८ वैशाख २०८१ शनिबार
राजनीति

फोरम र राजपा ‘खटपट’

उपेन्द्र यादव र महन्थ ठाकुर

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको सहयात्रा टुट्ने भएको छ। संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो।
फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन्। दुई नेताबीच पछिल्लो चरणमा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ।

यही कारणले राजपाका नेताहरू फोरमसँग सशंकित हुन थालेका छन् । राजपालाई सरकारमा ल्याउन सत्तारूढ दल एमाले र माओवादी केन्द्रले खासै चासो देखाएका छैनन् । ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग वार्ता गरेका छैनन्। 

राजपाका नेताहरूले फोरमलाई तत्काल सरकारमा नजान फोरमलाई सुझाव दिएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मधेसका मुद्दा छाडेर फोरम सरकारमा जान लागेकोमा मधेसी जनता चिन्तित भएका छन् ।’ संविधान संशोधन गर्ने प्रतिबद्धता विगतमा पनि सरकारले पटकपटक गरेको भन्दै यस्ता प्रतिबद्धताको कुनै अर्थ नहुने उनले बताए । महतोले भने, ‘संविधान संशोधन गर्ने प्रतिबद्धता विगतमा पनि सत्तारुढ पार्टीहरूले गरेकै हुन्। कार्यान्वयन नहुने प्रतिबद्धताको केही अर्थ छैन ।’ संविधान संशोधन गरेरमात्र सरकारमा जान उनले यादवलाई सुझाव दिए। उनले भने, ‘सत्तारुढ दलहरूले साँच्चै संविधान संशोधन गर्न चाहेका हुन् भने संसद्को पहिलो बैठकमा संविधान संशोधन प्रस्ताव ल्याउनुपर्छ।’  

फोरम अध्यक्ष यादवले एमाले र माओवादी केन्द्रसँग भएका वार्ताको बारेमा राजपाका नेतासँग छलफल गरेका छैनन् । 
राजपाकी वरिष्ठ नेता निर्जला राउतले अहिले फोरम सरकारमा जान नहुने बताउँछिन् । उनी भन्छिन्, ‘उपेन्द्र यादवले मधेस आन्दोलन गर्नुभएको थियो । तर उहाँ आज मधेस आन्दोलनका अजेन्डा छाडेर सरकारमा जान खोज्दै हुनुहुन्छ ।’ फोरम सरकारमा गए मधेस आन्दोलनको अजेन्डा सम्बोधन गराउने जिम्मेवारी राजपाको काँधमा आउने उनको भनाइ छ । उनी भन्छिन्, ‘मधेस आन्दोलनलाई छाडेर फोरम सरकारमा गए आन्दोलनका अजेन्डालाई त्यत्तिकै छाड्दैनाैँ । मधेसका मुद्दा सम्बोधन गराउन हामी संघर्ष गर्छाैं उनका अनुसार राजपा संविधान संशोधनपछि मात्र सरकारमा जानेछ । राउत भन्छिन्, ‘फोरमझंै संविधान संशोधनको मुद्दा छाडेर सरकारमा जान्नाैँ । संविधान संशोधनपछि मात्र सरकारमा जान्छौं।’

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि राजपा र फोरमबीच सहकार्य हुँदै आएको छ ।  प्रदेश २ मा सरकार बनाउन र राष्ट्रियसभा निर्वाचन गर्न यी दुई पार्टीको सहकार्य भएको थियो । प्रदेश २ मा फोरम नेतृत्वमा राजपा सरकारमा सहभागी भएको छ । फोरम सरकारमा गए राजपा र फोरमबीचको सहयात्रा टुट्ने  राजपाका नेताहरू बताउँछन् । राजपाका एक नेता भन्छन्, ‘फोरम सरकारमा जानेबित्तिकै फोरमसँगको हाम्रो  सम्बन्ध टुट्छ ।’ 

प्रकाशित: १९ फाल्गुन २०७४ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App