६ वैशाख २०८१ बिहीबार
अन्य

पार्किङ शुल्क ‘खुकुलो’ गर्ने सहमति, आन्दोलन फिर्ता

इलाम-इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथा ठेकेदार व्यवसायीप्रति करको दरमा खुकुलो हुने सहमति भएको हो ।

 सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत यातायात व्यवसायी संघहरूमध्ये पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघ अध्यक्ष गृष्म सुब्बाले गतवर्षभन्दा केही बढी दरमा सवारीको पार्किङ शुल्क निर्धारण गर्न करका ठेकेदार र यातायात व्यवसायीबीच ‘आन्तरिक’ सहमति भएको बताए ।

‘पोहोरभन्दा अलि बढीमात्र पार्किक शुल्क लिने भन्नेबारे ठेकेदारसँग सहमति भएको छ,’ उनले भने, ‘ठेकेदार र व्यवसायी बसेर करको दर निर्धारण गरिने भएकाले यसलाई आन्तरिक भनिएको हो ।’ उनले कुन सवारीलाई कति पार्किङ शुल्क लिने भन्ने यकिन गर्न बाँकी रहेको बताए ।

गत शनिबार व्यवसायी र नगरपालिकाबीच भएको छलफलमा ७ दिनभित्र यसबारे समाधान खोज्ने सहमति भएको थियो । त्यसयता सवारी साधन इलाम बजार प्रवेश खुला गर्ने र ७ दिनसम्म नगरले सवारीलाई पार्किङ शुल्क नलिने सहमतिसमेत भएको थियो ।

बिहीबारको छलफलमा शनिबारयता उठाउन बाँकी पार्किङ शुल्क नगरपालिकाले ठेकेदारलाई मिनाहा गरिदिने सहमति पनि  भएको नगरपालिकाका शाखा अधिकृत रामकुमार साहले बताए । छलफलमा इलाम चोक बजार, तल्लो हाटबजार, बसपार्क, बिपी पार्कछेउतिर पार्किङ गरिएका सवारीबाट पार्किङ शुल्क उठाउने सहमति पनि भएको छ । नगर प्रवेश गरेवापत् मात्रै चाहिँ शुल्क नलिइने सहमति भएको व्यवसायीले बताए ।

नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गरी पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायीले गत बिहीबार र शुक्रबार इलाम बजारमा सवारी प्रवेश गराएनन् । उनीहरूले बिब्ल्याँटेतिरबाट आउने सवारी इलाम बजारभन्दा करिब डेढ किलोमिटरको धोविधारा तथा माइखोलातिरबाट आउनेलाई त्यति नै टाढाको जिरो किलोमिटरसम्म मात्र आउन दिएका थिए ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७३÷०७४ मा लागू हुनेगरी सवारी साधनको पार्किङ शुल्क गतवर्षहरूभन्दा दोब्बर बनाएको भन्दै ट्याक्सी, जिप, बस, ट्र्याक्टर र पिकअप व्यवसायी आन्दोलनमा थिए । गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकामा यो वर्ष ८७ रुपैयाँ ७५ पैसा लिइरहेको थियो ।

बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई गतसाल ८५ रुपैयाँ लिने गरेकामा चालू वर्ष १ सय १३ रुपैयाँ पु¥याइएको थियो । नगरले भारतीय गाडीलाई १ सयबाट बढाएर २ सय २६ रुपैयाँ, लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ ९० पैसा, गाउँ जाने ट्र्याक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ लिइरहेको थियो ।

 

प्रकाशित: २ भाद्र २०७३ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App