coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सोचेजति पर्यटक आएनन्

लवशेर बिष्ट
प्रमुख, थाहा नगरपालिका  

थाहा नगरपालिका क्षेत्रका प्रमुख पर्यटकीय गन्तव्यहरु कुन् कुन् हुन् ? नगरपालिकाले पर्यटन विकासका लागि के गर्दैछ ? 
मकवानपुर जिल्लाको साविकका चित्लाङ, बज्रबाराही, दामन, टिष्टुङ, आग्रा र पालुङ गाविस मिलेर थाहा नगरपालिका बनाइएको हो । हाम्रो नगर क्षेत्रका चित्लाङ, सिम भञ्ज्याङ, दामन र बज्रबाराहीमा पर्यटक डुल्छन् । हामी यी ठाउँमा पर्यटक बढाउन प्रयास गरिरहेका छौं । साथै टिष्टुङको कोट दरबार क्षेत्र र आग्राको डाँडाबासलाई पनि आन्तरिक पर्यटन केन्द्र बनाउँदै छौं । टिष्टुङको मुलाबारी क्षेत्रबाट हिम सृङखला देखिन्छ । त्यहाँ सयौं सार्बजनिक जमिन छ । त्यो जमिन पर्यटन विकास गर्न हामी निजि क्षेत्रलाई लिजमा दिन तयार छौं। 

नगरको पर्यटन गुरु योजना बनाउने काम कहाँ पुग्यो ? 
नेपाल पर्यटन बोर्डसँग मिलेर हामी पर्यटन गुरु योजना बनाउँदैछौं । अब हामी गुरु योजना अनुसार बजेट छुट्टयाएर पर्यटन विकासका काम गर्नेछौं । हाल शहरी विकास आयोजनाले थाहा नगरपालिकामा १८ करोड रुपैयाँ खर्च गर्दैछ । १० करोड रुपैयाँ पर्यटन पूर्वाधार विकासमा खर्च हुनेछ भने बाँकी रकम पर्यटन सूचना केन्द्र निर्माणमा । चित्लाङ र सिम भञ्ज्याङमा सूचना केन्द्र बन्ने छन् । हामी बज्रबाराहीमा थाहा संग्रहालय बनाउँदैछौं । त्यहाँ नगर क्षेत्रका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक सम्पदा, जीवनशैली र जैबिक विविधता अध्ययन गर्न सकिनेछ। 

जननेता रुपचन्द्र विष्टको थाहा अभियान अध्ययन केन्द्र बनाउने योजना छैन ? 
निष्पक्ष सक्रियताको अभ्यास थाहा अभियानका नायक रुपचन्द्र विष्टको नाउँमा हामीले थाहा भवन बनाएका छौं । त्यसलाई थाहा अध्ययन केन्द्र बनाउने सोचाई छ । साथै थाहा पार्क बनाउन हामी जमिन खोजीरहेका छौं । निजि क्षेत्रको सहयोग लिएर दुबै योजना पुरा गर्नेछौं। 

दामन क्षेत्रमा पर्यटन नफस्टाउनुको प्रमुख कारण के के हुन् ? 
जबसम्म कुनै पनि गन्तव्यमा सहज पहुँच हुँदैन तबसम्म पर्यटन फस्टाउन सक्दैन । हुन त राजधानीलाई तराईसँग जोड्ने पहिलो राजमार्ग त्रिभुवन राजपथ २०१३ सालमा बनेदेखि नै दामन क्षेत्रको राम्रै प्रचार भएको हो । तर, धेरै घुम्टी पार गरेर आउनु पर्ने भएकाले सोचेजति पर्यटक आएका छैनन् । अहिले चन्द्रागिरि भञ्ज्याङको सडक बिस्तार हुँदैछ । दुई बर्षभित्र त्यो सडक पक्कि भएपछि दामनमा मात्र होइन, हाम्रो पुरै नगरपालिका क्षेत्रमा पर्यटनको राम्रो विकास हुने आशा गरेका छौं। 

हिउँ पर्दा सिम भञ्ज्याङ क्षेत्रका होटलले मनोमानी रुपमा पैसा असुलेको गुनासो सुनिएको थियो नि ?
त्यस्तो गुनासो सुनेपछि अनुगमन गरेर हामीले पर्यटन व्यवसायीसँग छलफल गर्‍यौं ।  उनीहरुलाई चियादेखि कोठासम्मको मूल्य सूचि सबैले देख्ने गरी टाँस्न अनुरोध गरेपछि सबैले त्यसको पालना गरेका छन् । अब कोही कतै ठगिनु पर्ने छैन। 

कुन्छाल होमस्टेका गाउँलेको उत्साह बढाउन तपाइँ के गर्नु हुन्छ ? 
नयाँ होमस्टे गाउँ भएकाले गाउँलेहरुलाई तालिम दिलाउन, भ्रमण गराउन हामी मद्धत गर्नेछौं । नगरपालिकाको आगामी बजेटमा होमस्टे सञ्चालकलाई प्रोत्साहन गर्न बजेट छुट्टयाउने छौं । कुन्छाल जस्ता अरु गाउँहरुमा पनि हामी पर्यटन विकास गर्न पहल गर्नेछौं । 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App