१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले फागुन २७ गते विश्वासको मत लिने

काठमाडौँ (रासस)- प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आजको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४) मा व्यवस्था छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताए। निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित फागुन २१ को पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उनले बताए।

 

प्रकाशित: २० फाल्गुन २०७४ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App