७ वैशाख २०८१ शुक्रबार
अर्थ

सुक्खा बन्दरगाहमा आफूखुसी नियम

बारा – सुक्खा बन्दरगाहको सञ्चालन गर्ने जिम्मा पाएको भारतीय कम्पनी हिमालयन टर्मिनल प्रालिले ह्यान्डलिङ चार्ज र पार्किङ शुल्कको नाममा आफूखुसी रकम असुली गरेको पाइएको छ।

नेपाली आयातकर्ता र सरकारी पक्षलाई जानकारी नै नदिइ हिमालयन टर्मिनलले बन्दरगाहमा आयात गरिने मालवस्तुको ह्यान्डलिङ चार्जमा प्रतिटन १० प्रतिशत बढी रकम लिइरहेको छ । साथै एक रुपैयाँ पनि नलाग्ने पार्किङ शुल्कमा समेत सयौं रुपैयाँ असुली गर्न सुरु गरेको नेपाली आयातकर्र्ताले बताएका छन्।

‘हिमालयन टर्मिनलले पहिला सुक्खा बन्दरगाहबाट एक टन सामान ढुवानी गर्दा एक सय सात रुपैयाँ लिने गरेको थियो,’ वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा आयातकर्ता प्रदिप केडियाले भने, ‘अहिले कसैलाई थाहै नदिई आफूखुसी प्रतिटन एक सय १८ रुपैयाँ असुल्न थालेको छ।


आयातकर्ताले प्रतिटन ११ रुपैयाँ बढी दिनुपर्दा एक र्‍याकमा २० देखि २७ हजार रुपैयाँ जति रकम हिमालयन टर्मिनल प्रालिलाई तिर्नुपर्ने बाध्यता रहेको केडियाले बताए । पहिले बन्दरगाहमा ढुवानी गरिएको मालवस्तु ढुवानी गर्ने कार्यमा प्रयोग गरिने ढुवानी साधनबाट एक रुपैयाँ पनि पार्किङ शुल्क नलिने गरे पनि अहिले प्रतिढुवानी साधन चार सय रुपैयाँभन्दा बढी असुलिरहेको उनले बताए।

ढुवानी साधनबाट कन्टेनर ढुवानी व्यवसायी भैराराम पटेलको समूहले जबरजस्ती पार्किङ शुल्क लिने गरेको यातायात व्यवसायीको आरोप छ।

वीरगन्ज उपमहानगरपालिकाको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारत र तेस्रो मुलुकबाट आयात गरिने मालवस्तु भारतका विभिन्न बन्दरगाहबाट रेल्वेका माध्यमबाट ढुवानी हुने गरेको छ । भारतको कोलकाता र विशाखमपट्नम बन्दरगाहबाट रेल्वेका माध्यमबाट सुक्खा बन्दरगाहसम्म बढी मात्रामा मालसामान ढुवानी हुने गरेको टर्मिनलले जनाएको छ ।
भारतका विभिन्न बन्दरगाहबाट आयातकर्ताले रेलबाट सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर, बोराबन्दी र फलाम गरी तीन थरी मालसामान ढुवानी गर्छन् । एक र्‍याक बोराबन्दीमा २४ सयदेखि २५ सय टन, कन्टेनरमा १५ सयदेखि २० सय टन र फलाममा २५ सयदेखि २७ सय टन मालवस्तु ढुवानी हुन्छ।

औसतमा बोराबन्दी, कन्टेनर र फलामको र्‍याक गरी प्रतिमहिना ७५ देखि ८२ र्‍याक मालसामान ढुवानी हुने गरेकामा हिमालयन टर्मिनलले बढाएको १० रुपैयाँ ह्यान्डलिङ चार्जले नेपाली आयातकर्ता थप २० लाख रुपैयाँभन्दा बढी तिर्न बाध्य भएको केडियाले बताए।

नेपालमा भारत र तेस्रो मुलुकबाट आयात गरिने मालवस्तुलाई सजिलो र कम खर्चमा ढुवानी गर्नका लागि विश्व बैंकको आठ सय दुई मिलियन डलर ऋण सहयोगमा उक्त बन्दरगाह निर्माण गरिएको थियो।

हिमालयन टर्मिनलले आफूखुसी मालसामान ह्यान्डलिङ चार्ज र ढुवानीका साधनबाट पार्किङ शुल्क असुली गरिरहेकोबारे नेपाली पक्षाई जानकारी गराएको केडियाले बताए । वाणिज्य मन्त्रालय र इन्टरमोडेललाई बढी रकम असुली तत्काल रोक्न लिखित माग गरे पनि सरकारी पक्षबाट कारबाहीमा ढिलासुस्ती भएको उनको भनाइ छ।

वीरगन्ज–पथलैया, हेटौंडालगायतका उद्योगले ६० प्रतिशतभन्दा बढी कच्चा पदार्थ यसै बन्दरगाहबाट ढुवानी गर्ने गरेका छन्।

हिमालयन टर्मिनलका वरिष्ठ प्रबन्धक अनिवेश कुमारले नियमअनुसारै मालवस्तुमा १० रुपैयाँ ह्यान्डलिङ चार्ज बढाएको बताए । हालै बढाइएको १० रुपैयाँबारे आयातकर्ताले नबुझेर विरोध गरिरहेको उनको भनाइ छ। 

नेपाल सरकारसँग भएको सम्झौताअनुसार सन २०१५ जनवरी ६ देखि २०२० जनवरी ७ सम्मका लागि हिमालयन टर्मिनलले सुक्खा बन्दरगाह सञ्चालन जिम्मा पाएको उनको भनाइ छ।

सरकारसँग भएको सम्झौतामा नै तीन वर्षपछि १० प्रतिशत ह्यान्डलिङ चार्ज बढाउन सकिने उल्लेख गरिएको आधारमा बढाइएको उनले बताए।

ढुवानीका साधन एक दिनभन्दा बढी बन्दरगाहमा रोकेर राख्ने भएकाले त्यस्ता साधनबाट पार्किङ शुल्क असुल्न सुरु गरिएको उनले बताए।

प्रकाशित: २० फाल्गुन २०७४ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App