियाललाई अग्रता दिएका बेलले फ्रान्स भ्रमणको पहिलो रोजाइमा स्थान सुरक्षित गर्ने संकेत गरेका छन् । गेटाफेविरुद्ध बेलले पूरै ९० मिनेट मैदानमा बिताए । शनिबार १ सय १७औं खेल खेलेका बेलले ला लिगामा धेरै खेल खेल्ने बेलायती खेलाडी (यसअघि डेभिड बेक्ह्याम थिए) बनेका थिए । चोटमुक्त भएर फर्किएका मार्सेलोले वैकल्पिक खेलाडीका रुपमा २५ मिनेट मैदानमा बिताए । पिएसजीविरुद्ध मार्सेलोले खेल्ने सम्भावना प्रबल भए पनि लुका मड्रिच र टोनी क्रुजको सम्भावना अझै अनिश्चित बनेको छ।

‘च्याम्पियन्स लिगले हाम्रो लागि ठूलो महत्व राख्छ,’ रियालका रक्षक सर्जियो रामोसले भने, ‘उनीहरूसँग धेरै राम्रा खेलाडी छन् । तर हामी आफ्नो हतियार प्रयोग गरी पेरिसमा उनीहरुलाई ध्वस्त पार्ने प्रयास गर्नेछौं।’

लुइस मुरिल र फ्रान्को भाज्क्वेजको गोलमा पाचौं स्थानको सेभियाले एथलेटिक बिलबाओलाई २–० ले पराजित गर्दा १२औं स्थानको लेगानेसले मालागालाई २–० ले हरायो । लेगानेसका लागि हाभियर इर्सो र नोर्दिन अमराबटले १÷१ गोल गरे । डिपोर्टिभो ला कोरुनाले इबरसँग १–१ को बराबरी खेल्यो । मालागा अंकतालिकाको पुछारमा छ भने ला कोरुना एक स्थान माथि छ । इबर भने आठौं स्थानमा छ।

 

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App