८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेशमा नजान कर्मचारीका यस्ता नाटक

काठमाडाैँ – प्रदेशमा खटाइएका कर्मचारी मध्ये २सय ९६ कर्मचारीले सरुवाको चिठी बुझेर पनि  प्रदेशमा जान अटेर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारसम्म २ सय ९६ कर्मचारी  सरकारले खटाएको ठाउँमा हाजिरी गर्न गएका छैनन्। 

मन्त्रालयका अनुसार शुक्रबार साँझसम्म सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा १ हजार १४ कर्मचारी खटाएको छ । यीमध्ये ६ सय १३ कर्मचारीले शुक्रबारसम्म खटाइएको ठाउँमा पुगी हाजिर गरिसकेका छन् । मन्त्रालयले  सातवटा प्रदेशमा २८ जना नयाँ कर्मचारी खटाएको छ । तीमध्ये नयाँ र पुराना गरी ७७ कर्मचारीले भने अझै  चिठी नपाएको समान्यले जानकारी गराएको छ। 

बिरामी भएको भनी  डाक्टरको पे्रसक्रिप्सनसहित विवरण बुझाउनेमध्ये केही कर्मचारी साँच्चै बिरामी पनि भएका छन् तर अधिकांशले प्रदेशमा नजान नाटक गरेका हुन्। 

मन्त्रालय स्रोतका अनुसार चिठी पाएर पनि  हाजिरी गर्न नजाने कर्मचारीमध्ये झन्डै एक चौथाइ कर्मचारीले बिरामी भएको नाटक गर्दै मन्त्रालयमा  चिठी बुझाएका छन् । बिरामी भएको नाटक गर्ने कर्मचारीले डाक्टरको पे्रसक्रिसनसमेत बुझाएको स्रोतको भनाइ छ । मन्त्रालयका एक उपसचिव भन्छन्, ‘बिरामी भएको भनी  डाक्टरको पे्रसक्रिप्सनसहित विवरण बुझाउनेमध्ये केही कर्मचारी साँच्चै बिरामी पनि भएका छन् तर अधिकांशले प्रदेशमा नजान नाटक गरेका हुन्।’ 

बिरामी भएको देखाउन डाक्टरको पे्रसक्रिप्सनसहित मन्त्रालयमा जानकारी गराएमा  ती कर्मचारीलाई प्रदेशमा जान केही दिन छुट हुने व्यवस्था छ ।  प्रदेशमा जान अटेर गर्ने कर्मचारीमध्ये केही कर्मचारीले सरुवा रोक्न विभिन्न तहबाट  दबाब दिने गरेको मन्त्रालय स्रोतको भनाइ छ। 
 
मन्त्रालयका अनुसार चिठी पाएर पनि नजाने कर्मचारीमध्ये प्रदेश १ मा ४१, प्रदेश २ मा ३९, प्रदेश ३ मा ३६, प्रदेश ४ मा ४३, प्रदेश ५ मा ५३, प्रदेश ६ मा ४६ र प्रदेश ७ मा ३८ कर्मचारी रहेका छन् । यसबाट हाजिर गर्न अटेर गर्ने कर्मचारीमध्ये  बुटवलमा खटाइएका कर्मचारी सबै भन्दा बढी छन् । शुक्रबारसम्म  प्रदेश १ मा सबैभन्दा बढी कर्मचारीले हाजिर गरेका छन् । सोअनुसार प्रदेश १ मा १ सय २, प्रदेश २ मा ७४, प्रदेश ३ मा ९२, प्रदेश ४ मा ९८, प्रदेश ५ मा ८१, प्रदेश ६ मा ८१ र प्रदेश ७ मा ८५ जना कर्मचारीले हाजिर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयले  एउटा प्रदेशमा २ सय १५ जना कर्मचारीको दरले सात वटा प्रदेशमा १ हजार पाँच सय पाँच जना  कर्मचारी खटाउने योजना बनाएको समान्य प्रशासन मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी सुप्रभा खनालले बताइन्। उनले भनिन्, ‘चिठी पाएर पनि हाजिर गर्न नगएका कर्मचारीलाई खटाएको ठाउँमा तत्काल हाजिर गर्न मन्त्रालयले ताकेता गरिरहेको छ ।’ मन्त्रालयका अनुसार शुक्रबारसम्म खटाइएका कर्मचारीमध्ये हाजिर गर्ने कर्मचारीकोे प्रतिशत ६० दशमलव ५ पुगेको छ।
 
यसअनुसार प्रदेश १ मा ६५ दशमलव ८, प्रदेश २ मा ५५ दशमलव २, प्रदेश ३ मा ६८ दशमलव ७, प्रदेश ४ मा ६१ दशमलव ६, प्रदेश ५ मा ५६ दशमलव ३, प्रदेश ६ मा ५३ दशमलव ६ र प्रदेश ७ मा ६२ प्रतिशत कर्मचारीले खटाएको ठाउँमा हाजिर गरेका छन् । शुक्रबारसम्म सरकारले  प्रदेश १ मा १ सय ५५, प्रदेश २ मा १ सय ३४, प्रदेश ३ मा १ सय ३४, प्रदेश ४ मा १ सय ५९, प्रदेश ५ मा १ सय ४४, प्रदेश ६ मा १ सय ५१ र प्रदेश ७ मा १ सय ३७ कर्मचारी खटाएको छ। 

समान्य प्रशासन मन्त्रालयले  सात वटा प्रदेशमा प्रदेशसभा सचिवालय, प्रदेश प्रमुखको कार्यालय,  प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र ६ वटा   प्रदेश मन्त्रालयमा कर्मचारी खटाएको छ । सरकारले प्रदेश प्रमुखको मनोयन गर्नबित्तिकै समान्यले सातवटै प्रदेशमा कर्मचारी खटाउन सुरु गरेको थियो।

प्रकाशित: २० फाल्गुन २०७४ ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App