८ वैशाख २०८१ शनिबार
राजनीति

पुरानो कानुन र कर्मचारी विकासको बाधक : मुख्यमन्त्री पौडेल

तस्विर/नागरिक

मकवानपुर – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुरानो कानुन र परम्परागत सोच भएका कर्मचारीतन्त्र समृद्धी तथा विकासको बाधक भएको बताएका छन्। नियम, कानुनहरु संशोधन तथा निर्माण गर्ने बताउँदै उनले कर्मचारीतन्त्र सुधार्न ‘निर्ममता’का साथ निर्णय गर्नुपर्ने अवस्था आउन लागेको संकेत गरे।

प्रदेश राजधानी हेटौंडामा शुक्रबार आयोजित स्वागत् तथा सम्मान कार्यक्रममा बोल्दै उनले मुख्य समस्याको रुपमा रहेको नियम, कानुनहरु निर्माण तथा संशोधन गर्नुपर्ने बताए। उनले भने, ‘अहिलेकै नियम कानुनलाई पछ्याउने हो भने हामीले ५ वर्षमा केहीपनि गर्न सक्ने अवस्थामा छैनौं।’ कानुनमा रहेको ‘लामो प्रकृया’का कारण तत्काल परिवर्तन सम्भव नरहेको भन्दै उनले प्रदेश सरकारले कानुन बनाउने प्रकृया शुरु गरिसकेको बताए। ‘प्रदेश विल्कुल नयाँ संरचना हो, कानुन, नीति, नियम केहीपनि छैनन्, अहिले बल्ल कानुन बनाउने प्रकृयामा छौं ।’ केही समय कानुन बनाउन लाग्ने भन्दै उनले कानुन नभएकाले प्रदेश सरकारले तत्काल देखिने गरि काम गर्ने अवस्था नरहेको जिकिर गरे।

‘माथिल्लो तहका कर्मचारी प्रदेशमा आएर काम गर्न चाहदैनन्, समस्या सिर्जना गर्छ, धेरै कर्मचारी आएका नै छैनन्,’ मुख्यमन्त्री पौडेलले भने, ‘कर्मचारीतन्त्रको मानसिकता हिजोको परम्परागत ट्रेण्ड भन्दा एक कदम अगाडी बढ्न चाहदैनन् ्।’ ‘हामी फड्को मारेर अग्रगामी दिशातर्फ जानुपर्छ, नयाँ ढंग र द्रुतमार्गबाट काम गर्नुपर्छ, उनले गुनासो गर्दै भने, ‘कर्मचारीतन्त्र त्यो चाहदैन, उनीहरु हिजोको परम्पराबाट मात्र काम गर्न खोजेको देखिन्छ।’

प्रदेश सरकारले भर्खर काम शुरु गर्न खोजेको बताउँदै उनले उद्योगी, व्यवसायीलाई सहयोगका लागि आग्रह गरे । सबैको सहयोगबाट देशमा चाँडै आर्थिक क्रान्ति ल्याउन सकिने बताउँदै उनले त्यस्तो गर्न सकिए देशलाई समृद्ध बनाएर नेपालीको मुहारमा हाँसो ल्याउन सकिने बताए। उनले थपे, ‘हिजोकै मान्यतालाई मात्र स्थापित गर्दै जाने हो भने मुलुकलाई परिवर्तन गर्न सकिदैन।’ देशमा समृद्धी ल्याउन निजी क्षेत्रको भुमिका र योगदान महत्वपूर्ण रहेको भन्दै पौडेलले भने, ‘सरकारले मात्र मुलुकमा समृद्धी ल्याउन सक्दैन, निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुन्छ।’ निजी क्षेत्रलाई सरकारले आफ्नो बनाउँदै लगानीलाई बढाउन सके मात्र समृद्धी हासिल हुने भन्दै उनले त्यसो नहुँदासम्म आफुहरुको नारा केवल कोरामा सिमित हुने बताए। निजी क्षेत्रको विकास र सुरक्षाका लागि ऐन, कानुन निर्माण तथा संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनले तर्क गरे।

प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले देशले राजनीतिक समस्या अन्त्य गरेको भन्दै विकास र समृद्धीका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए। ‘सरकारी कार्यालयबाट सानो सेवा दिन पनि धेरै झण्झटीलो छ,’ उनले घुसतर्फ लक्षित गर्दै भने, ‘टेबुल मुनीबाट काम गर्नुपर्ने अवस्था छ, त्यो हटाउनुपर्छ।’ देश, प्रदेश र जनताको विकासको बाधक कानुन हटाउँदै संशोधन गर्नुपर्ने भन्दै उनले फाईल अड्काउने र काम रोक्ने प्रथाको अन्त्य गर्नुपर्ने बताए। मकवानपुरकी प्रदेश सभाषद तथा माओवादी केन्द्र प्रदेश संसदीय दलकी उपनेता कुमारी मोक्तानले समृद्धी र विकासको प्रतिक्षामा जनता रहेको भन्दै छिटो भन्दा छिटो कानुन बनाएर प्रदेश सरकार विकास, निर्माणमा केन्द्रीत हुनुपर्ने बताईन्।

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले ट्राफिक प्रहरीको ‘ज्याजती’ र भारतीय गाडीको बढ्दो आगमनले यातायात व्यवसायी मारमा परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए। मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले दोहोरो कर प्रणालीले उद्योगी, व्यवसायी समस्यामा परेको भन्दै एकद्वार प्रणाली लागू गर्न आग्रह गरे। ‘मनलाग्दी’ अनुगमनले उद्योगी, व्यवसायी आतङ्कीत भएको भन्दै उनले आर्थिक समृद्धीका लागि व्यवसायिक कृषि, पर्यटन र जलविद्युतमा प्रदेश सरकारले लगानी गर्नुपर्ने बताए।

मकवानपुर उद्योग बाणिज्य संघ, नारायणी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघ मकवानपुरले संयुक्त रुपमा मुख्यमन्त्री, सभामुख, मकवानपुरका सांसद र प्रदेश सभाषद्हरुलाई स्वागत् तथा सम्मान कार्यक्रम गरेको हो। कार्यक्रममा प्रतिनिधी सभाका सांसद कृष्ण दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, प्रदेश सभाषदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओम घलान लगाएतलाई मायाँको चिनो पनि प्रदान गरिएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७४ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App