८ वैशाख २०८१ शनिबार
अर्थ

मध्यमर्स्याङ्दीको मर्मत सकियो, विद्युत् उत्पादन शुरु

काठमाडौं – लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देब्रेतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ। 

आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई विहीबार साँझ १८ः३० बजेबाट विद्युत् उत्पादन पुनःशुरु गरिएको छ। प्राधिकरणले मर्मत कार्य सम्पन्न गर्न १० दिन लाग्ने बताएको थियो। मर्मत यही फागुन ११ गतेदेखि शुरु भएको हो। 

आयोजनाको बाँधको देब्रेतर्फको क्षेत्रमा भू–क्षयलाई रोक्न राखिएको संरचनाको मर्मत गत शुक्रबारदेखि शुरु गरिएको थियो। 

वर्षात्को पानीले हिर्काएर क्षति पुगेको ठाउँमा थप क्षति हुनबाट रोक्न पर्खाल लगाइएको प्रमुख गौतमले जानकारी दिए। मर्मतका क्रममा दैनिक ४०० मजदुर परिचालन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रले विहीबार साँझसम्म मात्रै आयोजना बन्द गर्न स्वीकृति दिएको थियो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक हरराज न्यौपानले गत शनिबार केन्द्रको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा मर्मतको काम सक्न निर्देशन दिएका थिए। 

आयोजना प्रमुख गौतमका अनुसार आज आयोजनाले २८ मेगावाट विद्युत् उत्पादन गरेको छ। आयोजनाको एउटा मात्रै मेशिन चलाइएको छ। अर्को मेशिन यही फागुन २३ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ। 

विद्युत्को माग बढी हुने साँझ र बिहानको समयमा ७० मेगावाट विद्युत् उत्पादन हुने मध्यमर्स्याङ्दी बन्द हुँदा प्राधिकरणले कुलेखानीका दुवै आयोजना सञ्चालन गर्नुपरेको थियो। 

मध्यमर्स्याङ्दी बन्द हुँदा प्रणालीमा कुनै समस्या नआएको र विद्युत् आपूर्ति अवरुद्ध नभएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। आयोजना बन्द हुँदा कुलेखानीको दुवै आयोजनाबाट ९२ मेगावाट विद्युत् उत्पादन गरेर भार व्यवस्थापन गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। 

प्रकाशित: १७ फाल्गुन २०७४ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App