८ वैशाख २०८१ शनिबार
अन्य

गाउँका आइटी सर

उनी अमेरिकाको आइटी कम्पनीमा काम गर्थे, आइटी अफिसरका रूपमा । अमेरिकी कम्पनीको जागिर छाडेर गाउँ फर्किंदा उनलाई कतिले बौलाहा समेत भनेर गिज्याए । तिनै मान्छेहरू आज उनलाई ‘आइटी सर’ भनेर सम्बोधन गर्छन्। 
‘आइटी सर’को रूपमा चिनिएका डोटीका रमेश खड्का जागिरले सन्तुष्टि नदिएपछि गाउँ फर्केका थिए । कम्प्युटर इन्जिनियर उनी अहिले गाउँ बनाउने अभियानमा छन्। 

डोटीको पूर्वीचौकी गाउँपालिकालाई प्रविधिमैत्री बनाउन अहोरात्र खटिरहेका छन्, खड्का । जन्मभूमि डोटीलाई प्रविधिको जिल्ला बनाउने सपना छ, उनीसँग । यो उनको सपना सानैदेखिको हो । अहिले त्यही सपनालाई पछ्याउन पाउँदा खुसी छन् उनी।

‘मैले काम गर्ने कम्पनीले जागिर नछाड्न फकाउँदा पनि मैले मानिनँ,’ उनले भने, ‘अहिले गाउँपालिकाका कर्मचारीलाई तालिम दिएर कम्प्युटर खोल्न र विषयवस्तुको प्रस्तुति गर्न सिकाउन पाएकामा खुसी लाग्छ।’

खड्काको गाउँमा अहिलेसम्म टेलिफोनको तार पुगेको छैन । पूर्वीचौकी गाउँपालिकाका कुनै पनि घरमा ल्यान्डलाइन फोन भेटिँदैन । काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङ सकेका खड्कालाई गाउँमै सेवा गर्न यही कुराले घचघच्याएको हो । उनले आफू मिल्दोजुल्दो जागिर गाउँमै पाएँ । गाउँपालिकाले आइटीका लागि जनशक्ति माग गर्नु नै उनका लागि अवसर बन्यो।

त्यही अवसरको सदुपयोग गरेर कम्प्युटर खोल्न नजानेकालाई खोल्नेदेखि विभिन्न तरिकाले कम्प्युटरमा कार्यक्रम  प्रस्तुत गर्न समेत सिकाइरहेका छन् । यसै कारण आजकाल उनको परिचय फेरिएको छ । गाउँपालिकाका सबैले उनलाई ‘आइटी सर’को उपनाम दिएका छन्। 

देश संघीयतामा गएपछि स्थानीय सरकारलाई सुविधासम्पन्न बनाउने सरकारी योजनाले पनि खड्काको लक्ष्य पूरा गर्न मद्दत गरेको हो । उनले गाउँपालिका प्रमुखदेखि सर्वसाधारणलाई समेत कम्प्युटर कार्यक्रमबारे तालिम दिइरहेका छन् । 
‘कक्षा ९ देखि कम्प्युटर इन्जिनियरसम्मको यात्रा मैले काठमाडौंका निजी विद्यालय र कलेजमा पूरा गरे पनि मेरो मन भने कम्प्युटर इन्जिनियर बनेर जन्मभूमिलाई प्रविधिमैत्री बनाउने थियो,’ २७ वर्षीय खड्काले भने, ‘बल्ल यो सपना पूरा गर्ने अवसर पाउँदै छु, गाउँमा कम्प्युटर नदेख्ने धेरै छन्, अब ती सबैलाई कम्प्युटर चलाउन सक्ने बनाउँछु।’ 

गाउँकै सेवा गर्न उनले अमेरिकन कम्पनी नेसनल टेक्नोलोजी सेन्टरमा कम्प्युटर इन्जिनियरको जागिर छाडेका हुन् । ‘मैले काम गर्ने कम्पनीले जागिर नछाड्न फकाउँदा पनि मैले मानिनँ,’ उनले भने, ‘अहिले गाउँपालिकाका कर्मचारीलाई तालिम दिएर कम्प्युटर खोल्न र विषयवस्तुको प्रस्तुति गर्न सिकाउन पाएकामा खुसी लाग्छ।’ 

उनी गाउँलाई प्रविधिमैत्री बनाउन इन्टरनेट कम्पनीसँग छलफल गरिरहेका छन् । डोटीको साँझघाटमा घर भएका खड्काले गाउँमै आइटी कम्पनी खोलेर यो विषय पढे्कालाई रोजगारी समेत दिलाउने प्रयास गरिरहेका छन् । उनले फागुन मसान्तसम्म गाउँमा इन्टरनेट जोडिने र त्यसपछि थप सक्रियताका साथ काम गर्ने बताए। 

‘काठमाडौंमा इन्जिनिरिङ पढेर गाउँमा काम गर्न फर्कंदा उनलाई सबैले गिज्याए । सहरमा बसेर कम्प्युटर इन्जिनियर बनेको र अमेरिकन कम्पनीमा काम गरिरहेको केटाले किन गाउँमा आएर भविष्य चौपट पारिरहेका छौँ भन्नेहरूको कमी थिएन। ‘कतिले त इन्जिनियरलाई विदेशले पनि भिसा र पिआर तथा काम सहजै दिने भएकाले उतै लाग पनि भने,’ उनी भन्छन्। 

गाउँमै शिक्षक रहेका पिताले भने उनको कदमलाई साथ दिएका छन् । ‘म आफूले आर्जन गरेको ज्ञान र सीप गाउँको विकासमा लगाउने योजना बनाएर आएको हुँ,’ उनले भने, ‘गाउँका युवालाई सूचना तथा प्रविधि अध्ययन गर्न प्रोत्साहन गर्छु ।’ 

प्रकाशित: १९ फाल्गुन २०७४ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App