७ वैशाख २०८१ शुक्रबार
अन्य

अब घर पनि स्मार्ट | ट्रेन्ड

प्रविधिको अभूतपूर्व विकास र प्रगतिले गर्दा आज भोलि मोबाइल, टि.भी. र गाडी मात्र स्मार्ट नभई घर पनि स्मार्ट हुन थालेको छ । अझ राम्रोसंग भन्नुपर्दा घरमा प्रयोग हुने विविध विद्युतीय उपकरणहरु पनि इन्टरनेटमा जोडिन सक्ने भएका छन् र कतिपय कुराहरु मानिसको निरन्तर सहायता बिना नै पूरा गर्न सक्ने भएका छन् । यस्ता सबै स्मार्ट विद्युतीय उपकरणहरुको तालमेल र सही प्रयोगबाट तपाईंले पनि आफ्नो घर स्मार्ट बनाउन सक्नुहुन्छ । नेपालमा उपलब्ध भएका र नेपालमा उपलब्ध नभए पनि विश्वभरि नै प्रचलित केही स्मार्ट घरका उपकरणको बारेमा जानकारी यस लेखमा दिईएको छ। 

स्मार्ट लाइट - ''ताकी लाइटबाट कहिल्यै पनि अनावश्यक उर्जा खेर नहोस् ''

स्मार्ट लाइटको प्रयोगबाट तपाईंले अब कहिल्यै पनि बत्ती निभाउन र बाल्नलाई सम्झनु पर्दैन किन कि स्मार्ट लाइटहरु तपाईं घर बाहिर जादा स्वतः बन्द हुन्छ भने तपाईं घर फिर्ता आउदा आफै सुचारु हुन्छ । यी लाइटहरुलाई  तपाईंले घर को वाई फाईमा जोडेर आफू घरमा नभएको बेलामा पनि सो लाइटहरुलाई सम्बन्धित एपको प्रयोगबाट  नियन्त्रण गर्न सक्नुहुन्छ । स्मार्ट लाइटहरु सबै LEDले बनेको हुनाले यसको विद्युत खपत पनि निकै कम हुन्छ । स्मार्ट लाइटले समयको आधारमा लाइटको चहकलाई स्वतः बढाउन र घटाउन सक्छ । कुनै कुनै स्मार्ट लाइटलाई भने बोलेर नै प्रयोग गर्न सकिन्छ । फिलिप्सको ह्यु स्मार्ट लाइट, सामसुंगको स्मार्टथिन्ग्स आदि भने यसका उदाहरणहरु हुन् ।

 

स्मार्ट थर्मोस्ट्याट - ''अटोमेटिक कोठाको तापक्रम नियन्त्रण ''

स्मार्ट थर्मोस्ट्याटको प्रयोगबाट घरको कोठाको तापक्रम निगरानी गर्न र आवश्यकता अनुसार तापक्रमलाई हेरफेर गर्न सकिन्छ । यसमा समय तालिका सेट गरेर दिन र रातको समयको आधारमा कोठाको तापक्रम परिवर्तन हुनमिल्ने बनाउन मिल्छ । यिनीहरु पनि इन्टरनेट मै जडित हुने भएकाले स्मार्ट थर्मोस्ट्याटको सम्बन्धित मोबाइलको एपको प्रयोगबाट आफू घरमा नभए पनि कोठाको तापक्रम घटाउन वा बढाउन मिल्छ । यसले तपाईंको कोठाको एअर कन्डिस्नरलाई पनि नियन्त्रण गर्न सक्छ । सबैभन्दा प्रचलित स्मार्ट थर्मोस्ट्याट हो नेस्टको लर्निंग थर्मोस्ट्याट । लर्निंग स्मार्ट थर्मोस्ट्याटले घर कति बेला खाली हुन्छ, कति बेला घरमा धेरै मान्छे हुन्छन्, बाहिरको तापक्रम कति छ आदि जस्ता कुराहरु ध्यानमा राखेर कोठा तातो कि चिसो बनाउन सक्छ ।

 

स्मार्ट लक - '' सुरक्षा पनि र सुविधा पनि ''

साधारण लकमा जस्तै स्मार्ट लकमा पनि दुइ वटा चिज हुन्छन् : साचों र ताला । स्मार्ट लकमा चाहिँ ताला विद्युतीय हुन्छ र साचों तपाईं आफैँ कि त तपाईंको स्मार्टफोन । यसले तपाईंको स्मार्टफोन र ताला बीच  वायर लेस संचार गरेर तालालाई अनलक गरिदिन्छ । अर्थात्, कुनै अपरिचितले तपाईंको लक खोल्न सक्दैन । लकलाई जबर्जस्ती फोड्न या बिगार्न खोजिएको खण्डमा उक्त लकले घरधनीको स्मार्टफोनमा आफै इमर्जेन्सी अलर्ट पठाउछ । यदि स्मार्ट लकसंगै क्यामेरा पनि जडान गरिएको छ भने उक्त जबर्जस्ती फोड्न खोज्ने व्यक्तिको तस्विर पनि खिचेर राख्छ । कुनै कुनै स्मार्ट लकमा भने फिंगर प्रिन्ट स्क्यानर राखिएको हुन्छ । अर्थात्, घर परिवारले मात्र सो लक खोल्न सक्छन । यस्ता स्मार्ट लकको प्रयोगबाट तपाईं चोरीबाट र साचों बोक्ने अनि हराउने झन्झटबाट टाढा हुन सक्नुहुन्छ । अगस्ट स्मार्ट लक, ड़ानालक, रिमोटलक आदि भने चर्चित स्मार्टलकहरु हुन् ।

 

स्मार्ट स्पिकर - '' किन कि गीतमात्र बज्ने स्पिकर पुराना भईसके ''

हुन त स्मार्ट स्पिकर एउटा सामान्य स्पिकर नै हो तर यसमा इन्टरनेट कनेक्सन हुन्छ र स्मार्ट असिस्टेन्ट पनि हुन्छ । उक्त स्मार्ट असिस्टेन्टको सहायताबाट तपाईंले स्पिकरलाई विविध कार्यहरुका लागि प्रयोग गर्न सक्नुहुन्छ । यस स्पिकरबाट गीत सुन्ने जस्ता स्पिकरको साधारण काम देखि कसैलाई कल गर्ने, तपाईंलाई केही प्लान वा योजनाको बारेमा स्मरण गर्ने, टाइमर सेट गर्ने, अलार्म राख्ने, मौसमको बारेमा जानकारी लिने, प्रश्नोत्तर गर्ने आदि जस्ता जटिल कामहरु पनि गर्न मिल्छ। यसका साथ साथै यिनीहरुबाट सिधै अनलाइन सामानहरु खरिद गर्न सकिन्छ । यसबाट घरमा भएका अन्य स्मार्ट उपकरणहरु, जस्तै स्मार्ट लक, स्मार्ट टि.भी., स्मार्ट लाइट आदिहरु पनि नियन्त्रण गर्न सकिन्छ । अमेजनको एलेक्सा, गूगलको गूगल होम, माइक्रोसफ्टको कोर्टाना भएको स्पिकर र एप्पलको सिरी भएको होमपड अहिलेको सबैभन्दा चर्चामा रहेको स्मार्ट स्पिकरहरु हुन् ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App