८ वैशाख २०८१ शनिबार
खेल

रूस विश्कपमा भिएआरको स्वीकृति

ज्युरिच – फुटबलसम्बन्धी कानुन निर्माताहरूले शनिबार सन् २०१८ को रूस विश्वकपमा भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोग गर्ने प्रस्ताव पारित गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) को ज्युरिचमा बसेको बैठकले भिएआर प्रविधिको प्रयोगका लागि स्वीकृति दिएको हो । यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित उच्च अधिकारीहरूले आगामी विश्वकपमा भिएआर प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै आएका थिए।

‘हामी विश्व फुटबलमा भिएआर प्रविधिको प्रयोग सुखद हुने निस्कर्षमा पुगेका छौं,’ आइएफइबीको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिँदै इन्फान्टिनोले भने । इन्फिान्टिनोले यसै महिनाको अन्त्यमा कोलम्बोमा बस्ने फिफा काउन्सिलको बैठकले यो निर्णयलाई अनुमोदन गर्ने बताए । ‘फिफा बैठकले यो प्रस्ताव अनुमोदन गर्नेमा हामी आशावादी छौं,’ इन्फान्टिनोले थपे।

‘भिएआरको  प्रयोगसँगै विश्व फुटबल नयाँ युगमा प्रवेश गर्नेछ,’ आइएफएबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसको प्रयोगले रेफ्रीलाई कुनै निर्णयमा दुबिधा भएका निष्पक्ष निर्णय दिन सहयोग हुनेछ ।’ यसै सिजनबाट बुन्डेसलिगा, इटालियन सिरी ‘ए’, इङ्लिस लिग कप, एफए कपजस्ता प्रतियोगिताहरूमा भिएआर प्रविधिको प्रयोग सुरु भइसकेको छ।

यसअघि भिएआर प्रविधि जडान महँगो भएको भन्दै आलोचना गर्दै आएको स्पेनिस ला लिगाले पनि आगामी सिजनबाट भिएआरको प्रयोग गर्ने भन्दै शुक्रबारबाट अधिकारीहरूलाई यससम्बन्धी अभ्यास दिन सुरु गरेको छ । तर केही फुटबल समीक्षकले भिएआर प्रविधिले खेलाडी, प्रशिक्षक र समर्थकलाई अन्योलमा पारेको र यसले खेलको गति नै परिवर्तन गरेको भन्दै यसको विरोध गर्दै आएका छन्।

यसै साता एक अन्तर्वार्तामा युएएफएका अध्यक्ष एलेक्जान्डर सिफेरिनले अन्योल बढेको भन्दै आगामी सिजन च्याम्पियन्स लिगमा पनि भिएआर प्रविधिको सुरुआत नगरिने बताएका थिए । यसै साता सोचीमा बसेको विश्वकपमा छनोट भइसकेका ३२ राष्ट्रका प्रतिनिधिले रूस विश्वकपमा भिएआर प्रविधिको प्रयोग गरिएमा आफूहरूलाई कुनै आपत्ति नहुने बताएका थिए।

‘विश्व फुटबलमा यो नयाँ जीवन हो’, इरानका प्रशिक्षक कार्लोस क्वेरोजले भने, ‘आशा छ यो प्रयोग सुखद बन्नेछ।’
 

प्रकाशित: २० फाल्गुन २०७४ ०४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App