दर्शन

मृत्युबाेध : जीवन जिउने कला

शनिबार, १९ फागुन २०७४, ०८ : ५९ अरुण पौडेल

‘श्रीदेवी डाइज एट फिफ्टी फो ।’नहेरुँ भन्दाभन्दै खोलिहालिने फेसबुकको टाइमलाइनमा थुप्रै विदेशी समाचारका लिंक सेयर भइसकेका रहेछन् । धेरै भएको थियो, यी बलिउडकी चर्चित अभिनेत्रीका तस्बिर नदेखेको।

बाल्यकालमा मलाई परीजस्तै लाग्ने सुन्दरीका पछिल्लो समयका तस्बिरमा उनी परी देखिन्नथिन् । समयको छाप उनको अनुहारमा देखिइसकेको रहेछ । मेरो मनमा आएको पहिलो भावना थियो, ‘अनिच्च ! अब त त्यही समयको ठप्पा लागिसकेको अनुहार पनि रहेनछ।’

पालीभाषाको अनिच्च शब्दको अर्थ हुन्छ, अनित्य । सबै कुरा परिवर्तनशील छ र अनित्यता नै संसारको नियम हो । यो कुरालाई बुद्धले जीवनभर अनेक तवरले मानिसलाई बुझाए । बौद्ध दर्शनको प्रमुख शिक्षामध्येको एक हो, अनिच्च । यसलाई सही अर्थमा बुझ्न सके दुःखबाट माथि उठ्न सकिनेछ।

यही अनित्यको निरन्तर चिन्तन विगत केही समयदेखि गरिरहन पाइएको छ । नजिकका आफन्त र साथीभाइका आफन्तको मृत्युमा शोक व्यक्त गर्ने र आर्यघाटसम्मै पनि पुग्ने केही अवसर बने विगत केही महिनाभित्र । बिरामीको साथ लागेर अस्पतालको नियमित भ्रमण पनि गरियो र यस क्रममा परिचित-अपरिचितको मृत्यु र यससँग जोडिएर आएका दुःखलाई उनीहरूका आफन्तले व्यक्त गरिरहेको भावनाको नजिकबाट साक्षी बन्न पाइयो ।

जन्म, जरा, रोग र मृत्युजस्ता दुःखदायी घटनाले मनमा एकखालको विस्मय पैदा हुन्छ । सबैले मृत्युलाई जीवनको अन्तिम सत्य भन्छन् । त्यसो भए जीवनको दौड मृत्युका लागि हो ? जिउनुको अन्तिम परिणति मृत्यु हो ? मृत्यु जीवनको अन्त्य हो ? मृत्यु नै सत्य हो भने जिउनु केका लागि ?

बौद्धदर्शनले यसलाई राम्रोसँग प्रस्ट पारेको छ । जाति (जन्म), जरा (वृद्धावस्था) र मरण (मृत्यु) जीवनका चरण मात्र हुन् । मृत्यु जीवनको अन्त्य होइन, बरु निरन्तरता एक घटना हो । यो केवल मिति पुगेर काम नलाग्ने भएको शरीरको विघटन मात्र हो । बाहिर देखिने शरीरबाहेक हाम्रो अस्तित्वका अन्य तह छन्, सबैसँग सम्बन्धित मन छ । मृत्युका बेला पञ्चमहाभूतले बनेको बाहिरी शरीर छुट्छ, हाम्रो अमूर्त अस्तित्वले भने नयाँ शरीरको निर्माण गर्न थाल्छ । परिवर्तनशील चित्तले ‘चोला फेर्छ’, अर्थात् पुनर्जन्म लिन्छ।

चोला फेर्ने चरण सबैभन्दा कठिन छ । पूरा जीवन हामीले शरीरलाई नै आपूm मानेर बिताएका हुन्छौँ । यसप्रतिको आशक्ति संसारको सबैभन्दा ठूलो आशक्तिमध्ये एक हो । गाँठो जति कडासँग कसिएको हुन्छ, त्यसलाई फुकाउन त्यत्तिकै मुस्किल हुन्छ । हाम्रो मन यो शरीरसँग त्यस्तै कडा बन्धनमा बाँधिएको छ । त्यसैले मृत्युका बेला घटित हुने यसलाई फुकाउने प्रक्रिया अत्यन्तै कष्टकर हुन्छ । मृत्युको स्मरण मात्र पनि हाम्रा लागि अप्रिय हुन्छ । एक त हामीले जीवनमा आफ्ना प्रियजन वा अरुको मृत्युप्रत्यक्ष-अप्रत्यक्ष रूपमा देखेका हुन्छौँ । अर्को, हाम्रो आफ्नै मनमा जन्मैजन्मदेखिको मृत्युस्मरण दबिएर रहेको हुन्छ, जसले हामीलाई त्रसित बनाइराख्छ।

त्यसैले त हामी भाग्छौँ मृत्युदेखि । हामी चाहन्छौँ आफ्नो शरीरलाई हरतरहले बचाउन, जुन सम्भव छैन, किनकि यो शरीर नै हाम्रो होइन । यो हाम्रो ‘आफ्नो’ होइन । आफ्नो भइदिएको भए हामीले नचाहँदानचाहँदै जीर्ण र अन्ततः मृत हुने थिएन होला । यो त हाम्रा लागि एक अस्थायी घर हो, एक टेन्टको घर, जो केही समय चल्ला।बौद्धदर्शनले त्यो कुरालाई मात्र महत्वपूर्ण मान्छ, जसले हामीलाई दुःखबाट पार लगाउँछ । एकछिनको होइन, स्थायी प्रकृतिको दुःखको । त्यस्तो दुःख, जुन मनसँग सम्बन्धित छ र जो मृत्युमा पनि मेटिँदैन । किनकि मृत्युमा मानिसको मन मर्दैन।

हाम्रो सनातन परम्परामा भन्ने गरिन्छ, ‘अन्त मति, सो गति ।’ मर्ने बेला मान्छेको मनको मति जस्तो हुन्छ, त्यसले अगाडिको गति त्यस्तै लिन्छ । अर्थात् उसको भविष्यको जन्म र गतिको निर्धारण अन्तिम समयको मनले गर्छ । त्यसैले त्यो बेलाको मनलाई शुद्ध, निर्मल र होसपूर्ण बनाउनु आवश्यक छ । यो त्यति सजिलो छैन । यसका लागि लामो अभ्यास चाहिन्छ । जीवनभर होसपूर्वक ध्यानमा रहने अभ्यासलाई पुष्टि गरेको हुनुपर्छ, अनि मात्र मृत्युका बेला ध्यानको अवस्थामा हुनु अथवा होसपूर्ण अवस्थामा रहन सकिन्छ ।जीवन र मृत्यु दुवैलाई सार्थक बनाउन मृत्युको सत्यलाई स्मरण गरिरहनुपर्छ । यसलाई पुष्ट बनाइराख्नुपर्छ ।

बौद्धपरम्परामा मृत्युमाथि गरिने ध्यान
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेशमान बज्राचार्यका अनुसार मृत्युमाथि वा मृत्युका विषयमा ध्यान गर्नाले जीवनको वास्तविक अनित्यसँग साक्षात्कार हुन्छ । त्यसले स्वाभाविक वा अस्वाभाविक घटनाबाट उत्पन्न हुने दुःखको मात्रा घटाउँछ।

‘यस्तो ध्यानको अभ्यास गर्नाले अनेक स्वाभाविक वा अस्वाभाविक घटनालाई अंग्रेजीमा टेक इट इजी भनेजस्तै सहज रूपमा लिन सकिन्छ,’ बज्राचार्य भन्छन्, ‘घटना घट्नुपूर्व नै घटनाको स्वीकारोक्ति गर्न सक्ने गुणको विकास हुने भएकाले बौद्धदर्शन र ध्यानको अभ्यासले आर्ट अफ लिभिङ एज वेल एज आर्ट अफ डाइङ (जीवन जिउने कलाका साथै मर्ने कला) दुवै सिक्न सकिन्छ।’

बौद्धदर्शनका विभिन्न निकायमा मृत्युमाथि गरिने ध्यानका विशेष परम्परा छन् । बज्राचार्यका अनुसार, बौद्धदर्शनका मुख्य दुई निकाय थेरवाद र महायान एवं महायानअन्तर्गतको बज्रयानमा मृत्युमाथि ध्यान गरिने परम्परा छ । थेरवादमा अभ्यास गरिने अनित्य भावना र अशुभ भावना मृत्युलाई स्वाभाविक रूपमा स्विकार्ने अभ्यास हो । यो भनेको मृत्युका लागि तयार रहनु हो । जसकारण मृत्युदेखि साधक डराउँदैन, सजगता अर्थात् होसका साथ मृत्युवरण गर्न तयार रहन्छ।

महायानअन्तर्गतको माध्यमिक दर्शनअनुसार शून्यताको ध्यानबाट जन्म र मृत्यु सापेक्षिक सत्य मात्रै भएको ज्ञान हुन्छ । यसबाट ध्यान अभ्यासीले जन्म र मृत्युको चक्रभन्दा माथि शून्यतामा लिन भएर मृत्युमाथि जय प्राप्त गर्दछ । महायानअन्तर्गत विज्ञानवाद-योगाचार दर्शनअनुसार गरिने ध्यानको माध्यमबाट मृत्युञ्जय प्रभास्वरचित्तको साक्षात्कार गरेर साधक ओजस्वी भएर बस्छ ।

बज्रयानी परम्पराका अभ्यासी तथा गुरु समेत रहेका प्राध्यापक बज्राचार्यका अनुसार बज्रयानअन्तर्गत थुप्रै योगहरू छन्, जसमध्ये उत्क्रान्ति योगदर्शन र अभ्यासबाट मृत्यु लक्षण प्राप्त भएको अवस्थामा चित्तलाई होसपूर्वक देहत्याग गर्न लगाई साधक पुनर्जन्म वा सुखावतीका लागि उन्मुख हुन्छ । यस्तो सूक्ष्मयोगको माध्यमबाट ब्रह्माण्डमा व्याप्त हुने वा लीन हुने अभ्यासको पनि परम्परा छ ।‘मृत्यु अवश्यंभावी हो र हामीजस्ता सामान्य मान्छेका लागि पुनर्जन्म पनि अवश्यंभावी हो । जसरी सफल जीवनका लागि कला चाहिन्छ, त्यसैगरी सरल मृत्युका लागि पनि कला चाहिन्छ । बौद्ध दर्शन, ध्यान, योग अभ्यासले उपरोक्त दुवै कला सिकाउँछ,’ बज्राचार्य भन्छन्।

हो, मृत्यु अवश्यंभावी छ, र यो कहिले घटित हुन्छ, हामीलाई थाहा छैन । यसको निरन्तरको स्मरणले हामीलाई बचाउँछ । मृत्युबाट होइन, ती कुराबाट जसको हाम्रो जीवनमा कुनै खास महत्व छैन । सामान्य कुराहरू, जसले हामीलाई उल्झाइराख्छन् । केही उदाहरण लिउँ, बाटोमा हिँड्दा कसैसँग कुम ठोक्कियो, उसले घुरेर हेर्‍यो, उनले पनि घुरेर हेरियो । भएको केही होइन, तर दुवैको मन अशान्त हुन्छ । उस्तै प¥यो भने भोलिसम्म रिसले नछोड्न सक्छ।

अफिसमा कामको सिलसिलामा कसैले तपाईंलाई च्वास्स केही भन्यो, तपाईंलाई दुई दिनलाई काम पुग्यो । ‘त्यसले मसँग ठूलो कुरा गर्ने ? हिम्मत कसरी भयो त्यसको ?’ त्यस्तै केही ठूला घटना लिउँ, आफ्नो अत्यन्तै प्रिय व्यक्तिको मृत्यु भयो । व्यापारमा ठूलै घाटा लागेर उठिबास लाग्यो । पहिरोले घरखेत सबै लग्यो।

सामान्य अवस्थामा मानसिक विक्षिप्तता निम्त्याउन काफी हुन्छन्, यस्ता घटना । तर, ध्यान अभ्यासीलाई यस्ता साना कुराले विचलित बनाउन सक्दैन । किनकि उसलाई जीवनको अनित्य, परिवर्तनशीलता र क्षणभंगुरताको ज्ञान हुन्छ । यस्ता कुरामा ऊ अल्झेर बस्दैन । उसको दृष्टि फराकिलो बन्छ । आफ्नो र अरुको सर्वोपरी र दीर्घकालीन हितमा मात्र उसको मन टिकेको हुन्छ।

जातक कथामा बुद्धको पूर्वजन्मको प्रसंग आउँछ । बुद्ध कुनै एक जन्ममा बोधिसत्वको रूपमा एक सामान्य किसान भई जन्मेका थिए । उनलाई अरु धेरै कुरा आउँदैनथ्यो, मरणसति अर्थात् मृत्युमाथिको स्मृति ध्यानचाहिँ गर्थे । उनी आपूm मात्र होइन, परिवारका सबै सदस्य उक्त ध्यानको अभ्यास गर्थे । एक दिन खेतमा काम गर्दैगर्दा छोरालाई सर्पले टोक्यो र उसको तत्काल त्यहीँ मृत्यु भयो । खेत घरबाट टाढा थियो, किसानले छोराको शरीरलाई बोकेर एउटा रूखमुनि लगेर राखे, आफूसँग भएको कपडाले छोपे र काममा फर्किए । बाटोमा जाँदै गरेको गाउँलेलाई घरमा खबर पठाए, ‘आज एक ठाउँमा मात्र खाना पठाउनु र केही  धुप साथमा पठाउनू।

’ किसानकी श्रीमतीले कुरा बुझिहालिन् र सोहीअनुसार गरिन् । साँझमा परिवार सबै भेला भएर छोराको मृत शरीरलाई जलाए । केही कतै रुवावासी छैन, सबै ध्यानमग्न बसेका छन् र परिवर्तनशील जीवनबारे चिन्तन गरिरहेका छन् ।त्यसबेलाको देवलोक प्रमुख साक राजाले त्यो सब देखेर छक्क पर्दै किसानलाई सोधे, ‘तिमीलाई दुःख लागेन ?’ किसानले उत्तर दिन्छन्, ‘समय आएपछि सबैले हामीलाई छाडेर हिँड्छन्, हामीले जति शोक गरे पनि ती रोकिँदैनन्।’

मृत्यु कुनै पनि बेला घटित हुन सक्छ र त्यो बेला हामीलाई होसमा रहने बानी र असल कर्मले मात्र साथ दिन्छ भन्ने ज्ञान भएपछि मानिसमा एक प्रकारको चेतना पैदा हुन्छ, राम्रो काम मात्र गर्ने, होसपूर्वक बाँच्ने र व्यर्थको कुरामा समय बर्बाद नगर्ने । यो चेतना मानिसलाई आध्यात्मिक बाटोमा अगाडि बढाउन आवश्यक हुन्छ । बौद्धदर्शनमा यसलाई ‘संवेग’ भनिएको छ । साधनाका लागि अर्को मनोदशाको पनि आवश्यकता हुन्छ, जसलाई पालीभाषामा ‘नेक्खम्म’ भनिन्छ । यसको अर्थ हुन्छ, संसारको नियमित चक्रबाट विरति वा वैराग्य । ध्यानसाधना र असल ‘कर्म’को आर्जनमा मान्छेलाई प्रेरित गर्न संवेगको महत्व भने अझ बढी छ ।

अन्तहीन तृष्णाबाट मुक्ति
सामान्यतः हामी ती कुरामा अल्झिरहन्छौँ, जसको हाम्रो स्थायी सुखसँग कुनै सम्बन्ध छैन । जेको पछाडि हामी दौडिरहेका हुन्छौँ, त्यो कहिल्यै प्राप्त हुँदैन । किनकि हामी वास्तविक अर्थमा कुनै चिजको पछाडि होइन, हामी आफ्नै मनको अतृप्त हुने प्रवृत्तिको पछाडि दौडिरहेका हुन्छौँ।यसलाई यसरी बुझौँ, एक बालकले साइकल पायो, उसको खुसीको सीमा हुँदैन । केही जवान हुन्छ, त्यही साइकल उसलाई वाहियात लाग्न थाल्छ । उसलाई मोटरसाइकल चाहिन्छ । एक सय ५० सिसीको मोटरसाइकल किन्यो, केही महिनापछि चित्त बुझ्न छाड्छ । कम्तीमा तीन सय सिसीभन्दा कमको त के चढ्नु ? जसोतसो किन्यो, साथीले कार चढेको देख्छ। 

दुःख गरेर पैसा जाडेर एक हजार सिसीको ह्याचब्याक किन्यो, साथीले दुई हजार सिसीको एसयुभीमा सानसँग हिँडेको देख्छ । सारा प्रयत्न गरेर त्यस्तै किन्यो, फेरि चित्त बुझ्दैन । तीन हजार सिसीको मर्सिडिज किन्न पायो भने बल्ल हुन्थ्यो, मनले सोच्न थाल्छ । मनको वासनाको अन्त्य कहिले हुँदैन । त्यसपछि प्राइभेट हेलिकप्टर र प्राइभेट जेटतिर मन जान थाल्छ । त्यसको ‘जुगाड’ गर्दागर्दै जीवन चिप्लिसक्छ।

खासमा मान्छेलाई विलासी गाडी चाहिएको होइन, मनको चाहनाको तृप्ति मात्र चाहिएको हो, जसको कहिल्यै अन्त छैन । एकपछि अर्को सुरु भइहाल्छ । जति खाए पनि नअघाउने, जति हाले पनि नभरिने, जति दिए पनि नपुग्ने अनन्त वासनाको अभिव्यक्ति हो, मान्छेको मन । तर त्यही मनलाई ध्यानको माध्यमबाट निर्मल र वासनामुक्त गर्न सकिन्छ।

निर्मल मन कुनै बाहिरी साधनविनै आफसेआफ आनन्दित रहन्छ ।२५ सय वर्षअघि गौतम बुद्धले एकसरो कपडा लगाएर र भीक्षामा प्राप्त खीर खाएर बोधि वृक्षमुनि जुन मनको शान्ति हासिल गरे, त्यो राजदरबारभित्र कहिल्यै प्राप्त गरेनन् । संसारको दुःखबाट टाढा राख्ने उनका पिताले लाख प्रयास गरे पनि एक दिन उनले रोगी मान्छे देखे, अर्को दिन बूढो । त्यसपछि उनले मृत मानिस देखे, अन्तमा एक सन्न्यासी देखे । मन उद्वेलित भयो । त्यसपछि उनी राजदरबारमा बसिरहन सकेनन्।

ध्यानका क्रममा उनले देखे, मृत्युको दुःख सबैभन्दा ठूलो रहेछ, मान्छेका लागि । किनकि उसलाई संसारप्रति यति धेरै लगाव छ, जसको कुनै गणना छैन । त्यो लगावलाई व्यवहारमा उतार्ने माध्यम हो शरीर, जसलाई एकदिन छोड्नैपर्छ । संसार र शरीर दुवै अनित्य छन्, आफ्नो वशमा छैनन्, उनी नचाहँदानचाहँदै पनि उम्किहाल्छन् । तर, मान्छेको सम्पूर्ण प्रयत्न वशमा नभएको र हातमा नआउने कुरा समात्न खोज्नेतर्फ हुन्छ।

यो बानीबाट मुक्ति दिन मान्छेलाई उसको आफ्नै बारेमा सत्य बताउनु आवश्यक छ । तर, मनको बिर्सिने बानी हुन्छ, त्यसैले यसलाई बारम्बार स्मरणमा ल्याइराख्नुपर्छ । एकचोटि होइन, पटकपटक उसलाई घोचिरहनुपर्छ ।प्राध्यापक बज्राचार्यका अनुसार हरेक बहानामा मान्छे सत्य र कर्तव्यबाट टाढा भाग्छन् । सत्यलाई बारम्बार दोहोर्‍याउनु वा स्मरण गर्नु भनेको एक प्रकारको मानसिक घर्षण हो, जसबाट ऊर्जा उत्पादन हुन्छ । त्यही ऊर्जाले जीवन र जगत्को वास्तविकता बिर्सन दिन्न ।
मृत्यु बुद्धत्वको क्षण हुन सक्छ
केही समयअघि काडमाडौंको तेर्गार ओसाल लिङ गुम्बामा तिब्बती बौद्ध परम्पराअनुसार ‘डेथ, डाइङ एन्ड फोवा’ ध्यानको चारदिने शिविरमा बस्ने अवसर मिलेको थियो । शिविरको शीर्षकमा ‘डेथ’ र ‘डाइङ’ शब्द राखिएप नि खासमा त्यो जीवनलाई सार्थक रूपमा जिउने कलाको प्रशिक्षण थियो ।शिविरमा संसारभरबाट आएका आठ सयभन्दा बढी जिज्ञासुलाई सम्बोधन गर्दै योङ्गे मिङ्ग्योर रिम्पोछे भन्दै थिए, ‘मृत्युको ज्ञान भए मात्र हामी स्वस्थ जीवन जिउन सक्छौँ। 

राम्रो उपयोग गर्न सके मृत्युको क्षण परमज्ञान प्राप्त गर्ने सबैभन्दा राम्रो अवसर हुन सक्छ । त्योबेला हाम्रो प्रभास्वर मन (लुमिनस माइन्ड) अत्यन्त प्रखर हुन्छ । हामी सबैभित्र रहेको बुद्धत्वको गुण अथवा सुगतगर्भ अत्यन्त स्पष्ट रूपमा अगाडि आउँछ । हामीले त्यसलाई चिन्न सक्यौँ भने तत्क्षण बुद्धत्व प्राप्त गर्न सक्छौँ ।’उनका अनुसार सुगतगर्भलाई त्यसै चिन्न सकिँदैन । त्यसका लागि तपाईंले अहिलेदेखि अभ्यास गर्नुपर्छ । ध्यानको राम्रो अभ्यास गर्नुभयो भने अहिले तपाईंले आफूभित्रको सुगतगर्भको झल्को पाउन सक्नुहुन्छ । मृत्युका बेला पूर्णरूपमा प्रकट हुने त्यो सुगतगर्भको तुलनामा अहिले ध्यानबाट पाउने अनुभव धेरै सानो हुन्छ।

मृत्युपश्चात्को सुगतगर्भलाई आमाको उपमा दिने हो भने जीवित अवस्थामा ध्यानबाट पाउने अनुभवलाई बच्चा मान्न सकिन्छ । तिब्बती भाषामा भन्ने हो भने बच्चा र आमा सुगतगर्भलाई माइ ओसाल र पुइ ओसाल भनिन्छ । ध्यानका अभ्यासीमा मृत्युका बेला यो बच्चाले आमालाई भेट्छ र राम्रोसँग चिन्छ । त्यहीबेला बुद्धत्व प्राप्त हुन सक्छ।सुगतगर्भलाई चिन्नका लागि लागि हाम्रो मन नियन्त्रणमा हुनुपर्छ । अहंकारका कारण हाम्रो मन स्थिर हुँदैन । अहंकारकै कारण हाम्रो मन जड हुन्छ र नियन्त्रणबाहिर रहन्छ । जब हामी मृत्युबारे चिन्तन गर्दछौँ, यही मन असल कर्मतर्फ मोडिन्छ।

भोलि मर्दै छु भन्ने थाहा भयो भने तपाईं के गर्नुहुन्छ ? तपाईंलाई के गरिनँ भनेर पछुतो हुन्छ ? पक्कै पनि तपाईंले पैसा धेरै कमाइन वा आफ्नो शत्रुसँग बदला लिन पाइन भनेर सोच्नुहुन्न होला । धेरै मानिसले त्यस्तो सोच्दैनन् । गल्ती बोलेकामा वा त्यस्तै अरु खराब काम गरेकामा कसैलाई पछुतो हुन्न होला । तपाईंको मन आफसेआफ राम्रा कुरातिर जान्छ । मनमा करुणा जाग्न थाल्छ र अरुको भलाई सोच्न थालिन्छ।

‘मृत्युका बारेमा नजान्दा मानिसलाई मृत्युको भयले सताउँछ,’ रिम्पोछे भन्छन्, ‘तर जब यसको सत्यको जानकारी हुन्छ, मनबाट भय हराउँदै जान्छ ।’रिम्पोछेका अनुसार ध्यान गर्ने मानिसका लागि त मृत्यु एक अपूर्व अवसर हुन सक्छ। मृत्युको समय ध्यानको उच्चतम् अभ्यासको समय पनि हुन सक्छ । किनकि यो समयमा विचार र भावनाको स्तरमा रहने मन हराइसकेको हुन्छ । विशुद्ध चैतन्यको अवस्था मात्र बाँकी हुन्छ । त्यही क्षण बुद्धत्व प्राप्त गर्ने क्षण हुन सक्छ।

poudel.arun@gmail.com








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad