coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

अध्यापक संगीतकर्मी

चलचित्र निर्देशक, गीतकार एवं संस्कृतिविद् चेतन कार्कीले गायक, संगीतकार एवं गीतकार गोपाल योञ्जनबारे बारम्बार भनेका छन्, ‘भगवान्ले सबैलाई कला र गला दिएको हुँदैन । कला र गला दिए पनि कलम समाउने क्षमता दिएको हुँदैन । कला, गला र कलम तीनै प्रतिभा भएका व्यक्ति बिरलै हुन्छन्, त्यसमध्ये एक हुन्, गोपाल योञ्जन।’

गोपाल योञ्जनमा जस्तै क्षमता भएका अर्का प्रतिभा हुन्, नारायणगोपाल । नारायणगोपालको गला, कलाबाहेक कलम पनि चल्थ्यो, तर उनले कथा, कविता, निबन्ध, यात्रा संस्मरण, नाटक लेखे पनि गीत चैँ लेखेनन् । नारायणगोपालमा अर्को प्रतिभा थियो, शिक्षणको । तर त्यो शिक्षकको पाटोको चर्चा कमैप्रायः भयो।

डा. गणेश गुरुङ पोखरामा स्कुल पढ्दा आफूलाई गायक नारायणगोपालले पढाएको सम्झना गर्दै भन्छन््, ‘नारायणगोपाल पढाउनमा साह्रै अल्छीलाग्दो भएकाले हामीले उहाँको नाम नै लद्दु सर राखिदिएका थियौँ ।’ डा. गुरुङको भनाइमा त्यतिवेला नारायणगोपाल र उनकी पत्नी पेमाला विवाहपछि पोखरामा बसेका थिए र दुवैले अंग्रेजी नै पढाउने गरेको उनी सम्झन्छन्।

गायक संगीतकार नारायणगोपालले पोखराको अमरसिंह उच्च माविमा कहिलेकाहीँ इतिहास पनि पढाए । काठमाडौंका रैथाने नारायणगोपालले २०२६ मा दार्जिलिङ सिमानाकी पेमाला लादेनसित अन्तर्जातीय विवाह गरेपछि पारिवारिक असहमतिका कारण भागेर पोखरा जानुपरेको थियो । केही वर्ष पोखरामा पढाएर फर्केपछि नारायणगोपालले सांस्कृतिक संस्थानमा तबलावादकका रूपमा जागिर खाए । र, पछि उनी त्यही सांस्कृतिक संस्थानका महाप्रबन्धक भए।

साहित्यकार पारिजात ललितपुरस्थित मदन स्मारक स्कुलमा पढाउँथिन् । सो स्कुलको प्रार्थना गीत पनि उनले लेखेकी थिइन्, जसमा श्री पाण्डे (सरदार रुद्रराज पाण्डेकी छोरी)ले संगीत दिएकी थिइन् । पछि पारिजात सर्लाहीको मलंगवातिर एउटा स्कुलमा शिक्षक भएर गइन्, जुन स्कुलमा केही समय कवि एवं निबन्धकार ईश्वर वल्लभले पनि पढाए । राजनीतिज्ञ रामहरि जोशीले स्थापना गरेको मलंगवाको सो स्कुलमा पढाउने काम गर्दागर्दै ईश्वर वल्लभ दार्जिलिङको शारदा माध्यमिक विद्यालयमा पुगेका थिए । ईश्वर वल्लभले दार्जिलिङमा पढाएका धेरै विद्यार्थी अहिले नेपाली संगीत जगत्का स्वनामधन्य छन् । शरण प्रधान, रञ्जित गजमेर, पिटर जे कार्थक, दिव्य खालिङ त्यसमध्ये केही स्मरणीय नाम हुन्।

पहिले–पहिले दार्जिलिङमा नेपाली र संस्कृत पढाउने शिक्षक नेपालबाट वा बनारसबाट लैजाने चलन थियो । तर, नेपालमा २०२८ सालमा नयाँ शिक्षा लागू भएपछि दार्जिलिङबाट नेपालमा शिक्षक झिकाउने चलन सुरु भएको कुरा बाल विद्यागृहका पूर्वप्रधानाध्यापक अर्जुन गिरी बताउँछन् । गिरी आफ्ना दाजु वसन्त गिरीले ललितपुरको एकान्तकुनास्थित बैकुण्ठ निवासमा स्थापना गरेको अरनिको बोर्डिङ स्कुलमा दार्जिलिङबाट आएका धेरै शिक्षक–शिक्षिकाले पढाएको सम्झना गर्छन् । उनी गर्वका साथ भन्छन्, ‘अरनिको स्कुल त त्यतिवेला संघर्षरत कलाकारका लागि स्टेपिङ स्टोन नै थियो ।’

संगीतकार गोपाल योञ्जन, गायक नवीनकिशोर राई, गायक भक्तराज आचार्य, नृत्यकार देवदत्त ठटाल आदिसित अरनिको स्कुलमै सहकार्य गरेका गिरीका अनुसार कलाकारले पढाएका राजधानीका प्रख्यात स्कुलमा सेन्ट मेरिज, कान्ति ईश्वरी माध्यमिक विद्यालय, भानुभक्त उच्च मावि, आदर्श विद्या मन्दिर आदि पर्छन्।

दार्जिलिङमा गीतकार अगमसिंह गिरी प्रधानाध्यापक रहेको भानुभक्त उच्च माविको नामबाट प्रभावित भएर दार्जिलिङबाटै आएर डिएन प्रधानले स्थापना गरेको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा २० र ३० को दशकमा धेरै लामो समयसम्म कलाकारले संगीत र नृत्यजस्तो अलग्गै विषय नपढाए पनि विषयगत कक्षा पनि लिने गरेको कुरा त्यही स्कुलका पूर्वशिक्षक, गायक एवं संगीतकार शैलेश सिंह बताउँछन् ।भानुभक्त स्कुलमा गायक शैलेश सिंहबाहेक संगीत पढाउनका निम्ति संगीतकार दीपचन्द्र मोक्तान, नारद हार्तम्छाली, सिके रसाइली आदि आबद्ध थिए।

नेपाली संगीत जगत्मा धेरै नाम चलेका कलाकार, गायक–गायिका पढेको भानुभक्त मेमोरियल स्कुलका एक विद्यार्थी हुन्, संगीत नाटक प्रज्ञा प्रतिष्ठानका वर्तमान उपकुलपति शम्भुजित बास्कोटा । बास्कोटालाई संगीत पढाएका थिए, जितेन्द्रलाल मास्केले ।रेडियो नेपालमा वाद्यवादकका रूपमा र विशेष रूपमा गितार र मेन्डोलिन बाजाका निम्ति ख्याति कमाएका सिके रसाइलीलाई धेरैले गुरुजी भन्छन्।

संगीतलाई पाश्र्वभूमिमा राखेर शिक्षण पेसा अपनाएका धेरै गायक कलाकारमध्ये सिके रसाइलीका समकालीनमा संगीतकार, गीतकार शरणकुमार प्रधान पनि एक थिए । ‘नेपाली गौरव गर्छ, आफ्नैपनमा घमण्ड त होइन है, मान्छे सबै एउटै रगतको विचार किन बेग्लाबेग्लै’जस्तो कालजयी गीतका रचनाकार एवं संगीतकार शरणकुमार प्रधान संगीत जगत्मा शरण प्रधान नामबाट चिनिन्छन् । उनले २० को दशकमा स्थापना गरेको ‘संगम’ नामक समूहमा उनीबाहेक रञ्जित गजमेर पनि आबद्ध भएका कारण ‘शरण–रञ्जित’ नामबाट यी संगीत गर्थे।

संगीत विधामा रहेका धेरै व्यक्ति सुरुवातमा पेसागत सुरक्षा नहुँदा पढाउने वा पढाएरै जीवन गुजारा गरेको पाइन्छ । नेपालका धेरै विद्यालयमा संगीत पढाउने गायिका कुन्ति मोक्तान हुन् वा गायन पेसामै रहेर पनि स्कुलतिर अकाउन्टको काम हेर्ने गायक ल्हाक्पा शेर्पादेखि लिएर अहिलेका पुस्ताका चर्चित गायक प्रमोद खरेल पनि अध्यापनमै सक्रिय छन् ।

हाल बनारस हिन्दू विश्वविद्यालयमा नेपाली विभागसित आबद्ध डा. दिवाकर प्रधानले गत वैशाख २० गते शरण प्रधानको ४१औँ वार्षिक पुण्यतिथिका दिन उनको सम्झनामा फेसबुकमा लेखे, ‘सेन्ट रोबर्टस्मा हामीलाई गणितका किसिम किसिमका सूत्र सुल्झाउन सिकाउने शरण प्रधानका गीतले झन् धेरै कुरा सिकायो । शरण गुरुबाका कारण नै उनकी पत्नी गायिका अरुणा लामालाई पनि जीवनभर गुरुआमा नै भनियो । दुवै गुरुबा र गुरुआमामा सततः प्रणाम।’

नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्‍याउने धेरै कला साधकले शिक्षण पेसालाई ‘पार्ट टाइम जब’ मात्र होइन, आराधनाको एक पक्ष मानेका छन् । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारी जीवनभर नै शिक्षाको बीउ छर्दै हिँडिन्।

गायिका दीपा गहतराजका पिता दलसिंह गहतराजसित पढेका डा. तारानाथ शर्माले गहतराजको जस्तो अंग्रेजी हस्तलेखन अहिलेसम्म कसैको नदेखेको सम्झना गर्छन् । पछि शिक्षण छाडेर प्रहरी सेवामा प्रवेश गरेका दलसिंह गहतराजले सुरुमा संगीत र शिक्षणलाई एक साथ अपनाएका थिए ।गहतराजकै समयका संगीतकार अम्बर गुरुङले पनि पश्चिम बंगाल सरकारको लोक मनोरञ्जन शाखाको जागिरबाट अलग्गिएपछि कालिम्पोङको डा. ग्राहम्स् होम नामक स्कुलमा संगीत नै पढाएका थिए ।

नेपाली संगीत जगत्का धेरै प्रसिद्ध गायक–गायिका एवं संगीतकार अहिले पनि विभिन्न स्कुल कलेजमा अध्यापन गर्ने गर्छन् । गायिका कुन्ति मोक्तान र उनका पति शिलाबहादुर मोक्तान विवाह गरेर नेपाल आएदेखि स्कुलतिरै पढाउनमा व्यस्त छन् । गायक संगीतकार जंगम लामो समयदेखि पद्मकन्या कलेजमा संगीत नै पढाउँथे । संगीतकार दीपक जंगमकी पत्नी बेनी जंगम रावललाई रत्नराज्य लक्ष्मी कलेजबाट संगीत पढाउने काम सुरु गराएकी थिइन्, शास्त्रीय गायिका शकुन्तला प्रधानले।

३० को दशकपछि नेपालका स्कुल विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत विशेष विषय नै सुरु भएपछि कलाकारले गायन, संगीत वा नृत्य पढाउने थप अवसर पाए । त्यसमध्ये गायक भक्तराज, संगीतकार दिव्य खालिङ, गायक ल्हाक्पा शेर्पा, गायिका संगीता प्रधान राना, गायिका शारदा क्षेत्री प्रमुख हुन् । अभिनेत्री मिथिला शर्माले आफ्नी साथी गायिका विमला राईसित विभिन्न स्कुलमा गएर नृत्य सिकाइन् । पूर्ण नेपाली र जयनन्द लामा पनि विभिन्न स्कुलमा संगीत र नृत्य सिकाउँथे।

संगीतलाई विधिवत सिकाउनुपर्छ र यो स्कुल तहदेखि नै अध्यापनको विषय हुनुपर्छ भन्ने धारणा राख्ने गीतकार एवं संगीतकार दिव्य खालिङ महेन्द्र भवन, ज्ञानोदय माविमा संगीत शिक्षण गर्थे । संगीतकार खालिङले संगीत शिक्षालाई थप आकर्षक तुल्याउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनले स्कुलमा बाहेक आफ्ना सहकर्मी चलचित्रकर्मी प्रताप सुब्बासित मिलेर काठमाडौंको बिजुलीबजारमा संगीत, अभिनय र नृत्यको स्कुल डायमन्ड एकेडेमी अफ पर्फर्मिङ आर्टस् नै खोले ।दिव्य खालिङभन्दा एक दशकअघि, २०२१ सालमा नौजनाको डफ्फामा नेपाल पसेका पिटर जे कार्थक दार्जिलिङमा अम्बर गुरुङको टोलीमा गितार बजाउँथे ।

उनीसित नेपाल पसेका लई ब्यांक्स् र रञ्जित गजमेर भारतको मुम्बई पसे भने अनुराधा कोइराला र उनी मात्र यहाँ टिकेको सम्झना गर्छन् पिटर ।
पिटरले सन् १९७१ देखि पाटन बहुमुखी क्याम्पसमा अंग्रेजी पढाउन थाले । एक शिक्षकका रूपमा आफ्नो नयाँ जीवन नेपालमा सुरु गरेका ती दिन सम्झँदै पिटर भन्छन्, ‘सुरुमा पाटन क्याम्पसमा अंग्रेजी पढाएँ । र, मैले नै त्यहाँ अंग्रेजी विभाग सुरु गरेँ । त्यही वर्षको अन्त्यमा पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउन सुरु गरेँ ।’ उनी आफूले इन्जिनियरिङ कलेजमा पढाएका केही विद्यार्थीमध्ये साहित्यकार किशोर पहाडी, सञ्चारकर्मी विजयकुमार आदिलाई सम्झन्छन्।

अध्ययन र अध्यापनका दृष्टिले प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, रेडियो नेपालका कलाकार शिक्षकका रूपमा वैतनिक रूपमा आबद्ध हुने चलन भए पनि कैयौँ कलाकारले मोफसलमै हुँदा शिक्षण पेसालाई अपनाएको देखिन्छ । त्यसमध्ये गायिका एवं कथाकार माया ठकुरीले पोखराको गण्डकी बोर्डिङ स्कुलमा अंग्रेजी पढाइन् भने कवि भीमदर्शन रोका पनि पोखरामा ‘रोका सर’का नामबाट प्रसिद्ध थिए । पछि उनले बालाजुको सिद्धार्थ वनस्थलीमा पढाए । पश्चिमाञ्चलमै बसेर संगीत सिकाइरहेका लोकगायक प्रेमदेव गिरी एक चर्चित मादलवादक पनि हुन् । उनले नारायणगोपालका धेरै राम्रा गीतमा वाद्यवादन गरेका छन् भने लोक संगीतको अध्येताका रूपमा उनका आफ्नै योगदान छ।

अहिलेका चर्चित संगीतकार राजु सिंह विद्यालयमा संगीत पढाउन व्यस्त छन् भने गायिका लासिमित राई पनि संगीत अध्यापनमै सक्रिय देखिन्छिन् । नयाँ पुस्तामा संगीत सिक्ने र सिकाउने क्रम झनै बढ्दो छ । यसलाई अभिमुखीकरण गर्न सक्रिय शास्त्रीय गायिका शारदा क्षेत्री र जीवनकुमार राई अहिलेका चर्चित संगीत शिक्षक मानिन्छन् । गायिका संगीता प्रधान राना, प्रदीप बम्जन आदि पनि संगीत अध्यापनमा सक्रिय छन्।

संगीता राना केही समयदेखि ललितकला क्याम्पसमा संगीत अध्यापन गर्दै आएकी छन् । धनबहादुर गोपाली कलानिधि संगीत विद्यालयमा नयाँ पुस्ता तयार पार्न व्यस्त छन् । भारतको भोपालबाट ध्रुपद्को विस्तृत अध्ययन गरेर आएका दुई युवा विशाल भट्टराई र इनोय सान पनि प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकालाई शास्त्रीय संगीत सिकाउन व्यस्त छन् । किरातेश्वर विद्यालयमार्फत संगीतलाई शिक्षा पद्धतिमा जोड्ने तबला वादक सरिता मिश्र पनि संगीतलाई जीवन र शिक्षासित जोड्नमै लागिपरेकी छन् । रविनदास श्रेष्ठ, श्रीनाथ केसी, चन्दन श्रेष्ठ, तीर्थराज पोखरेल आदि पनि सिक्ने र सिकाउने कार्यमा सक्रिय छन्।

संगीत विधामा रहेका धेरै व्यक्ति सुरुवातमा पेसागत सुरक्षा नहुँदा पढाउने वा पढाएरै जीवन गुजारा गरेको पाइन्छ । नेपालका धेरै विद्यालयमा संगीत पढाउने गायिका कुन्ति मोक्तान हुन् वा गायन पेसामै रहेर पनि स्कुलतिर अकाउन्टको काम हेर्ने गायक ल्हाक्पा शेर्पादेखि लिएर अहिलेका पुस्ताका चर्चित गायक प्रमोद खरेल पनि अध्यापनमै सक्रिय छन्।

नेपाली चलचित्र जगत्का प्रसिद्ध पाश्रर्व गायक किरण प्रधान, जसले नेपाली चलचित्र ‘सम्झना’, ‘झोरा’, ‘मायाप्रीति’ जस्ता चलचित्रमार्फत आफ्नो गायनको ख्याति बनाए तिनै गायक संगीतकार किरण प्रधान वर्षौंदेखि शिक्षण पेसामा आबद्ध छन् । पेसागत हिसाबले गायन वा संगीतमा लाग्ने कलाकारको दोस्रो वैकल्पिक पेसा लामो समयदेखि शिक्षण पेसा नै हुँदै आएको छ।

अहिले नेपाली चलचित्र जगत्का चर्चित संगीतकारहरू प्रायः शिक्षण पेसामा आबद्ध छन्, अहिलेका युवा पुस्ताका प्रायः संगीतकार दिनको आधा समय स्टुडियो र आधा समय स्कुलमा बिताउने गर्छन् ।
नेपाली चलचित्रका धेरै नाम चलेका संगीतकार चलचित्रमा संगीत गरे पनि बाँकी समय आफ्नो जीवन धान्नका लागि स्कुलमा पढाउने काममा प्रतिबद्ध देखिन्छन्, जसले स्कुलमा हुने अभिभावक दिवस, वार्षिक कार्यक्रम, सांस्कृतिक कार्यक्रममा स्कुलका संगीत शिक्षकबाट धेरै काम लिन सकिने पनि देखिन्छ । कुनै–कुनै स्कुलले संगीतलाई नै मुख्य विषय बनाएर पनि पढाउन थालेको इतिहास छ । अबको पुस्तामा प्राथमिक तहदेखि नै संगीतलाई प्रमुख विषय बनाएर लैजान सके बालकको भविष्य उज्ज्वल हुनेछ भन्ने विश्वप्रसिद्ध पियानो वादक ल्याङ ल्याङको अनुभूति छ ।

 

प्रकाशित: १९ फाल्गुन २०७४ ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App