coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुस्तकालय प्रयोगले बिद्यार्थीमा पढ्ने सिपको विकास

पुस्तकालयमा बसेर पढ्दै बाँके, बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेरा प्राविका बिद्यार्थी। तस्बिर/नागरिक

नेपालगन्ज – बाँकेको बैजनाथ गाउँपालिका–२ कलरामपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको कक्षा ४ मा पढ्ने छात्रा नम्रता राना हरेक बुधबार पुस्तकालय कोठामा अनिवार्य रुपले पुग्छिन्।

यस शैक्षिक शत्रको जेठ महिनादेखि हालसम्म ५३ वटा पुस्तक घरमै लगेर उनले पढिसकेकी छन्। ‘हप्तामा एक घण्टासम्म स्कुलको पुस्तकालयमा बसेरै किताब पढ्छु, अरुभन्दा पुस्तकालयमा रहेका किताब पढ्दा रमाईलो लाग्छ,’ उनले नागरिकसँग भनिन्। पुस्तकालयमा बिद्यार्थीको स्तर सिकाई क्षमता अनुसार विभिन्न ६ किसिमको पुस्तक राख्ने गरिएको छ।

बिद्यार्थीमा पढ्ने सिप र बानीको विकास गर्न बिद्यालयले २०७१ सालमा व्यवस्थित खालको पुस्तकालय स्थापना गरेको हो। बाल कक्षादेखी ५ सम्म पढाई हुँने उक्त बिद्यालयमा १ देखी ५ सम्मका बिद्यार्थीका लागि अनिवार्य रुपमा पुस्तकालय ब्यवस्था गरिएको छ। बिद्यालयका प्रधानाध्यापक रामबहादुर रानाक्षेत्री पुस्तकालय स्थापना भएपछि बिद्यार्थीमा पढ्ने सिप र वानीको विकास ह्वात्तै बढेको दाबी गर्छन््। ‘पालैपालो हप्तामा एक घण्टी पुस्तकालयमा लैजान्छौं, बिद्यार्थीहरु सजिलैसँग खरर किताबमा भएको कुरा पढ्न सक्ने भएका छन्,,’ उनले भने ‘बिद्यार्थीलाई पढ्न मन लागेको पुस्तक घरमै लगेर पनि पढ्छन्, कसले कति किताब लगेर पढ्यो, त्यसको रेकर्ड राखिन्छ।’

पुस्तकालय व्यवस्थापन र बिद्यार्थीलाई पुस्तकालयप्रति आकर्षित गर्न तालिम दिएर शिक्षकलाई समेत दक्ष गराइएको उनले बताए। बिद्यार्थीको स्तर अनुसार हरियो, रातो, सुन्तला लगायत ६ किसिमको पुस्तक उपलब्ध गराईन्छ। पुस्तकालय व्यवस्थापनको नियम अनुसार सबैभन्दा सजिलो पुस्तक हरियो र सबैभन्दा जटिल पहेंलो रङको मानिन्छ। ‘जुनसुकै कक्षाको बिद्यार्थीलाई सुरुमा हरियो रङको पुस्तक पढ्न लगाउँछौं, त्यसपछि क्रमशः हुँदै अन्तिममा पहेंलो रङको पुस्तक पढ्न बानी पार्छौ,’ प्रधानाध्यापक रानाक्षेत्रीले भने।

व्यवस्थित पुस्तकालय स्थापना भएपछि बिद्यालयमा बिद्यार्थीको पढाई स्तरमाथी उठेको छ। हप्तामा एक दिन एउटा घण्टी पुस्तकालयमा बिताउने र घरमै लगेर पुस्तक पढ्ने बानी परेका अधिकांस बिद्यार्थीहरु ढुक्कसँग पुस्तक पढ्न सक्छन्। पुस्तकमा समावेश भएका विभिन्न खालका कथाको माध्यमबाट बिद्यार्थीमा पढ्ने अभिरुची जगाउने गरेको छ। बिद्यार्थीले पुस्तकालयको मद्धतले सहज रुपमा पुस्तक पढ्न सक्ने भएपछि शिक्षकलाई पनि पढाउन सहज हुने गरेको छ।

पुस्तकालयमा शिक्षकहरुले बिद्यार्थीलाई सस्वर, सँगसँगै, जोडी पढाई र स्वतन्त्र पढाईको विधि प्रयोग गरेर पढाउने गर्छन्। यसले गर्दा व्यवस्थित पुस्तकालय स्थापना गरेका अधिकांस बिद्यालयमा शैक्षिक गुणस्तरमा पनि सुधार आएको पाइएको छ। पुस्तकमा विभिन्न खालका कथा समावेश भएका कारण बिद्यार्थीले चाखलाग्दो तरिकाले पुस्तकालयमा बढी समय दिन्छन्। सिंह भवानी आधारभुत बिद्यालयको कक्षा १ का छात्र नैनसिंह थारु पुस्तकालयप्रतिको अभिरुचीकै कारण नियमित रुपमा बिद्यालय जान्छन्। उनले हप्तामा एक दिन पुस्तकालयभित्र बसेर पुस्तक पढ्छन्, यसका साथै मन परेका पुस्तक घरमै लगेर पनि बुवाआमालाई कथा सुनाउँछन्।

चालु शैक्षिक शत्रको बैशाखदेखी हालसम्म उनले पुस्तकालयबाट २५ वटा पुस्तक घरमा लगेर पढेको रेकर्ड देखिन्छ। बैजनाथ गाउँपालिकाकै वडा नम्बर ५ स्थित उक्त बिद्यालयमा २०७१ मा व्यवस्थित पुस्तकालय स्थापना भएपछि नैनसिंह जस्ता थुपै बालबालिकाको पढ्ने क्षमताको विकास भएको शिक्षक सुनिता रावलले बताईन्। ‘बिद्यालयमा जब व्यवस्थित खालको पुस्तकालय स्थापना भयो, त्यसयता बिद्यार्थीमा पढ्ने चासो बढेको छ र हामीलाई पनि पढाउन सजिलो भएको छ,’ उनले भनिन्।

नेराप्रावि कलरामपुर र सिंह भवानी जस्ता ५० वटा जिल्लाका सामुदायिक बिद्यालयमा व्यवस्थित पुस्तकालय सञ्चालन भइरहेको छ। व्यवस्थित पुस्तकालय सञ्चालन गरेका प्रायःजसो बिद्यालयमा शिक्षकलाई क्षमता विकासको तालिम दिइएको छ, भने तालिमप्राप्त शिक्षकले पुस्तकालयमा बिद्यार्थीलाई अभ्यास गराउने गरेका छन्। जसले गर्दा बिद्यार्थीको पढाई स्तर बढेको छ।

ती बिद्यालयमा जिल्ला शिक्षा कार्यालय बाँकेसँगको समन्वयमा ब्याकवार्ड सोसाईटी एजुकेशन(बेस)ले ‘रुम टु रिड’ नामक संस्थाको सहयोगमा पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक लगायतका भौतिक पुर्वाधार तथा शिक्षकलाई आवश्यक तालिम व्यवस्था गरेको छ। शिक्षा क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको बेसका केन्द्रिय सदस्य संगिता चौधरीले सामुदायिक बिद्यालयको शैक्षिक अवस्था सुधार्न पुस्तकालय स्थापना गरिएको बताईन्। ‘जुन बिद्यालयमा व्यवस्थित खालका पुस्तकालय स्थापना गरिएको छ, त्यो बिद्यालयमा बिद्यार्थीको पढाइस्तर धेरै माथि पुगेको छ,’ उनले भनिन्।

एउटा बिद्यालयमा ३ हजार देखी ३५ सय सम्म पुस्तक उपलब्ध गराइएको रुम टु रिडका फिल्ड म्यानेजर हेम लम्सालले बताए। अन्य पूर्वाधार छाडेर पुस्तक मात्र एक देखी डेढ लाख रुपैयाँ सम्मको सहयोग गरिएको उनको भनाई छ। ‘सामुदायिक बिद्यालय जसको अवस्था अलि दयनीय खालको छ, त्यस्ता बिद्यालय छनोट गरेर ब्यवस्थित खालको पुस्तकालय स्थापना गरेका हौं,’ लम्सालले भने ‘पुस्तकालय स्थापना भएका बिद्यालयमा बिद्यार्थीको पढाई स्तर धेरै राम्रो रहेको पाईयो, अब हाम्रो कार्यक्रम नभएपनि बिद्यालयले पुस्तकालयलाई निरन्तरता दिनसकेमा धेरै बिद्यार्थीले फाईदा लिनेछन्।’

बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले सरकारी स्तरबाट व्यवस्थित पुस्तकालय स्थापना गर्न सम्भव नभएपछि संस्थाको भर पर्नु परेको औल्याउँदै पुस्तकालय स्थापना भएका जतिपनि बिद्यालयको शैक्षिक गुणस्तर माथी उठेको बताउँछन्।

‘व्यवस्थित पुस्तकालय सञ्चालन गरेका बिद्यालयबाट सिकेर अन्य बिद्यालयमा पनि स्थापना गर्न स्थानीय सरकारको काँधमा ठूलो जिम्मेवारी आएको छ,’ उनले भने । सहायक जिशिअ थापाका अनुसार जिल्लामा २ सय ५९ सामुदायिक र १ सय ६ वटा मदरसा बिद्यालय सञ्चालनमा छन्। यि मध्ये ५० वटा बिद्यालयमा मात्र तीन वर्षयता व्यवस्थित पुस्तकालय सञ्चालनमा आएका छन्।

सरकारले हरेक सामुदायिक बिद्यालयलाई पुस्तकालयको शीर्षकमा प्राथमिक, आधारभुत र माध्यामिक स्तरका बिद्यार्थीका लागि प्रतिव्यक्ती बजेट दिने गरेको छ। शिक्षा कार्यालय मार्फत सरकारले पुस्तकालय स्थापनाको प्रयास गरेपनि व्यवस्थित हुँन सकेका छैनन्। तर पुस्तकालय स्थापनाका लागि उक्त बजेटको सदुपयोग हुन नसकेको अभिभावकहरु बताउँछन्।

 

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App