coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘कम्युनिष्टहरु कांग्रेसबिना एक कदम पनि अघि बढ्न नसक्ने’

डोटी – नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले नेपालको लोकतन्त्र अझै संकटमा रहेको बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

संविधानको कार्यान्वयनसंगै मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अध्यायमा प्रवेश गर्दापनि लोकतन्त्रमाथिको खतरा कम नभएको उनले टिप्पणी गरे। ‘कम्यूनिष्ट पार्टीहरुले कम्यूनिष्ट भन्न नछाडेसम्म लोकतन्त्र जोखिममै रहन्छ,’ उनले भने, ‘मार्क्सबाद, लेनिनबाद र माओबादको सिद्धान्त नछोडेसम्म उनीहरुबाट लोकतन्त्र असुरक्षित नै रहन्छ।’ नेपालका कम्युनिष्ट ब्यबहारिक लोकतन्त्रबादी र सिद्धान्तमा कम्यूनिष्ट नै रहेको उनले दाबी गरे।  नेपाली कांग्रेसले कम्यूनिष्ट पार्टीहरु पूर्ण लोकतन्त्रबादीमा रुपान्तरण भएको हेर्न चाहेको बताए। 

त्यसबाहेक दिगो लोकतन्त्रका लागि सबै दलमा ब्याप्त रहेको ‘सामन्तीकरण’ र ‘ब्यापारीकरण’ पनि हट्नुपर्ने उनले बताए। उनले भने, ‘सबै दलमा यस्तै छ। अझ भन्दा राजतन्त्रको स्वभाव पनि सबै दलमा छ। चाकरी तलदेखी माथिसम्म छ। त्यो नहटेसम्म लोकतन्त्र बलियो र दिगो बन्न सक्दैन्।’ आदर्शनिष्ट र पारदर्शी राजनीतिले मात्र देशलाई अघि बढाउने पनि उनले बताए। 

सरकारलाई जनताको अभिमतको कदर गर्दै लोकतान्त्रिक बिधि प्रक्रियाबाट जनपक्षीय काम गर्न पनि नेता सिटौलाले सुझाव दिए। साथै कम्युनिष्टहरु कांग्रेसबिना एक कदम पनि अघि बढ्न नसक्ने तर्क गरे। ‘२०६४ पछि प्रचण्डजी कांग्रेसबिना अघि बढ्न खोज्नुभएको थियो। दुर्घटनामा पर्नुभयो। पछि सम्झेर साथमा हिड्ने प्रयास गर्नुभयो,’ उनले थपे। 

पछिल्लो समय नेपाली कांग्रेसको अजेण्डा जितेको उनले दाबी गरे। ‘हाम्रा अजेण्डा त जितेकै हुन्। २०६२÷०६३मा राजा र माओबादीबाट लोकतन्त्र असुुरक्षित थियो,’ उनले भने, ‘त्यसैले लोकतन्त्र जोगाउन राजालाई गद्दीबाट हटायौ, माओबादीसंग बन्दुक खोस्यौ। बाँकी कुरा संविधानले पुरा गरेका छन्।’ 

संविधानले अंगिकार गरेका ब्यबस्था राजनीतिक सहमतीको आधारमा भएकाले थोरै त्रुटी कमजोरी भएको उनले बताए। ‘तर, यसलाई भंग गरेर होईन, सुदृढ पारेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्रुटीलाई सुधार गर्नपनि सकिन्छ।’ प्रदेशका सीमांकनका मुद्दा पनि सहमतीबाटै तय भएकाले अहिल्यै आपत्ती जनाईहाल्नु नपर्ने बताए। ‘सहमतिबाट हिमाल–पहाड–तराई, तराई मात्रै, हिमाल बाहेक पहाड र तराई, पहाड–हिमाल मात्रै भएका प्रदेश संरचना तयार भएका छन्। पाँच बर्ष हेरौ, कसरी सञ्चालन हुन्छन्। त्यसपछि आबश्यक ठहरिए पुनर्विचना गर्नसकिन्छ,’ उनले भने। 

चुनावमा कांग्रेसको पराजय ‘रणनीतिक असफलता’ भएको उनले बताए। उनले भने, ‘संविधान जारी भैसकेपछि नेपाली कांग्रेसले लिएका रणनीति गलत भएका कारण पार्टी पराजित भएको हो।’ 

अब, पार्टीमा आमुल परिवर्तनको खाँचो रहेको औल्याउदै उहाँले नीति, रणनीति, ब्यबहार र संगठन सबैमा आमुल परिवर्तनको आबश्यकता रहेको बताए। त्यसका लागि पार्टीको महासमिति बैठकमा पर्याप्त छलफल गरिने उनले बताए। 

संसदीय दलको नेतामा गुटभन्दा माथि उठेर  प्रतिनिधित्व गर्ने नेता आउनुपर्ने उनले प्रष्ट्याए। ‘संसदीय दलको नेता गुटको परिधिमा बस्ने हुनुहुँदैन्। त्यसैले सकभर सहमतिमै आउनुस भनेको छु। नभए सबै साथीहरुलाई स्वतन्त्र भएर मतदान गर्न भनेको छु,’ उनले थपे। 

प्रकाशित: २० फाल्गुन २०७४ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App