८ वैशाख २०८१ शनिबार
समाज

तराईमा ‘फगुवा’को रंग (फोटो फिचर)

वीरगन्ज – थरीथरीका परिकार खाइखुवाई रंग अबिरमा रमाउने पर्व ‘फगुवा’ अर्थात होली शुक्रबार मनाइएको छ। रंग, अबिर साट्दै र नाचगानसहित मनाउने सद्भाव साटासाटको  पर्वमा स्थानीयहरु दिनभरी मग्न भए। होलीको रंगमा रंगिएर ब्यपारिक नगरी वीरगन्जको बजार क्षेत्रमा पुर्ण रुपमा विदा रह्यो। चोक चोकमा साँझसम्म स्थानीहरु रमाइलो गरिराखेको भेंटिए। 

‘फागु वा होली भनिने यस पर्वको दुई वटा बिषेषता छ, पहिलो हो यसका खास गीतसंगीत, दोस्रो हो परिवार तथा गाउँ समाजभित्र एकआपसमा मिलेर मनाउने,’ लोकसंस्कृतीका जानकार उमाशंकर द्विवेदी भन्छन्, ‘बर्षभरीको बैरभाव बिर्सेर रंग अविर साट्ने, मिठोमसिनो खाने–खुवाउने र रमाइलो फगुवा तराईको मुख्य पर्वमध्ये हो।’ पुराना परम्पराको निरन्तरता दिन खोजिए पनि होलीमा धेरै परिवर्तन आएको उनको बुझाई छ। रंगको यस त्यौहारको नै रंग बर्षैपिच्छे फेरिएको उनको भनाई छ।

उनले भनेजस्तै होलीका आधुनिक शैलीका गीतहरु वीरगन्जमा र गाउँतिरका चोकहरुमा घन्किएको थियो। बिभिन्न चोकमा भारतीय आधुनिक गीतहरुमा झुमिएका थिए, युवा युवतीहरु। फागुको गीत भने सहरमा भेंटिएन्। होलीको गीत भनेर घन्काइएका भोजपुरीका गितमा पनि होलीको भाका नपाइएको पाकाहरुको भनाई छ। द्विवेदीका अनुसार सहरभन्दा गाउँहरुमा अझै परम्परागत भाकाका ‘होरी’ अर्थात होली बिशेष गीतसंगीत केही मात्रामा जीवित छ। परम्परागत होरीको धुन पुरा गर्न दुई वटा ढोलक, एउटा डम्फा, एक जोर झाल र एक जोर मन्जिरी चाहिन्छ। 

‘लइका राम धनुष कइसे तुरिहे, हँसेला जनकपुर के लोग’ अर्थात ‘राम अहिले बालकै छन्, धनुषमा डोरी कसरी चढाउलान? हाँस्दै छन जनकपुरका मानिसहरु’। यी जस्ता भाकामा सज्जिएको पौराणिक कथा रामायणको प्रसंगबाट सुरु हुने हो होरी। लोकभाकाका जानकारहरुका अनुसार यसलाई रामा रसको होरी भनिन्छ। त्यसतै कृष्ण रसमा ब्रजमा कृष्णले गरेका लिलाहरुसंग जोडिएका भाका हुन्छन्। लोकरसमा जोगिरा धेरै लोकप्रिय हो। ‘जोगिरा सरररर’का नयाँ र आधुनिक संस्करण भने ठाउँठाउँमा बज्यो। 

महाशिवरात्रिपछि होली आउन १५ दिन बाँकी रहेपनि त्यसको भोली पल्टदेखि हरेक साँझ गाउँ–गाउँमा फागुको लोकगीत ‘होरी’ जम्न सुरु हुने परम्परा अहिले पनि कुनै कुनै ठाउँमा जिवित भेंटिए पनि बिस्तारै कम हुँदै गाएको देखिन्छ। होलीको दिन भने सामुहिक रुपमा ‘होरी’ भने अझै गाउयँहरुमा गाउने चलन छ। 

मारवाडी समुदायको होली 

वीरगन्जमा माडवारी समुदायले पनि आफ्नो परम्परा अनुसार होली मनाएका छन्। बिहीवार जलाइएको ‘समद’मा माडवारी समुदायले उलेख्य संख्यामा सहभागिता जनाए। गोबरको डल्लोहरुको माला ‘बडकुल्ला’ बनाएर उनीहरुले घरघरबाट ल्याएका थिए। ‘समद र बड्कुल्लाको बिषेश महत्व छ हाम्रो समाजमा, बड्कुल्ला जलेर सल्केपछि त्यसको आगो ल्याएर घरभित्र पनि जलाइन्छ,’ संस्कृतिक कुराहरुका जानकार ओमप्रकाश सिकारिया भन्छन् ‘समद जलाएर सुरु भएको होली अर्को दिन स्नेह मिलनपछि सकिने हो।’ माडवारी समुदायले स्नेह मिलन शुक्रवार गरेका छन्।

स्नेह मिलनमा एक अर्कासंग प्रेम र सद्भाव साट्ने चलन छ। ठुलाबडासंग आर्शिवाद लिने र साँथी भाइबीच शुभकामना आदानप्रदान गर्ने सामुहिक रुपमा भेला भएर यसमा गरिन्छ। एक आपसमा कुनै तनाव भएको भए र सम्बन्ध बिग्रिएको भए पुराना कुरालाई बिर्सेर सम्बन्ध नवीकरण गर्ने बार्षिक अवसरको रुपमा स्नेह मिलनलाई लिइने गरिएको मारवाडी समुदायका अग्रज पुस्ताकाले यसको महत्व बताउँछन्। माडवारी युवाहरुले होलीको डफली बजाएर मनोरञ्जन गरेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App