८ वैशाख २०८१ शनिबार
अर्थ

‘भ्रष्टाचारमा शून्य सहनशीलता ’

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगको विकासमा शून्य सहनशीलता अपनाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उद्योगको विकासका लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्ध हुनुपर्नेमा उनले जोड दिए।

मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ता हीतको लागि मालवस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र मन्त्रालयअन्तर्गतका क्रियाकलापलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गरिने उनले बताए । आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने उनको भनाइ छ।

मन्त्री यादवले भ्रष्टाचारीलाई कारबाही गर्न वाम गठबन्धनका दुबै शीर्ष नेताको सार्वजनिक वक्तव्य आइसकेकाले कारबाही गर्न अझ सहज हुने बताए । सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न तयार रहेको बताउँदै उनले सहयोग र सहकार्यका लागि निजी क्षेत्रसँग उनले आग्राह गरे ।परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रको विकास एवं उत्थानका लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार रहेको बताए । आफूहरुले सरकारलाई अभिभावकको रुपमा हेरेको बताउँदै उनले सरकार यो प्रक्रियामा चालक भएर अगाडि बढे निजी क्षेत्र त्यसको प्रभावकारी इञ्जिन हुन तयार रहेको बताए।

छिमेकी मुलुकले उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनुपर्नेमा उनले जोड दिए । अब औद्योगिकीकरणले तीव्रता पाउने वाणिज्य क्षेत्रमा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार विस्तार, निकासी प्रवद्र्धन र व्यापार घाटा उल्लेखनीय रुपमा घट्ने विश्वास उनले व्यक्त गरे।आपूर्ति व्यवस्थापनमा सरल, सहज र नियमित गराइ उपभोक्ताको अधिकतम हीत हुनेमा निजी क्षेत्र विश्वस्त रहेको अध्यक्ष शर्माको भनाइ थियो । प्रतिनिधिमण्डलमा परिसंघका पदाधिकारी, गभर्निङ काउन्सिलका सदस्य, राष्ट्रिय परिषद्का सदस्यलगायतको सहभागिता थियो ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ००:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App