७ वैशाख २०८१ शुक्रबार
राजनीति

संघीय संसद्काे शपथ आज

काठमाडौं – संघीय संसद्का सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली र संसद् सदस्यबाट निर्वाचित भई मन्त्री भएकाहरुले पनि संसद् सदस्यका हैसियतले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले उनीहरूलाई शपथ ग्रहण गराउनेछन् । प्रतिनिधिसभाका सांसदलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महेन्द्रराय यादवले शपथ ग्रहण गराउनेछन् भने राष्ट्रिय सभाका सदस्यलाई राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ ग्रहण गराउनेछिन् । शपथ ग्रहणका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तयारी गरिएको छ । दुवै सदनका आआफ्ना बैठक हलमा शपथको कार्यक्रम हुनेछ।

प्रतिनिधिसभातर्फ ३८ जना  र  राष्ट्रियसभातर्फ ६ जना सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी संसद् सचिवालयमा गराएका छन् ।  शपथका लागि निवेदन आएका मातृभाषामा मैथली, भोजपुरी, थारु, तामाङ, नेवारी, मगर, अबधि, बज्जिका, हिन्दी र उर्दु छन्। 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य यादवले भने राष्ट्रपतिसमक्ष बज्जिका भाषामा शपथ ग्रहण गर्नेछन् । यस्तै राष्ट्रियसभाका ज्येष्ठ सदस्य भट्टले राष्ट्रपतिसमक्ष नेपाली भाषामा शपथ लिनेछिन् । दुवै सदनका ज्येष्ठ सदस्यले आइतबार दिउँसो १ बजे राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम छ। 

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउँदा सरकारी कामकाजको भाषा नेपालीबाट वाचन गर्नुपर्नेछ ।   नेपाली बाहेक १० मातृभाषामा शपथ ग्रहण गर्ने गरी निवेदन दर्ता भएकाले ज्येष्ठ सदस्यबाट नेपालीमा वाचन गरे पनि मातृभाषामा शपथ ग्रहण गर्न निवेदन दिएका सदस्यहरुले त्यसलाई आफ्नो मातृभाषामा रुपान्तरण गरेर वाचन गर्नेछन्। 

संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्यका लागि अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यका लागि बेलुकी ५ बजेको समय निर्धारण गरेको छ। 

संविधानको धारा ८८ मा संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।  प्रतिनिधिसमाको निर्वाचन गत मंसिर १० र २१ गते भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो। 

प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य छन् । प्रतिनिधिसभा निर्वाचित सांसदमध्ये राजपाका कैलाली १ बाट निर्वाचित रेशमलाल चौधरीविरुद्धमा फौजदारी मुद्दा दर्ता भएका कारण उनलाई शपथ ग्रहणमा सहभागी नगराउने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाका ५९ जना सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका तीनजना सदस्य डा.युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेलको शपथ पनि रोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मानोनीत भएलगत्तै सर्वोच्चले उनीहरुलाई शपथ नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसका आधारमा संसद् सचिवालयले उनीहरूको शपथ नगराउने भएको हो । बाँकी सबैले सदस्यले शपथ ग्रहणमा भाग लिने जानकारी प्राप्त भएको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: २० फाल्गुन २०७४ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App