७ वैशाख २०८१ शुक्रबार
राजनीति

आज संसद्काे पहिलो बैठक

काठमाडाैँ – नयाँ संविधानअनुसार गठन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठक सोमबार अपराह्न बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न ४ बजे बोलाइएको बैठकमा दलका शीर्ष नेताले भने सम्बोधन नगर्ने भएका छन्। 

संसद् सचिवालयले पहिलो बैठकमा शीर्ष नेतासँगै अन्य नेतालाई दलीय आधारमा सम्बोधन गर्न दिनेगरी तयारी गरेको थियो । तर आइतबार बसेको पाँच दलका नेताको बैठकमा सोमबारको सदनलाई शीर्ष नेता सम्बोधन नगर्ने सहमति भएको छ । दलीय सहमतिअनुसार पहिलो बैठकमा शीर्ष नेताले बोल्ने कार्यसूची नरहेको संसद् सचिवालयका एक अधिकारीले बताए। 

संसद्को कार्यक्रम तय गर्न बसेको बैठकको सहमतिअनुसार प्रधानमनत्रीले विश्वासको मत फागुन २७मा लिने भएका छन्। त्यस्तै सभामुखको निर्वाचन फागुन २६ गते  र राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गतेगर्ने निर्णय भएको छ। उपसभामुखको निर्वाचन चैत २ गते र उपाध्यक्षको निर्वाचन चैत ४ गते हुने तय भएको  छ। 
बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीका नेता सहभागी थिए।  

यस्तो छ कार्यसूची 
प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमबार बस्ने पहिलो बैठकमा सर्वप्रथम ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट  अधिवेशन आह्वान पत्र पढेर सुनाउने छन् । त्यसपछि उनले क्रमशः राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त गरेको पत्र र राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषद् विस्तारको पत्र पढेर सुनाउनेछन् ।  बैठकको आलोपालो अध्यक्षता गर्ने पाँचजना नाम तोक्ने, प्रतिनिधिसभा अन्तरिम कार्यविधि पारित गर्ने, एक मिनेट सहिदप्रति मौन धारण गर्ने र सभामुखको निर्वाचन मिति घोषणा गर्ने कार्यसूची तय भएको छ । 

यसरी फेरिए ज्येष्ठ सदस्य  
प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही २ बाट निर्वाचित  महेन्द्रराय यादवलाई  नागरिकता अनुसार उनी ८० वर्ष उमेर पुगेको देखिएकाले ज्येष्ठ सदस्यको रुपमा हेरिएको थियो । उनले नै अन्य सांसदलाई सपथ गराउने भनिएको  थियो ।उनी यसको तयारीमा पनि थिए । तर आइतबार बिहान १० बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलको बैठकमाकांग्रेस नेताले यादवको उमेर बाहिर चर्चामा आएअनुसार नभएर ६५ वर्ष हाराहारी भएकाले ज्येष्ठ सदस्य परिवर्तन गर्नुपर्ने बताएका थिए ।त्यसपछि यादव आफैं बैठकमा आएर आफू ज्येष्ठ सदस्य नभएको स्वीकारे। लगत्तै बैठकमा महन्थ ठाकुरलाई बोलाइयो। ठाकुर ७५ वर्षका भएकाले उनले नै ज्येष्ठ सदस्यको रुपमा सपथ गराउने निर्णय गरियो ।  त्यसपछि उनले ज्येष्ठ सदस्यको हैसियतले राष्ट्रपतिसमक्ष मैथली भाषामा सांसद पदको सपथ लिएर अन्य सांसदलाई संघीय संसद् भवनमा सपथ गराएका हुन् । 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App