८ वैशाख २०८१ शनिबार
खेल

सुरक्षित बनाउन पुटिनको निर्देशन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका समर्थकले हूलदंगा गरेको विषय स्मरण गर्दै विश्वकपको सुरक्षित आयोजना देशको छविका लागि अत्यावश्यक भएको बताएका छन्।

बुधबार सुरक्षाकर्मीलाई सम्बोधन गर्ने क्रममा पुटिनले पहिलो पटक विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता आयोजनाको अवसर पाउँदा अहिलेसम्मकै सबभन्दा सफल र सुरक्षित रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । ‘हामीले खासगरी खेलाडी र समर्थकको सुरक्षामा सबभन्दा बढी सचेत हुनु जरुरी छ,’ पुटिनले सुरक्षाकर्मीहरूसँग भने, ‘पक्कै पनि यसमा तपाईंहरूको भूमिका सबभन्दा महत्वपूर्ण हुन्छ । कानुनअनुसार तपार्इंहरूले आफ्नो काममा कुनै कसर छोड्नुहुन्न भन्नेमा म विश्वस्त छु । यो प्रतियोगिता कसरी सम्पन्न भयो भन्ने विषयले हाम्रो पूरा देश र तपाईंहरूको पनि छवि विश्वमाझ प्रस्तुत गर्नेछ । त्यसैले देशको छवि तपाईंहरूको कामले निर्धारण गर्नेछ।’

स्पेनमा स्पार्टक मस्कोका समर्थकले एक पुलिसको मृत्यु हुने गरी हूलदंगा मच्चाउनाका बावजुद विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार विश्वकपलाई पूर्ण रूपमा सुरक्षित ढंगले सम्पन्न गर्न रूस सक्षम रहेको भन्दै विश्वास व्यक्त गरेको थियो ।  

जुन १४ देखि जुलाई १५ सम्म हुने विश्वकपका लागि रूसले सहभागी विभिन्न ३२ देशका टिम तथा समर्थकलाई विभिन्न ११ सहरमा आतिथ्य प्रदान गर्नेछ । रूसले विश्वकपका लागि ३१ टिमलाई निम्त्याउने तयारी गरिरहँदा २०१६ जुनमा युरोपियन च्याम्पियनसिप दौरान फ्रान्सको मार्सेमा रूसी समर्थकले मच्चाएको वितण्डा अहिले टाउको दुखाइ बनिरहेको छ ।आफ्ना समर्थकबाट हुल्याहा व्यवहार हुन सक्ने अनुमानमा रूसले फुटबलमा हूलदंगा मच्चाउने थुप्रै हुल्याहा समूहको पहिचान गरिसकेको छ ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App