८ वैशाख २०८१ शनिबार
समाज

चिसापानी–बंशिलाघाट सडक बनेपछि सहज

खोटाङ– जिल्लाको दक्षिणी क्षेत्र र तराई जोड्ने सडक निर्माण गरिएको छ । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारबाट बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीस्थित बंशिलाघाट जोड्ने २५ किलोमिटर सडक निर्माण गरिएको हो । मौवाबोटे, पौवासेरा र दिप्लुङका स्थानीयले २०६८ सालमा निर्माण सुरु गरेको सडक बनाउन सरकारले ५ करोड बजेट दिएको थियो । सोही बजेटबाट सडक निर्माण पूरा गरिएको स्थानीय यातायात व्यवसायी निश्चल खड्काले बताए। 

बंशिलाघाटतर्फबाट ३० लाखको लागतमा ३ किलोमिटर ट्र्याक खोलिए पनि बजेट अभावमा अलपत्र परेको सडकलाई तत्कालीन सांसदले एउटा सडक वा पुल निर्माण योजना रोज्न पाउने प्रावधान अनुशार विशाल भट्टराईले चिसापानी–बंशिलाघाट सडक निर्माण योजना रोजेका थिए । उनैको पहलमा ५ करोड बजेट परेको हो । नुनदेखि सुनसम्मका सामान खरिद बिक्रीका लागि पैदल हिँड्नुपर्ने रुटमा चिसापानी–दिप्लुङ–मौवाबोटे हुँदै बंशिलाघाट जोड्ने सडक बनेको हो । जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिका भित्रिने र बाहिरिने एक मात्र नाकाकारुपमा रहेको बंशिलाघाटसम्म यात्रु तथा मालबाहक गाडी पुग्न थालेपछि स्थानीय हर्षित भएका छन् । ‘सडकले यस क्षेत्रको जनजीवनमा ठूलो राहत मिलेको छ,’ खड्काले भने, ‘खोटाङ र उदयपुरबाहेक भोजपुरबासी समेत यो सडकबाट लाभान्वित भएका छन्।’ 

दक्षिणी क्षेत्रका सर्वसाधारण बंशिलाघाटबाट डुंगा तरेर उदयपुरको बेलटार हुँदै पुर्वी तराई जानेआउने गरेका थिए । दुई खण्डमा विभाजन गरेर निर्माण गरिएको सडक प्रतिनिधिसभा सदस्य भट्टराईले मंगलबार उदघाटन गरेका हुन् । ५ करोडमा बनेको सडकलाई यसपल्ट बराहपोखरी गाउँपालिकाले छुट्याएको २० लाखले मर्मत गरेर सञ्चालनमा ल्याइएको बराहपोखरी गाउँपालिका उपप्रमुख गोमा मगरले बताइन् । सो सडक खण्डको चापखोरा–च्यांखुवा खण्डको काम सन्तोषजनक देखिए पनि च्यांखुवा–बंशिलाघाट खण्डको काम गुणस्तरहीन भएको स्थानीयको गुनासो छ । चिसापानी–बंशिलाघाट सडक कालोपेत्रका लागि सर्भे एवं डिपिआरका काम सुरु भइसकेको छ। 

उदयपुरतर्फ पनि सडक बनिसकेको अवस्थामा बंशिलाघाटमा पक्की पुल निर्माण भए विकासमा कायपलट हुने स्थानीय बताउँछन् । सो स्थानमा पक्की पुल निर्माणका लागि पहल भइरहेको भट्टराईले बताए । ‘सुनकोसीको दुबै किनारसम्म सडक बनिसकेको छ,’ भट्टराईले भने, ‘अब पुल बन्नेबित्तिकै यातायात सेवा थप सहज हुनेछ ।’ बंशिलाघाटमा निर्माणाधीन झोलुंगे पुल म्याद गुज्रिँदासमेत पूरा हुनसकेको छैन । १५ महिनामा पूरा गर्नेगरी निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले ठेक्का लिएको झोलुंगे पुल २०७२ साल असार ८ गते शिलान्यास गरिएको थियो। 

बंशिलाघाट पौवासेरा, देवीस्थान, मौवाबोटे, चिसापानी, दिप्लुङ, डम्बर्खुशिवालय, काहुलेलगायतका स्थानीयको गाउँ–सहर आउजाउ गर्ने मुख्य बाटो हो । घाटबाट दैनिक स्थानीयको बाक्लो ओहोर–दोहोर भइरहन्छ । जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा उत्पादित सुन्तला, अलैंची, अम्लिसो, तेजपातलगायत उपज पनि सोही डुंगामार्फत बाहिरिने गरेको स्थानीय दीपक राईले बताए। 

ग्रामीण सडक निर्माण सुरु 
यसैबीच जिल्लाको जन्तेढुंगा गाउँपालिकामा ग्रामीण सडक निर्माण सुरु गरिएको छ। गाउँमा उत्पादित कृषिजन्य पस्तुलाई सहजरुपमा निर्यातको वातावरण बनाउन गाउँपालिकाले चिसापानी–घोर्ले–कात्तिके सडक निर्माण सुरु गरेको हो। 

जन्तेढुंगा गाउँपालिकाको २० लाख, सोही गाविस  वडा नम्बर ४ को ५ लाख,  वडा नम्बर ५ को ३ लाख र उपभोक्ताको साँढे ६ लाख रुपैयाँ लागतमा सडक निर्माण सुरु गरिएको हो। चैत १५ गतेसम्ममा पूरा गर्नेगरी ५ किलोमिटर सडक निर्माण सुरु गरिएको सडक निर्माण उपभोक्ता समिति अध्यक्ष याम राईले बताए। 

हालसम्म साढे एक किलोमिटर सडक निर्माण भइसकेको उपभोक्ता समितिले जनाएको छ। सडकका कारण घोर्लेमा उत्पादन हुने सुन्तला, तरकारी, फलफूललगायत कृषिजन्य सामग्री बाहिर लैजान सहज हुने राईले बताए। 

यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित धार्मिक तथा पर्यटकीयस्थल छोङखाचण्डीथान सडक निर्माण गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल छोङखाचण्डीथानमा पर्यटन प्रवद्र्धनका लागि भञ्ज्याङखर्क–छोङखाचण्डीथान सडक निर्माण गरिएको हो । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय को २५ लाख रुपैयाँ र स्थानीयको श्रमदानबाट साढे ५ किलोमिटर सडक निर्माण गरिएको वडाध्यक्ष बिदुरमान राईले बताए। 

प्रकाशित: २० फाल्गुन २०७४ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App