७ वैशाख २०८१ शुक्रबार
अन्य

‘सहरवासीको मन व्यवसायिक भयो’

कुन्ति मोक्तान, गायिका

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई हाम्रै देशको काठमाडौं सहर राम्रो लाग्छ । नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउँछु भन्छन्, तर हामीलाई प्रकृतिले नै स्विट्जरल्यान्डभन्दा हराभरा पारिदिएको छ । नेपालले ईश्वरकै वरदान पाएजस्तो लाग्छ । यहाँजस्तो अनुपम प्राकृतिक सुन्दरता अन्त देशमा पाउँदिनँ । मलाई काठमाडौंको मौसम, ऐतिहासिक सम्पदा सुन्दर लाग्छ । मात्रै भौतिक संरचना र मानिसको खराब प्रवृत्तिले सहर फोहोर देखिएको हो । भौतिक निर्माण र विकासका काम चुस्तदुरुस्त हुन्थे भने काठमाडौं संसारकै ‘टप सिटी’ भित्र पथ्र्यो होला । 

नेपालबाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
अमेरिका, जापान, अस्ट्रेलिया, इजिप्ट, कतार, दुबईलगायत २४ भन्दा बढी देशका सहर घुमेकी छु । संसारमा मुख्य देशका सहर घुमेकी छु । अमेरिकाका हरेक सहर मनपर्‍यो, तीमध्येको राम्रो र व्यवस्थित सहर हो, सिकागो । यो सहर ज्यादै सुन्दर छ । जनसंख्या धेरै भएर सिकागो सहर शान्त र व्यवस्थित छ । गाउँ र सहरको परिवेश यहाँ सहजै भेटिन्छ । मानिसले सहर सिँगार्न सक्छ भन्ने यी उदाहरण बाहिरी मुलुकका सहर घुमेपछि थाहा हुन्छ । अमेरिकाका सहर जति घुमे पनि नपुग्ने रमणीय छन्।  

नेपाल र बाहिरी मुलुकका सहरबीच कस्तो भिन्नता पाउनुभयो ?
यहाँको जस्तो जलवायु विश्वमै छैन । जहाजमा १५ मिनेटको यात्रा गरेपछि हामीले हिमालको शीतलता, तराई न्यानो र पहाडको हरियाली महसुस गर्न पाउँछौँ । प्रकृतिले दिएको सुन्दरतालाई हामीले जतिसुकै बखान गरे पनि कमै हुन्छ । नेपालका हरेक ठाउँ प्रकृतिले भरिपूर्ण छन् । कुनै पनि मुलुक नेपालजस्तो हराभरा बन्न सक्दैनन् । आधुनिकतालाई हेर्दा हामी पछि छौँ । सरकारी निकायको बेवास्ताले हाम्रा सहर विकास हुन नसकेका हुन् । यहाँका सरकारी निकायमा काम गर्ने कर्मचारी तालिम लिन र घुम्न भन्दै विदेश पुग्छन्, तर त्यहाँको सिको गर्न खोज्दैनन् । हाम्रा सहरमा चारैतिर फर्किएका भवन छन् । तीनले पनि सहरलाई धेरै कुरूप बनाएका छन् । 

हाम्रा सहर विकास हुन नसक्नुको कारण के होला ?
हामी आफैँले सहरलाई कुरूप बनाउँदै छौँ । प्रकृतिले दिएको अनुपम उपहारलाई पनि हामीले जतन गरेर सजाउन सकेनौँ । अर्को कुरा यहाँ पैसा र निजी स्वार्थपूर्तिका निम्ति राजनीति गर्दै आएका भ्रष्ट व्यक्ति छन्, नेताहरू छन्। तिनैले हो, सहरलाई कुरूप र अव्यवस्थित बनाएको । माथिल्लो तहमा बस्नेले तल्लो तहसम्म नियालेर पारदर्शी भएर काम गरेका भए सहर अहिलेभन्दा केही व्यवस्थित हुन्थे होला । अर्को कुरा भएका स्रोत–साधन र सम्भावनालाई राज्यले बुझ्न सकेन।

उपत्यकाबाहिर कत्तिको जानुहुन्छ ?
प्रायः गइरहन्छु । मलाई हिँडिरहन मन पनि लाग्छ । पोखरा, तानसेन, कटारीलगायत धेरै ठाउँ पुगेकी छु । नेपालका हरेक सहरको आ–आफ्नै विशेषता र मौलिकता छ । 

तपाईंकोे सपनाको सहर कस्तो होला ?
म बस्ने सहर शान्त होस् । सहरवासीलाई घरबाट बाहिर निस्कँदा सहजताको महसुस होस् । कतै पनि भीडभाड र हल्लाखल्ला नहोस् । हरेक मानिसले एकै किसिमको सुविधा उपभोग गर्न पाऊन् । धुवाँधुलो, प्रदूषणजस्ता समस्याको सामना गर्न नपरोस् । सबै नागरिक अनुशासित होऊन् । यति भयो भने सहर सुन्दर हुनेछ । 

अहिलेको काठमाडौं कस्तो लाग्छ ?
हिजोआज उपत्यका दिक्कलाग्दो भएको छ । सबैतिर अस्तव्यस्त मात्रै देखिन्छ । सहरमा ढुक्क भएर यात्रा गर्ने वातावरण पनि छैन । स्कुल पठाएका छोराछोरी सहजै घरसम्म आइपुग्लान् भन्ने विश्वास हराउन थालेको छ । उपत्यका यस्तो ठाउँ हो, जसलाई नेपालको चिनारी मानिन्छ । यहाँ विभिन्न संस्कृति, जातजाति, वेशभूषा पाइन्छ । सांस्कृतिक र धार्मिक हिसाबले पनि यो क्षेत्र उच्च बिन्दुमा छ । तर, हामीले यसलाई चिन्न सकेनौ । सत्तामा बस्नेले सधैँ देशलाई भागबन्डा लगाए।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासीको मन व्यावसायिक भएको छ । आर्थिक स्वार्थसिद्धका लागि यहाँ हरेकखालका काम हुन्छन् । सहरमा कसैले पनि निस्वार्थ भएर काम गर्दैनन् । छिमेकीलाई अप्ठेरोमा पार्न खोज्छन्, अनि काठमाडौंमै बसेर काठमाडौंलाई नै सराप्छन् । 

तपाईंको नजरमा उपत्यकाका मुख्य समस्या के हुन् ?
खानेपानी हाहाकार, खाल्डाखुल्डी सडक, ट्राफिकजाम, धुवाँधुलोलगायत यहाँका मुख्य समस्या हुन् । यी समस्या समाधान गर्ने हो भने काठमाडौं व्यवस्थित बन्छ। 

काठमाडौंलाई कहिलेदेखि चिन्नुभयो ?
मैले ३५ वर्षअघि जान्दाको काठमाडौं शान्त र हरियाली थियो । त्यतिबेला डिल्लीबजारबाट रत्नपार्क हुँदै सुन्धारा पुग्ने माइक्रो चढ्थ्यौँ । मानिसको संख्या कमी थियो । सबैतिर खुला थियो । त्यतिबेला रत्नपार्क शान्त थियो । सजिलै ढुक्क भएर यात्रा गर्न सकिन्थ्यो । अहिले भीडभाड र अस्तव्यस्तता बढेको छ । मैले जान्दा काठमाडौं उपत्यका सुनसान थियो । हरियाली थियो । धेरैतिर गाउँ देखिन्थे । खेतीयोग्य जमिन पनि थिए।

केही समयअघि म उदयपुरको कटारी पुगेकी थिएँ । सिन्धुलीगढी हुँदै त्यहाँ जाने बाटो मलाई धेरै राम्रो लाग्यो । त्यहाँको बाटोघाटो र हरियाली हेर्दा बालापनको याद आयो।

काठमाडौंको मनपर्ने पक्ष ?
यहाँको जलवायु र मठ–मन्दिर राम्रो लाग्छ । संसारमै नपाइने कला–कौशल काठमाडौंमा छन् । 

यहाँको मननपर्ने पक्ष ?
मानिसको कोचाकोच, धुवाँधुलो, हल्लाखल्ला, ट्राफिक जाम सम्झँदा काठमाडौं दिक्कलाग्दोे छ। 

उपत्यकानजिकै घुम्न जानुपर्‍यो भने कुन ठाउँ रोज्नुहुन्छ ?
उपत्यकाभित्रका ग्रामीण क्षेत्र घुम्न रमाइलो लाग्छ । भक्तपुर दरबार, नगरकोट, धुलिखेल, दक्षिणकाली, दामन, मलेखु लगायत ठाउँ जान्छौँ । 

यहाँको मनपर्ने खाने कुरा के हो ?
नेवारी खाजा र बारा मीठो लाग्छ । 
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ? 
मलाई क्यानडा जान मन छ । समय र अवसर जुर्‍यो भने यहाँ पनि छिटै पुग्छु ।
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App