७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘बैंक बाट लिएकाे ऋण सही ठाउँमा लगानी गर्नू’

बुटवल– राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले बैंकबाट लिएको ऋण ठीक ठाउँमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले एकातिर ऋण लिएर अर्कोतिर लगानी गर्ने प्रवृत्ति मौलाएको भन्दै लिएको ऋण ठीक ठाउँमा लगानी भए, नभएको हेर्न राष्ट्र बैंकले अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन लागेकाले सर्तक भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरे।

‘मुलुकमा राजनीतिक स्थिरताको सुरुवात भएकाले लगानी गर्ने वातावरण बनेको छ, यो बेला सही प्रोजेक्ट छनोट गरी लगानी गर्नुस्,’ यहाँबाट प्रकाशित बिजनेस खबर पाक्षिकको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित ‘प्रदेश ५ को समृद्धिको लागि साझेदारी’ विषयक आर्थिक बहस कार्यक्रममा उनले भने ।
चुनावपछि बहुमतको सरकार बनेकाले राजनीतिक स्थिरताको वातावरण बनेको र यो मुलुकको औद्योगिक विकासका लागि खुसीको कुरा भएको उनको भनाइ छ ।

उनले प्रदेशको विशेषतामा आधारित विकास अघि बढाउन ध्यान दिनुपर्ने बताए । लगानीको वातावरण बनाएकाले छोटो समयमै सिंगापुर नमुना बनेको, संसारभरका लगानीकर्ता चीनमा ओइरो लागेको र भारतको बिहारले राम्रो आर्थिक वृद्धि गरेको चर्चा गर्दै उनले अहिले नेपालसामु त्यही अवसर आएको बताए । ‘अब लगानीकर्तालाई आकर्षित गर्ने कार्यक्रम केन्द्र र प्रदेश सरकारले ल्याउनुपर्छ,’ उनले भने, ‘भारतको विहार राज्यले दोस्रो ठूलो आर्थिक वृद्धि लगातार गरिरहनुको कारण प्रदेश सरकारले लिएको सही नीतिले हो।’

भैरहवामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति सम्पन्न भएपछि यो क्षेत्रको विकासले फड्को मार्ने भएकाले व्यवसायीले लगानीका सम्भावना खोजी गरेर अघि बढ्नुपर्ने बताए । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन थालेपछि लुम्बिनी आउने पर्यटक बढ्दा यो क्षेत्रको समृद्धिको ढोका खोलिने उनको भनाइ छ । ‘पर्यटक आगमनलाई लक्षित गरी सुविधासम्पन्न होटलमा लगानी गर्नुस्, अरु उत्पादनमूलक उद्योगमा पनि लगानी बढाउन जरुरी छ,’ उनले भने।

मुलुकको आर्थिक अवस्था संकटतिर गइरहेको चर्चालाई उनले अतिरन्जित प्रचार भएको बताए । ‘केही समस्या छन्, तर समग्रमा संकटतिर गएको मान्न सकिँदैन । औद्योगिक र सेवा क्षेत्रको विस्तार राम्रो रहेका, आर्थिक क्रियाकलाप बढेको तर धानको उत्पादन घटेको छ, देखिएका केही समस्याको समाधान गर्न सकिन्छ,’ उनले भने।

मुलुक संघीयतामा गइसकेपछि त्यसको प्रयोग गरी फाइदा लिनुपर्नेमा अझै त्यतातिर अभ्यस्त नहुँदा समस्या देखिएको उनको भनाइ छ । उनले संघीयताले आफ्नो ठाउँ आफैं बनाउने अवसर सिर्जना गरेको बताए । ‘स्थानीय तहमा पैसा जम्मा भएको छ, खर्च हुन सकेको छैन । यसले पनि केही समस्या ल्याएको छ,’ गभर्नर नेपालले भने ।प्रदेश ५ सम्भावना नै संभावनाको प्रदेश भएको उनले बताए । सिक्टा सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिनेबित्तिकै दुई–तीन वर्षमै यो क्षेत्रको अर्थतन्त्र चलायमान  हुने उनले बताए ।

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App