coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी शुल्क ४१ हजार

काठमाडौं- नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिले फागुन २१ गते संसदीय दलको नेता निर्वाचनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ।
निर्वाचन तालिकाअनुसार फागुन २० गते अपराह्न ४:३० बजे मतदाता नामावली प्रकाशन, फागुन २० गते अपराह्न ६ देखि साँझ ७:३० बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८:३० बजे हुनेछ।
उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ४१ हजार तोकिएको छ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा मतदान हुने र मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने समिति सदस्य सचिव केशव रिजालले जानकारी दिए।
पार्टीको संसदीय दलको विधानअनुसार संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । फागुन २१ गते संसदीय दलको नेताका लागि निर्वाचन हुने र त्यसपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुने सचिव रिजालले बताए।
राष्ट्रियसभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने काँग्रेस संसदीय दलको विधानमा छ। त्यस्तै राष्ट्रियसभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था रहेको सांसद बद्री पाण्डेले बताए।
उनन्साठी सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ जना सांसद छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो।

सांसदको शपथपछि मात्र संसदीय दलको निर्वाचन

नयाँ सरकार गठनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो पार्टीका संसदीय दलका नेता चयन गरे पनि काँग्रेसले भने सांसद पदको शपथपछि मात्र संसदीय दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ।
काँग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथ ग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र संसदीय दलको नेताको निर्वाचन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसद्को पहिलो बैठक यही फागुन २१ गतेका लागि आह्वान गरेकी छन्।  त्यसअघि संघीय संसद् सचिवालयले संघीय सांसदहरुको पद तथा गोपनीयताको शपथ फागुन २० गतेका लागि निर्धारण गरेको छ। प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ अपराह्न ५ बजे हुनेछ । रासस

प्रकाशित: १८ फाल्गुन २०७४ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App