१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश चिन्ह र पोशाकमा छलफल

सुर्खेत – प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिले कर्णालीको पहिचान झल्कने चिन्ह र पोशाक निर्धारणका विषयमा छलफल सुरु गरेको छ। समितिका सभापति सीता नेपालीका अनुसार प्रदेश चिन्हको विषयमा दलहरुबीच सहमति भइसकेको छ। पोशाक निर्धारणको जिम्मा भने कार्य व्यवस्था परामर्श समितिलाई दिइएको छ।

प्रदेशको चिन्हमा राष्ट्रिय झण्डा, कर्णाली प्रदेशको नक्सा, कर्णाली नदीका साथै महिला र पुरुषको हात राख्ने विषयमा सबै दल सहमत छन्। सोही अनुसारको डिजाइन बनाउनका लागि संसद सचिव राजेन्द्र पौडेललाई काठमाडौं पठाइएको छ। 

दलहरुबीच भएको सहमति अनुसार गोलाकार चिन्हमा सबैभन्दा माथि राष्ट्रिय झण्डा राखिने छ। बीचमा कर्णाली प्रदेशका १० वटै जिल्लाको नक्सा राखिने छ। यो नक्सालाई महिला र पुरुषको हातले संयुक्त उचालेको देखाइने छ। प्रदेश चिन्हमा कर्णाली नदीलाई विशेष प्राथमिकता दिइने छ। ‘नाम र पहिचान दुबै झल्कने गरेर चिन्हको खाका तयार गरेका हौं’ सभापति नेपालीले भनिन्, ‘यही अनुसार डिजाइन गर्नका लागि प्रदेशसभा सचिवलाई अख्तियारी दिएका छौं।’ प्रदेश चिन्हको डिजाइन तयार भएपछि थप छलफल गरिने उनले बताइन्।

यस्तै पोशाकको विषयमा पनि दलहरु सहमति नजिक पुगेका छन्। कर्णाली प्रदेशका उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर पोशाक निर्धारण गरिने छ। नेपालीका अनुसार पुरुषका लागि अल्लो, उनीलगायतका कपडा र महिलाका लागि घरेलु ढाँकाका धोती, चोली, ब्लाउज प्रस्ताव गरिएको छ। ‘यसैको सेरोफेरोभित्र रहेर कार्य व्यवस्था परामर्श समितिमा छलफल हुन्छ’ उनले भनिन्, ‘दुई–चार दिनमै पोशाकको टुङ्गो लाग्छ।’

प्रकाशित: २० फाल्गुन २०७४ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App