८ वैशाख २०८१ शनिबार
समाज

‘लिभिङ टुगेदर’ ले युवतीहरू मारमा

काठमाडौं – काठमाडौंकी ३० वर्षीया युवती ज्योति श्रेष्ठ (नाम परिवर्तन) को चार महिनाअघि बाँच्नको लागि सबै बाटो  बन्द भएझैं भयो । जुन दिन उनले ‘लिभिङ टुगेदर’का रूपमा वर्षौंदेखि सँगै बस्दै आएका आफ्ना साथी नवीन केसी (नाम परिवर्तन)को अर्को विवाह हुँदैछ भन्ने चाल पाइन् । सो समाचार सुन्न नसकेर उनले बिष सेवन गरिन्।

आफन्तले उनलाई टिचिङ अस्पताल महाराजगन्ज पुर्‍याए । २० दिन आइसियुको उपचार र मानसिक उपचारपछि उनी सामान्य अवस्थामा फर्किंदै छन्।

आयोगमा परेका उजुरीको प्रकृति हेर्दा किशोरी तथा युवतीहरू पे्रममा परेपछि विवाह गर्ने, सहमतिमा सँगै बस्ने, पटक–पटक गर्भपतन गर्ने, मन्दिरमा गएर विवाह गर्ने र प्रेमीले धोका दिएपछि अप्ठेरोमा पर्ने गरेका देखिन्छन् ।

टोल छिमेकमा दुवै पति–पत्नीकै रूपमा परिचित थिए। ‘लिभिङ टुगेदर’ का रूपमा दुवै जनासँगै बस्न थालेका थिए। सम्बन्धलाई औपचारिक बनाउने योजनामा ज्योति थिइन्। तर घटना ठीक उल्टो भइदियो। नवीनले अर्कैसँग विवाह गर्ने निधो गरे । उनको त्यो निर्णयलाई ज्योतिले स्वीकार्न सकिनन् । दुवै जनाको परिवारलाई उनीहरूसँगै बस्न थालेको जानकारी थियो।

तर नवीनले अन्यत्रै विवाह तय गर्नुपूर्व बठ्याँइ गर्दै ज्योतिसँग सम्बन्धित भएको देखिने सबै प्रमाण नष्ट गरिसकेका रहेछन् । उनले आफूले कसैसँग विवाह नगरेको बताए । उनको यो चाला देखेर सबै आफन्तजन आश्चर्यमा परे।
ज्योति न्याय खोज्न राष्ट्रिय महिला आयोग पुगिन् । आयोगले कानुनी आधार खोज्यो । नवीनले ज्योतिसँग खिचेका तस्बिरसहित अन्य धेरै प्रमाण नष्ट गरिसकेका थिए । ज्योतिले नवीनकै आग्रहमा पटक–पटक गर्भपतन पनि गराइसकेकी रहिछिन् । तर प्रमाण केही भेटिएन । यतिखेर ज्योति न्यायको खोजीमा न्यायिक निकायमा धाइरहेकी छिन्।

‘लिभिङ टुगेदर’कै कारण पीडित बनेकी छिन्, बर्दियाकी २६ वर्षीया रूपा चौधरी (नाम परिवर्तन) । उनी गाउँकै विनोद शर्मा (नाम परिवर्तन)सँग प्रेममा थिइन् । दुवै जनाले मत्युपर्यन्त साथ रहने प्रण गरेका थिए । यसबीच उनीहरूबीच शारिरीक सम्बन्ध पनि भयो । आर्थिक लेनादेना पनि भए।

तर समाजमा विवाहको औपचारिक आधार देखाउन सकेका थिएनन् । कारण केटाले घरमा भित्र्याउन केही समय मागे । तर समय लम्ब्याउँदै लगे । पे्रमीसँग शंका गर्ने कुरा पनि भएन । रूपा पर्खिंदै गइन् । यस अवधिमा रूपाले ६ पटक गर्भपतन गराइसकेकी थिइन् । अत्यधिक गर्भपतनले उनी कमजोर बनिन्।

केही महिनाअघिदेखि विनोद रूपासँग बिनाकारण टाढिए । रूपाले मन थाम्न सकिनन् । उनले मृत्युबाहेक अन्य बाटो देखिनन् । उनले अत्यधिक औषधि सेवन गरेर आत्महत्याको प्रयाश गरिन् । उनलाई आफन्तले अस्पताल पु¥याए । मानसिक र शारिरीक उपचारपछि बिस्तारै स्वस्थ्य हुँदैछिन् । यतिखेर उनी न्यायको खोजीमा भांैतारिएकी छिन् ।
राष्ट्रिय महिला आयोगमा पुगेका यी दुई प्रतिनिधी घटना मात्र हुन् । पे्रममा फसेर लिभिङ टुगेदरमा पुग्ने र त्यसपछि अलपत्र परेका धेरै घटना आयेगमा पुगेका छन् । आयोगका अनुसार मासिक ३ देखि ५ वटा यस्ता घटना आयोगको हटलाइन सेवामा मात्र पुगेका छन्।

आयोगमा हटलाइन सेवा ११४५ सुरु भएदेखि यता १५ वटा उजुरी पुगिसकेका छन् । राष्ट्रिय महिला आयोग  लैगिंक हिंसा सम्बोधन विभागकी व्यवस्थापक पलिता थापा भन्छिन्, ‘लिभिङ टुगेदरले किशोरी र युवती बढी पीडित भएका छन् ।’
विभागका अनुसार लिभिङ टुगेदरबाट पीडित हुनेमा उपत्यकाबाहिरबाट राजधानीमा उच्च शिक्षा अध्ययन गर्न आएकाहरू अधिक छन् । ‘पहिला बिहे गर्ने सहमतिमा सँगै उठबस गर्छन्, सँगै पनि बसेका हुन्छन् । पछि केटाले विवाह गर्दिन भनेपछि उजुरी लिएर हामी कहाँ आइपुग्छन्,’ थापाले भनिन्।

आयोगमा परेका उजुरीको प्रकृति हेर्दा किशोरी तथा युवतीहरू पे्रममा परेपछि विवाह गर्ने, सहमतिमा सँगै बस्ने, पटक–पटक गर्भपतन गर्ने, मन्दिरमा गएर विवाह गर्ने र पे्रमीले धोका दिएपछि अप्ठेरोमा पर्ने गरेका देखिन्छन् । विभागकी कानुन अधिकृत अधिवक्ता विमला खड्गाका अनुसार युवतीहरू विवाहको प्रलोभनमा लिभिङ टुगेदरमा पुगेका युवतीहरू पे्रमीमा आउने परिवर्तनले पीडित बनेको देखिन्छ । यसरी पीडित बनेका युवतीहरूको पटक–पटक गर्भपतन भएको, पढाइ बिग्रेको, मानसिक स्वास्थ्यमा गम्भीर असर परेको देखिन्छन् । यीनै  कारणले डिपे्रशनको सिकार भई आत्महत्याको प्रयाससमेत गरेको देखिन्छ।

अलपत्र परेपछि कानुनी कारबाही खोज्न पुग्नेहरूको लागि आयोगलाई प्रमाण सजिलै जुटाउन नसक्दा कारबाही गर्न अप्ठेरो परेको देखिन्छ । ‘पछि विहे गर्ने योजनामा पटक–पटक गर्भपतन गरेका हुन्छन्, मन्दिरमा पुगेर विवाह गरेका हुन्छन्, केटाले विवाह नगर्ने भएपछि ती सबै प्रमाण नष्ट गरिसकेका हुन्छन्, त्यो बेला कारवाही गर्न अप्ठेरो पर्छ,’ अधिवक्ता खड्गाले भनिन्।

नेपाली समाजमा पनि अहिलेको पुस्तामा आएको यौनलगायतका स्वतन्त्रता खोज्ने प्रवृत्तिले समाजमा लिभिङ टुगेदरलाई अहिलेको पुस्ताले सामान्य रूपमा लिने गरे पनि यसले निम्त्याएको समस्याले युवतीहरू नै मारमा परेका छन्।

प्रकाशित: २० फाल्गुन २०७४ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App