६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेस संसदीय दलमा देउवा र सिंह भिड्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो पटक दलको नेतामा देउवा निर्वाचित हुने निश्चितजस्तै भए पनि सिंहले उनलाई चुनौती दिएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि देउवा र सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांगेसले नराम्रोसँग पराजय भोगे पनि गुटगत धु्रवीकरण बढ्दै जाँदा देउवा र सिंह मैदान उत्रिएका हुन्।

प्रतिनिधिसभा सदस्यको शपथलगत्तै संसदीय दलको कार्यालय पुगेका सभापति देउवाले दलको नेताका लागि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका छन् । छोराको ब्रतबन्धमा व्यस्त देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँण र नेता भरतबहादुर शाहमार्फत उम्मेदवारी दिएका हुन् । संसदीय दलको नेताका लागि सातौं पटक मैदानमा उत्रिएका देउवाको प्रस्तावकमा नेता विजयकुमार गच्छदार र समर्थकमा मानबहादुर विक छन् । २०५१ को मध्यावधि निर्वाचनपछि पहिलो पटक दलको नेता बनेका देउवाले २०५८ मा सुशील कोइरालालाई पराजित गरेका थिए । पहिलो संविधानसभा निर्वाचनपछि २०६५ मा नेता रामचन्द्र पौडेल र दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग देउवा पराजित भएका थिए । कोइरालाको निधनपछि भएको पार्टीको १३औं महाधिवेशनबाट सभापतिको जिम्मेवारीमा पुगेका देउवा त्यसपछि भएको दलको निर्वाचनमा पौडेललाई पराजित गर्दै तेस्रो पटक दलको नेता बनेका थिए।

संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार हुने निर्वाचनका लागि शेरबहादुर देउवा र प्रकाशमान सिंहले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।

सिंह भने प्रतिनिधिसभा निर्वाचनमा नेता पौडेलको पराजयपछि देउवाविरोधी धारको नेतृत्व गर्दै पार्टीमा आफ्नो स्थान बनाउने रणनीतिमा छन् । सिंहले आइतबार साँझ आफंै उपस्थित भएर उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा नेता सञ्जय गौतम छन् । लामो समय देउवा गुटमै रहेका सिंह पार्टीको १०औं महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला समिति विघटनमा परेसँगै चर्चामा आएका थिए । काठमाडौं जिल्ला सभापति सिंह विघटनमा परेपछि पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०५९ मा संसद् विघटनसँगै नेपाली कांग्रेस विभाजित हुँदा सिंहले तत्कालीन प्रधानमन्त्री देउवालाई साथ दिएका थिए । नेपाली कांग्रेस प्रजातान्त्रिकको उपसभापति बनेका सिंह पार्टी एकीकरणपछि भएको १२औं महाधिवेशनमा देउवाविरुद्ध उभिएका सुशील कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

सिंहले संसद्मा प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्न संसदीय दलको नेताका लागि उम्मेदवारी दिएको बताए । ‘संसदीय दलका अघिल्ला नेताले संसद् र संसदीय दललाई प्रभावकारी रुपमा क्रियाशील बनाउन सक्नुभएन,’ सिंहले भने, ‘प्रतिपक्षीका रुपमा संसद्मा निर्वाह गर्ने भूमिकाले नै पार्टीको भविष्य निर्धारण गर्नेछ ।’ देउवाले पार्टीलाई क्रियाशील बनाउन नसकेको सिंहले तर्क गर्दै आएका छन् । देउवाका वारेस नेता खाँणले पार्टीमा सम्पूर्ण एकता, सद्भाव र अनुशासन कायम गरेर संगठनलाई सुदृढ गर्न सभापतिलाई नै दलको नेता बनाउनुपर्ने जिकिर गरे । ‘निर्वाचन पराजयको दोषजति सबै सभापतिलाई दिएर केन्द्रीय समिति र अन्य नेताहरुले उन्मुक्ति पाउने अवस्था छैन,’ खाँणले भने, ‘पार्टीलाई गतिशील र संसद्लाई प्रभावकारी बनाउन सभापति नै दलको नेता बन्नुपर्छ।’ 

देउवाले आफ्नो पक्षमा सर्वसम्मतिका लागि नेता गोपालमान श्रेष्ठ र रमेश लेखकलाई पौडेल पक्षसँग छलफलका लागि पठाएका थिए । दलको उपनेता पौडेल पक्षलाई दिएर सहमतिको प्रस्ताव अघि सारे पनि पौडेल पक्षले महामन्त्री शशांक कोइरालालाई दलको नेता छाड्न प्रस्ताव गरेका थिए । सहमतिका लागि अझै प्रयास जारी रहेको जनाउँदै खाँणले भने, ‘सहमति जुटेन भने पनि उहाँको पक्षमा अधिक सांसद साथीहरुको समर्थन र मत रहन्छ।’ 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभा ६३ सांसदमात्र रहेको कांग्रेसभित्रको आन्तरिक समीकरणमा सभापति देउवाको स्पष्ट बहुमत देखिन्छ । देउवाको पक्षमा ३९ वा ४० मत पर्नसक्ने आन्तरिक आकलन छ । सिंहको पक्षमा २४ मत पर्नसक्ने विश्लेषण छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले सिंहको पक्षमा मतदान गर्ने बताइए पनि उनीहरुबीच मतभेद देखिएको छ । सिटौला समूहबाट गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरी सांसद छन् । प्रधानले सिंहको पक्षमा नलाग्ने बताउँदै आए पनि उनलाई मनाउने प्रयास भइरहेको पौडेलनिकटकाको दाबी छ । महामन्त्री कोइरालाले सर्वसम्मतिबाट दलको नेता बन्ने आकांक्षा देखाएका थिए।

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App