६ वैशाख २०८१ बिहीबार
समाज

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

धनगढी – अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुकुर थपिने छन्। 

यसअघि प्रदेश ७ मा तालिम प्राप्त कुृकुर थिएन। बिशेष घटनामा नेपालगञ्जबाट कुकुर ल्याउने गरिएको थियो। क्याम्पस रोडमा बृद्ध बृद्धा हत्या भएको घटनाको अनुसन्धान गर्न र गत मंसिरमा भएको निर्वाचनका बेला नेपालगञ्जबाट कुकुर ल्याइएको थियो। 

कुकुरसंग मान्छेभन्दा ५० गुना बढी सुघ्न सक्ने, २० गुना बढी सुन्न सक्ने र ६ गुना बढी देख्न सक्ने क्षमता हुने तालिम प्राप्त कुकुरसँगै १४ बर्षदेखि कार्यरत प्रहरी सहायक निरीक्षक मदन गुरुङले बताए। ‘यही बिशेष क्षमताका आधारमा मान्छेले पत्ता लगाउन नसक्ने कुरा पनि कुकुरले पत्ता लगाउन सक्छ’, उनले भने। 

मान्छेको शरीरबाट प्रत्येक मिनेटमा हजारौं कोषिका छुटिरहेको हुनाले कुकुरले घटनास्थलबाट घटना घटाएर हिडेको मान्छेको बाटो पछ्याएर अपराधीसम्म पुग्न सक्ने उनको भनाई छ। ‘त्यसैले घटना घटेपछि त्यहाँ अन्य व्यक्ति जानुहुँदैन्’, उनले भने।

बिहीवार कुकुर शाखा उद्घाटनका अवसरमा तालिम प्राप्त कृुकुरले स्पोटमा छोडिएको नकावलाई सुघेर त्यो प्रयोग गरेको व्यक्ति हिडेको बाटोलाई पछ्याउदै व्यक्तिलाई पत्ता लगाउन सफल भएको अभ्यास देखाइएको थियो। ट्रयाकर पत्ता लागउने तालिम प्राप्त कुृकुरलाई शुरुमा घटनास्थल अथवा ठाउँमा फेला परेको कुरालाई राम्रोसँग सुघ्न लगाइन्छ। कुकुरले राम्रोसँग सुघिसकेपछि सुघिसकेको इशारा दिन्छ। सुघाइसकेपछि कुकुरलाई शरीरमा फिता पहिर्याईन्छ। ‘यो फिता (पोशाक) पहिर्याएपछि कुकुरले आफ्नो ड्युटी शुरु भएको बुझ्छ,’ सहायक निरीक्षक गुरुङले भने– ‘गन्ध पत्ता लगाउँदै कुकुर त्यो व्यक्ति गएको बाटो पछ्याउँदै अपराधीसम्म पुग्ने गर्छ।’ 

अपराधी गएको वाटो पत्ता लगाएर अपराधीसम्म पुग्ने ट्रयाकर, विष्फोटक पदार्थ पत्ता लगाउने २ वटा र लागुऔषध पत्ता लगाउने गरी ४ तालिम प्राप्त कुकुर शाखामा राखिएका छन्।  तुफान, राजा, फुच्चे र झुप्पा नामका ४ कुकुर छन्। 

यसैगरी माटोमुनी पुरिएको मान्छे पत्ता लगाउने तालिम प्राप्त कुकुर केही दिनमा आउने छ। दैवी प्रकोपका बेला वा अन्य कारणले माटो मुनी पुरिएका मान्छे पत्ता लगाउने कुकुर आउन बाँकी रहेको गुरुङले बताए। करिब २ बर्षको तालिम प्राप्त कुकुरलाई यहाँ आएका छन्। 

मान्छेले पत्ता लगाउन नसकेका ठुल ठुला घटनामा नेपालमै पनि कुकुर सफल भएका उदाहरण छन। २०६४ साल ६ महिना १८ गते वेपत्ता पारिएका बाराका पत्रकार वीरेन्द्र शाहको कंकाल २०६४ साल ७ महिना २२ गते तालिम प्राप्त कुकुरले नै पत्ता लगाएको गुरुङ बताउछन। यसैगरी २०७० माघ १० गते रसुवामा पुरिएका इन्जिनियरको शव पनि ४ दिनपछि तालिम प्राप्त कुकुरले नै पत्ता लगाएको उनको भनाई छ। भूकम्पका बेला संरचना मुनी दविएका व्यक्तीको उद्दारका लागि चाइना, भारत लगायतबाट पनि तालिम प्राप्त कुकुर नै नेपाल ल्याइएका थिए। घटना घटाएको व्यक्ती हिडेको बाटो पछ्याउदै गएको कुकुरले अपराधी देखेपछि समात्ने गर्छ। ‘लागुऔषध पत्ता लगाउने कुकुरले लागुऔषध भएमा कोतर्ने र भुक्ने गर्छ भने बिष्फोटक पदार्थ पत्ता लगाउने कुकुर त्यहाँ गएर चुपचाप बस्छ’, उनले भने। बिष्फोटक पदार्थ बिष्फोटन हुनसक्ने भएकाले चुपचाप बस्ने गर्छ। काठमाडौंमा ५६ तालिम प्राप्त कुकुर प्रत्येक प्रदेशमा ५ देखि ७ कुकुर रहेको उनले बताए।

तालिम प्राप्त कुकुर राख्न करिब ५९ लाखमा ९ कोटे भवन निर्माण गरिएको छ। कुकुर शाखाको एक समारोहका बीच प्रदेश ७ प्रहरी मुख्यालयका प्रमुख नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक माधव नेपालले उद्घाटन गरेका छन्। यो शाखा स्थापनासंगै अपराध नियन्त्रण र शान्ति सुरक्षामा सघाउ पुग्ने उनको भनाई छ। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले लागुऔषध नियन्त्रणमा सहयोग पुग्ने बताए। धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले अस्थायी राजधानीसँगै अपराध नियन्त्रण र शान्ति सुरक्षाको चुनौती बढेकाले तालिम प्राप्त कुकुरको शाखा राखिनु सकरात्मक भएको बताए। जनताको सुरक्षा र अपराध नियन्त्रणका लागी धनगढी उपमहानगरपालिकाले पनि सघाउने उनको भनाई छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App