७ वैशाख २०८१ शुक्रबार
खेल

न्यु डायमण्ड र एपिएफ फाइनलमा

काठमाडौं – नेपाली महिला भलिबलका चिर प्रतिद्वन्द्वी दुई टोली शिवम न्यु डायमण्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब फेरी एकपटक अर्को एक प्रतियोगिताको फाइनलमा आमने–सामने हुने भएका छन्।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको शनिबार हुने फाइनलमा न्यु डायमण्ड र एपिएफबीचको प्रतिद्वन्द्वीता नवीकरण हुने भएको छ।

शुक्रबार सेमिफाइनलमा न्यु डायमण्डले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि चार सेटसम्म प्रतिस्पर्धा गर्दै २५–२३, २१–२५, २५–१६, २८–२६ को विजयी नतिजा निकालेको थियो । स्टार खेलाडीहरुले भरिपूर्ण न्यु डायमण्डका लागि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा मालीले ३८ स्कोरको योगदान गरिन । उनले स्पाइकबाट ३५, ब्लकबाट २ र सर्भिसबाट १ अंक जोडेकी थिइन।

यसैगरी पछिल्लो समय न्यु डायमण्डको जर्सीमा कोर्ट उत्रिदै आएकी पोखरेली स्टार मञ्जु गुरुङले स्पाइकबाट १७ स्कोर गर्दा पहिलो पटक नयाँ टोलीबाट खेलेकी अर्की पोखरेली खेलाडी अरुणा शाहीले ११ स्कोर गरिन । राष्ट्रिय टोलीका मञ्जु र अरुणाले जारी प्रतियोगितामा पश्चिमाञ्चल सहभागि नभएका कारण न्यु डायमण्डबाट खेलेका हुन्।

पुलिसको टोलीबाट कामना विष्ट र मनिषा चौधरीले समान १८ स्कोरको योगदान गरे । कामनाले स्पाइकबाट १६ र ब्लकबाट २ स्कोर गर्दा मनिषाले स्पाइकबाट १५ तथा ब्लकबाट ३ स्कोर गरेकी थिइन।

विभागीय डर्बीका रुपमा सम्पन्न महिलातर्फको अर्को सेमिफाइनलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–११, २५–१९ को सोझो सेटमा निराश पार्दै उपाधि भिडन्तको टिकट काट्यो । एपिएफको जितमा सरस्वती चौधरीले २० स्कोर गर्दा नेविका चौधरीले १५ स्कोरको योगदान गरिन । सरस्वतीले स्पाइकबाट १६ तथा ब्लक र सर्भिसबाट २÷२ स्कोर गरेकी थिइन । यसैगरी नेविकाले स्पाइकबाट १३ तथा ब्लक र सर्भिसबाट १÷१ स्कोर गरिन।

पुरुषतर्फको फाइनलमा हेल्प नेपाल र आर्मीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारको सेमिफाइनलमा हेल्प नेपालले पुलिसविरुद्धको प्रतिस्पर्धात्मक खेलमा पाँच सेटसम्म संघर्ष गर्दै ३–२ को विजयी नतिजा निकाल्दा आर्मीले एपिएफलाई सोझो सेटमा पाखा लगाएको थियो।

भारतीय खेलाडी ललित कुमारले २४, प्रिन्स मल्लिकले १८ तथा अमृत केसीले १२ स्कोर गरेपछि हेल्प नेपालले २५–२१, १४–२५, २५–२२, २२–२५, १५–१२ को कठिन जित हात पारेको थियो । ललित कुमारले स्पाइकबाट २२  र ब्लकबाट २ स्कोर गरे भने प्रिन्सले स्पाइकबाट ११ र ब्लकबाट ७ तथा अमृतले स्पाइकबाट ११ र ब्लकबाट १ स्कोर गरे।

अर्को सेमिफाइनलमा आर्मीले २५–१८, २५–२१, २७–२५ को सोझो सेटमा हरायो । आर्मीको जितमा मानबहादुर श्रेष्ठले स्पाइकबाट १९  र  ब्लकबाट १ स्कोर गरे । त्यस्तै, भैरव बमले स्पाइकबाट ९ र ब्लकबाट ४ स्कोर गरे।

प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन्  । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधामा सर्बोत्कृष्ट हुने खेलाडीले जनही १५ हजार तथा उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
 

प्रकाशित: १९ फाल्गुन २०७४ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App