८ वैशाख २०८१ शनिबार
अन्य

ग्रामीण पर्यटनको सुवास

मकवानपुरको कुन्छाल गाउँ ।

मुलुककै जेठो राजमार्ग ‘त्रिभुवन राजमार्ग’ मुन्तिर टिष्टुङमा बज्रबाराही मन्दिर नजिकै सडक माथि सबैका आँखा पर्छन । भित्तापट्टि एकनासका घर छन् । ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायले छाना । यो सुन्दर गाउँ हो– कुन्छाल। 
थाहा नगरपालिका– १, मकवानपुरमा अबस्थित कुन्छालमा २५० घर छन् । सबै घर गोपालीका । गोपाली काठमाडौं उपत्यकाका पुराना बासिन्दा । उनीहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन्। 

अघिल्लो साता हामी (साइक्लिष्ट दाईहरु देवेन्द्र बस्न्यात र रञ्जन राजभण्डारी र म) त्यहाँ पुगेका थियौं । एक रात दामनमा बसेर भोलिपल्ट कुन्छाल ओर्लिंदा साथमा थिए नगर प्रमुख लबशेर बिष्ट पनि । हामी मध्यान्हमा गाउँ पुग्दा डबलीमा कुन्छाल होमस्टे व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी, सचिव निरञ्जन, सुनागुठीका नाइके चन्द्रबहादुर, रुपचन्द्र गोपालीसहित एक हुल गाउँले जम्मा भैसकेका थिए । सबैका अनुहारमा उत्साहको दियो धपक्कै बलेको देखियो ।    
उनीहरुकै आँखा सामुन्ने छिमेकी गाउँ चित्लाङले पर्यटनबाट मनग्गे आम्दानी गरिसकेको छ । कुन्छाललाई पनि त्यस्तै पर्यटकीय गन्तव्य बनाएर गाउँको अर्थतन्त्र उकास्ने उनीहरुको योजना छ । भाँती पुर्‍याएर पर्यटन विकास गर्न सके कुन्छाल चाँडै चम्किन सक्छ। 

चित्लाङ गाउँ नजिकैको कुन्छालमा होमस्टे सुविधा शुभारम्भ गरिएको छ । टिपिकल नेवार बस्तीमा आत्मीयता र मिठो परिकार पाइन्छ। 

गाउँको घना बस्ती माथि जंगल छ । पारिपट्टि मिलेका खेतका गरा छन् । एउटै विशाल ढुँगामाथि बसेको बस्ती भएकाले गाउँलाई सितिमिति भुइँचालोले धक्का दिन सक्दैन । गाउँमा चट्याङ समेत नपर्ने नाइके चन्द्रबहादुरले सुनाए। नब्बे साल र अस्ती ७२ सालको भुइँचालोले समेत ठूलो क्षति पुर्‍याएन।  

गाउँमा कलात्मक झ्याल ढोकायुक्त घर छन् । नेवार भाषामा लेखिएका केही  शिलालेख पनि छन् । कुन्छालमा एग्रो टुरिजमको संभावना छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र सिजनेवल तरकारी फलाउँछन् । भैंसी, कुखुरा र बाख्रा पाल्छन् । नाइके चन्द्रबहादुरका अनुसार केही वर्ष अघिसम्म घरघरै तानमा कपडा बुनिन्थ्यो । अचेल ती तान थन्क्याइएको छ। 

गाउँको शिरानमा गणेश मन्दिर छ । कुन्छाल सेरोफेरोमा बज्रबाराही मन्दिर, मनकामना, इन्द्र सरोवर, दामन, चित्लाङ लगायत हेर्न र घुम्न लायक सम्पदाहरु छन् । हिमाल हेर्न मुलाबारी (मनकामना क्षेत्र) हाइकिङ गर्नु पर्छ । त्यहाँ पुग्न गाउँबाट डेढ घन्टा लाग्छ । दामन २२ किमिमा पर्छ भने चित्लाङ ८ किमिमा । माथि सिम भञ्ज्याङमा हिउँ पर्छ । 
गाउँको फेदिमा बज्रबाराही मन्दिर छ । बज्रबाराही शक्ति पिठ । मनोकांक्षा पु¥याइदिने देवीलाई जमिन र जंगलको प्रतिक मानिन्छ । रोग व्याध नलागोस् भनेर मन्दिरमा बध पूजा गरिन्छ । हरेक तीन वर्षमा बुद्ध पूर्णिमाका दिन बज्रबाराहीको रथ यात्रा गरिन्छ भने हरेक १२ वर्षमा बध पूजा। 

बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार बज्रबाराही क्षेत्रका गौखुरेश्वर, उन्मुक्तेश्वर र नन्दीकेशर महादेव मन्दिर धार्मिक पर्यटन गन्तव्य हुन्। 

कुन्छालमा दुई रात सजिलै विताउन सकिन्छ । गाउँका दर्जन घरमा होमस्टे सुविधा छ । पाहुनाको डिमाण्ड अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । त्यसमा हिले नाचका झलक देखाइन्छ । खासमा जनै पूर्णिमाका दिन एक वर्ष कुन्छाल र अर्को बर्ष कुलगाउँमा हिले नाच देखाउने चलन छ । त्यसकै संक्षिप्त रुप पर्यटकलाई देखाइन्छ । नेवार बस्ती भएकाले साथमा लाखे नाच त भइहाल्छ। 

कुनै पनि ठाउँ घुमेर फर्किंदा स्थानिय कोसेली ल्याउने बानी बसाल्नु पर्छ । त्यसो भयो भने गाउँमा उद्यमशिलता विकासमा टेवा पुग्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवि र भुइँ स्याउ कोसेली ल्याउनु बेस हुन्छ।  

यतिबेला गाउँलेहरु जुर्मुराएका छन् । उनीहरुलाई पर्यटनको बाटो देखाउने अगुवा चाहिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा सरकारले विश्व पर्यटन दिवस (सेप्टेम्बर २७)का अबसरमा गएको असोजमा तीन वटा गाउँहरु मकवानपुरको कुन्छाल, स्याङ्जाको पित्लेक र धादिङको सलाङलाई गन्तव्य वर्ष घोषणा गरेको थियो । 
त्यस अघि नै स्थानीयले आ–आफ्ना गाउँलाई पर्यटन केन्द्र बनाउन होमस्टे शुभारम्भ गरिसकेका थिए । ‘‘टिपिकल नेवार बस्ती भएकाले युनिक पर्यटन गाउँ बन्न सक्ने देखेर गाउँलेको हौसला बढाउन हामीले कुन्छाल रोजेका हौं’, भिटोफका सहकोषाध्यक्ष कृष्णबहादुर सुवेदी भन्छन्, ‘गाउँमा पर्यटनको प्रचुर संभावना छ।’     

सरकारले घोषणा त ग¥यो तर, त्यहाँको पर्यटन पूर्वाधार विकासलाई उसले प्राथमिकतामा राखेको देखिँदैन । सत्य के हो भने घोषणा गर्दैमा मात्रै कुनै पनि गाउँ पर्यटन गन्तव्य बन्दैनन् । त्यसका लागि धेरै पापड बेल्नु पर्छ । पूर्वाधार विकास, तालिम र मार्केटिङ जरुरी हुन्छ । गाउँलेको बलबुतामा मात्र यी सबै काम संभव हुँदैन।

सरकार, तारा गाउँ विकास समिति, पर्यटन बोर्ड, भिटोफ, होमस्टे एशोसियसन जस्ता सरोकारवालाले गाउँलेसँग हातेमालो गर्नु पर्छ । उनीहरुको उत्साह बढाउन भाषण होइन कामै गर्नु पर्छ।     

कुन्छालबासीका आँखामा सपना फूलेको छ । पाहुनाको स्वागत गर्ने सपना । उनीहरुको आत्मीय व्यवहार, मिठो खाना र प्राकृतिक एवं साँस्कृतिक सम्पदाले जोकोहीलाई लठ्याउँछ । गाउँका दर्जन घर पाहुना राख्न तम्तयार छन् । तर, उनीहरुसँग मझेरीमा पाहुना कसरी ल्याउने भन्ने आइडिया छैन। 

अब के गर्ने त ? सबैभन्दा पहिला होमस्टेलाई व्यवस्थित गर्न सघाउने । होमस्टे निर्देशिका अनुसार पाहुना कोठा, चर्पी र बाथरुम लगायत सबै कुराको व्यवस्थापन मिलाउने । अनि अतिथि सत्कार, कुकिङ आदिको तालिम दिलाउने । र, मिडिया, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट मार्केटिङ गर्ने । गाउँको युट्युव  भिडियो, ब्रोसर र पोस्टर बनाउने । राजमार्गमा आकर्षक होर्डिङ बोर्ड पनि राख्ने। 

होमस्टे सञ्चालकलाई पर्यटकीय गाउँ घुमाउन सके प्रत्यक्ष हेरेर र बुझेर उनीहरुले धेरै कुरा सिक्न सक्छन् । कुन गाउँ घुमाउने त ? नेपालको पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारी घुमाउन पाए राम्रो हुन्छ । नेपालमै होमस्टे सुविधा सहितको पहिलो पर्यटन गाउँ हो सिरुबारी। 

भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा सिरुबारीलाई २०५४ असोजमा पर्यटन गाउँ घोषणा गरिएको थियो । त्यहाँको होमस्टे प्याकेज आकर्षक छ । कुन्छालबासीलाई थाहा नगरपालिकाले नै सिरुबारी भ्रमणको चाँजोपाँजो मिलाउने हो कि मेयरज्यू ! 

कुन्छालमा पर्यटनको घाम झुल्किसक्यो । त्यसबाट स्थानीयले बढी भन्दा बढी फाइदा लिन सक्नु पर्छ । साँच्चै गाउँलेका आँखा पर्यटक आउने बाटो कुरीबसेका छन् । अब भन्नुस् तपाइँ कहिले जानु हुन्छ कुन्छाल ?  
कसरी पुग्ने ः काठमाडौंको थानकोट गोदामबाट चन्द्रागिरी भञ्ज्याङ हुँदै कुन्छाल ३१ किमि । काठमाडौं फर्पिङ कुलेखानी हुँदै कुन्छाल ५५ किमि । काठमाडौं नौबिसे हुँदै बाइरोडबाट कुन्छाल ६५ किमि। 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App