८ वैशाख २०८१ शनिबार
समाज

अनुदान वितरणमा भएको ढिलाइले पुनर्निर्माण सुस्त : जाइका

सिन्धुपाल्चोक- जापान सरकार सहयोग नियोग (जाइका) ले भूकम्प पीडितलाई अनुदान वितरणमा भएको ढिलाईले पुनर्निर्माणले अपेक्षाकृत गति लिन नसकेको औँल्याएको छ। भूकम्पपछिको पुनर्निर्माणमा सघाइरहेको उसले अनुदान वितरणमा ढिलाई हुनमा सरकारी निकायदेखि बैंक तथा वित्तिय संस्थासम्मको कमजोरी देखाएको छ।

जाइकाले भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक र गोरखाका पीडितका घर पुनर्निर्माण गर्न नेपाल सरकारलाई ऋण अनुदान उपलब्ध गराएको छ। उक्त ऋण अनुदानबाट दुई जिल्लामा ५५ हजार घरको पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माणको प्रगतिबारे सरोकारवाला निकायलाई जानकारी दिन चौतारामा आयोजित कार्यशालामा जाइका प्रतिनिधिले अनुदान वितरणमा ढिलाई हुँदा पुनर्निर्माणले प्रभावित भएको औँल्याएका हुन्।

निजी आवास पुनर्निर्माण परियोजना प्रमुख टोमोकी मियानोले प्रस्तुत गरेको प्रतिवेदनको पहिलो बुँदामै अनुदान वितरणमा ढिलाई हुनुमा बैंक तथा वित्तिय संस्थाको कमजोरी औँल्याइएको छ । ‘बैंकहरुले सबै पीडितलाई सहजै अनुदान दिइरहेका छैनन् । रकम लिन झञ्झट छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रशासनीक झञ्झट र लामो कागजी प्रक्रियाले समस्या थपेको तर्फ संकेत गर्दै परियोजना प्रमुख मियानोले अनुदान वितरणको जिम्मेवारी लिएका जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रकको कार्यालय लगायत सरकारी निकायले रकम निकासामा ढिलाइ गरिरहेको बताए । ‘धेरै लाभग्राहीको सूची त्रुटिपूर्ण हुँदा समस्या थपिएको छ,’ उनले भने, ‘गुठी र जग्गा समस्या भोगिरहेका पीडितले पुनर्निर्माण थाल्न सकेका छैनन्।’

परियोजनाका अनुसार सिन्धुपाल्चोकका तत्कालीन ३१ गाविसमा ४० हजार ९६ र गोरखाका १६ गाविसमा झण्डै १५ हजार घर पुनर्निर्माणको लागि जाइकाले ऋण अनुदान उपलब्ध गराएको छ । हालसम्म ५ अर्व ८६ करोड रुपैयाँ ऋण नेपाल सरकारलाई उपलब्ध गराइसकेको परियोजना प्रमुख मियानोले जानकारी दिए।

उनका अनुसार जाइका र नेपाल सरकारबीच सुन्य दशमलव सुन्य एक प्रतिशत ब्याज दरमा ४० वर्षका लागि ऋण सम्झौता भएको थियो । समस्या र व्यवधानका बीच जाइकाको ऋण सहयोगमा बन्नेमध्ये झण्डै ७८ प्रतिशत घरको पुनर्निर्माण सुरु भएको भन्दै उसका अधिकारीले सन्तोष ब्यक्त गरे।

आधा पीडितको घर जाइकाको ऋणमा

सिन्धुपाल्चोकका कुल लाभग्राही ८३ हजार ६ सय ६३ मध्ये झण्डै आधा ४० हजार ९६ पीडितको घर पुनर्निर्माण गर्न जाइकाको ऋण सहयोग रहेको छ । यसमध्ये ३७ हजार ८३ पीडितले पहिलो किस्ता पाएकोमा १५ हजार ६ सय १२ ले दोस्रो १ हजार ८ सय ८२ ले तेस्रो किस्ता लिएको जाइकाले जनाएको छ ।

‘जाइकाको ऋण सहयोगमा सिन्धुपाल्चोकमा ९ हजार ६ सय ४८ घरको पुनर्निर्माण भइसकेको छ,’ परियोजना प्रमुख मियानाले भने । उनका अनुसार यसअन्तर्गत २६ हजार ५ सय ९२ घरको पुनर्निर्माण सुरु भइसकेको छ । जाइकाको ऋण सहयोग रहेको साविक ३१ गाविसको पुनर्निर्माणमा ३ सय ३१ डकर्मीले काम गरिरहेको परियोजनाका जनशक्ति स्रोत कार्याक्रम विज्ञ भूपेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार ती गाविसलाई तीन ‘क्लस्टर’ मा बाँडेर पुनर्निर्माणको काम भइरहेको छ। पुनर्निर्माणलाई सघाउन उसले प्रत्येक गाविसमा एक÷एक इन्जिनियरसमेत ३३ प्राविधिक जनशक्ति खटाएको छ। पीडितलाई पुनर्निर्माणमा जागरुक बनाउन र छिटो पुनर्निर्माणमा सक्न स्थानीय स्तरमा ३ सय ६८ समिति बनाइएको छ। पीडितलाई सघाउन प्रत्येक सय घर बराबर एक अगुवा डकर्मी परिचालन गरिएको बस्नेतले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७४ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App