८ वैशाख २०८१ शनिबार
राजनीति

उपप्रधानमन्त्री निधि भारत प्रस्थान

काठमाडौं- सरकारको विशेष दूतको रूपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्। पाँच दिने भारत भ्रमण सिलसिलामा त्यहाँ उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नेछन्।

संविधान जारी भएपछि बिग्रेको नेपाल–भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको एजेन्डा तय गर्न सरकारले उनलाई गत साता विशेष दूतको रूपमा भारत पठाउने निर्णय गरेको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार विशेष दूत निधि शुक्रबार र शनिबार उच्च राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। उनले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता गर्नेछन्। शुक्रबार उनले भारतीय राष्ट्रपति, विदेशमन्त्री र गृहमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने भारतीय प्रधानमन्त्रीलाई शनिबार भेट गर्नेछन्।

भेटमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउनुका साथै राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतिलाई पठाएको नेपाल भ्रमणको निमन्त्रणासमेत हस्तान्तरण गर्ने छन्। उनी सोमबार बेलुकी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ३ भाद्र २०७३ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App