लन्डन– लुइस डंक र ग्लेन मुरेको गोलप्रेरित ब्राइटनले आइतबार आर्सनललाई २–१ ले पराजित गरेको छ।
आर्सनलको यो लगातार तेस्रो हार हो । यसअघि इङ्लिस लिग कपको फाइनलमा म्यानचेस्टर सिटीलाई ३–० को नतिजा सुम्पिएको आर्सनलले बिहीबार इङ्लिस प्रिमियर लिगमा पनि सिटीलाई ३–० कै नतिजा सुम्पिएको थियो।
खेलको सातौं मिनेटमा सेन डफेको पासमा गोल गर्दै हंकले दिलाएको ब्राइटनको अग्रता २६औं मिनेटमा मुरेले गोल गर्दै दोब्बर पारेका थिए । मुरेले पास्कल ग्रोसको पासलाई पोस्टको दिशा दिएका थिए ।
मध्यान्तर हुन दुई मिनेट बाकी हुँदा पिरे इमेरिक औबामेयाङले गरेको गोलमा आर्सनलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त बनेन।
यस जितपछि २९ खेलमा ३४ अंक जोडेको ब्राइटन १०औं स्थानमा उक्लिँदा समान खेलमा ४५ अंक जोडेको आर्सनल छैटौं स्थानमा यथावत् छ ।यस अघि स्ट्राइकर मोहम्मद सालाह र साडियो मानेले गोल गर्दा लिभरपुल शनिबार न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दैै इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
घरेलु मैदान एन्फिल्डमा सम्पन्न खेलको ४०औं मिनेटमा सालाहले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । सालाहले एलेक्स अक्सलेड चेम्बरलिनको पासलाई पोस्टको दिशा दिएका थिए । जारी सिजन उनको यो ३२औं गोल हो । पछिल्लो ७ खेलमा उनको यो आठाै गोल हो ।मध्यान्तरपछिको १०औं मिनेटमा मानेले रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । जारी सिजन मानेको यो १४औं गोल हो।
यस जितसँगै २९ खेलमा ६० अंक जोडेको योर्गान क्लोपको टोली दोस्रो स्थानमा उक्लिँदा एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड (५९) तेस्रो स्थानमा झरेको छ । जुन एक खेल कम खेल्दै शीर्ष स्थानमा बसेको म्यानचेस्टर सिटीभन्दा १५ अंक कम हो । सोमबार क्रिस्टल प्यालेसविरुद्धको खेलमा जित हात पारे युनाइटेड पुन दोस्रो स्थानमा फर्कनेछ । समान खेलमा ५८ अंक जोडेको टोटेनह्याम चौथो र एक खेल कम खेलेको चेल्सी ५३ अंकका साथ पाँचौं स्थानमा छन् । २९ खेलमा २९ अंक जोडेको न्युक्यासल १६औं स्थानमा छ।
‘मोहम्मद सालाहको उत्कृष्ट लयले यो खेलमा पनि निरन्तरता पायो । यसले सालाह हरेक खेलमा गोल गर्दै आफूलाई प्रमाणित गर्न आतुर छन् भन्ने देखाउँछ ।’
‘यो कठिन खेल थियो,’ क्लोपले भने, ‘तर खेलाडीहरूले आत्मविश्वासका साथ प्रदर्शन गर्दै तीन अंक पक्का गरे । मोहम्मद सालाहको उत्कृष्ट लयले यो खेलमा पनि निरन्तरता पायो । यसले सालाह हरेक खेलमा गोल गर्दै आफूलाई प्रमाणित गर्न आतुर छन् भन्ने देखाउँछ ।’
यता न्यु क्यासलका प्रशिक्षक राफेल बेनिटेजले निरन्तर एउटै गल्ती दोहोर्याउँदा त्यसको चर्को मूल्य चुकाउनपरेको प्रतिक्रिया दिएका छन् ।‘हामी मध्यान्तरअघिको ५ मिनेट अघिसम्म उत्कृष्ट प्रदर्शन गर्दै खेल नियन्त्रणमा लिएका थियौं,’ बेनिटेजले भने, ‘हामीले दुई गम्भीर गल्ती गर्याै। जसलाई लिभरपुललले दुवै पटक सदुपयोग गर्दै तीन अंक पक्का गर्यो ।’
त्यस्तै शनिबारै वेम्बलीमा सम्पन्न खेलमा टोटेनह्यामले हडर्सफिल्डमाथि २–० को विजयी नतिजा निकालेको छ ।टोटेनह्यामको जितमा ह्युङ–मिन सनले दुई गोल गरे ।२७औं मिनेटमा सनले डिले अलीको पासमा गरेको गोलमा अग्रता लिएको टोटेनह्यामका लागि सनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सनले ह्यारी केनको पासलाई पोस्टको दिशा दिएका थिए।
‘म टोलीका लागि अझै धेरै गोल गर्न सक्छु भन्नेमा आशावादी छु । प्रशिक्षकले सधै उत्कृष्ट ११ खेलाडी रोज्छन् र म आफूलाई सधे त्यसका लागि तयार राख्छु,’ सनले भने ।प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा स्वान्सीले वेस्ट ह्यामलाई ४–१ ले पराजित गर्दा वाटफोर्डले वेस्ट ब्रोमलाई १–० ले पराजित गरेको छ । त्यस्तै लेस्टर सिटी र बर्नमाउथले १–१ को बराबरी खेल्दा साउथह्यामटनले स्टोक सिटीसँग गोलरहित बराबरी खेलेको छ ।
प्रकाशित: २१ फाल्गुन २०७४ ०२:३९ सोमबार