coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बजारका राजाको बेहाल

बजार शास्त्रको सिद्धान्तअनुसार उपभोक्ता राजा हो। यी राजारूपी उपभोक्तालाई संसारभरिको बजारले उच्चकोटीको व्यवहार गर्छ। तिनीहरू कुनै अर्थमा पनि नउतर्सिऊन् भन्नेतर्फ बजार व्यवस्थाका गुरुहरू सक्रिय हुन्छन्। तिनलाई आकर्षित गर्न एकसेएक रणनीति तयार पारिन्छ। नेपाली सन्दर्भमा भने उपभोक्ता सबैभन्दा उपेक्षित वर्ग हो, जसले आफ्नो पसिनाको कमाइ तिरेर पनि स्वस्थकर वस्तु उपभोग गर्न पाउँदैन! उपभोक्ताको अवस्था पैसा पनि गुमाउने र ठगिने स्थितिमा पुगेको छ। हाम्रो बजारको अनुगमन मौसमी हुन्छ। चाँडबाड आउन लागेका बेला वा नयाँ हाकिम आएपछि काम देखाउनलाई अनुगमनको तिलस्मी नाटक रचिन्छ। बजारमा धुमधाम ढोल पिटिन्छ– लौ फलाना ठाउँमा सिल गरियो, फलानाफलाना कारबाहीको घेरामा। अझ एक कदम अघि बढेर समाचार शीर्षक बन्छन्– बजारमा १० प्रतिशत अखाद्य वस्तु। स्वामी विवेकानन्दले भनेका छन्– 'स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको बास हुन्छ।' स्वस्थ शरीर हुनका लागि स्वस्थ खानेकुरा खानुपर्छ। भनिन्छ– जस्तो अन्न उस्तै मन। तर, दुषित खाद्यान्न खाएपछि त्यसले कालान्तरमा सिंगो समाजलाई बिरामी बनाउनेछ। त्यसैकारण धेरैजसो मुलुकले खाद्यवस्तुको गुणस्तरमा विशेष ध्यान दिएका हुन्छन्।

खाद्य तथा गुण नियन्त्रण विभागले बजारबाट संकलन गरेका नमूना परीक्षण गर्दा बजारमा बिक्री–वितरण हुने दैनिक उपभोग्य वस्तुमध्ये १० प्रतिशत अखाद्य पाइएका छन्। विभागले संकलन गरेका २ हजार १ सय २० नमूनामध्ये २ सय २ अखाद्य रहेको पुष्टि भएको हो। यसरी संकलन गरिएका खाद्य पदार्थमा दैनिक उपभोगका तरकारी, फलफूल, पेय पदार्थ, तेल, पानी, चाउचाउ, चिया, मसला, चामल, क्यान्डी, दूध, मिठाइ, पाउरोटी, मसला, दाल, बेसन, बिस्कुट, भुजियालगायत छन्। प्रायः विभागका अधिकारी वा अनुगमनकर्ताको जवाफ हुने गरेको छ– कसिलो कानुन नहुँदा गुणस्तरहीन सामान उत्पादन तथा बेचविखन गर्नेले उन्मुक्ति पाउँछन्। स्वदेशी उत्पादनमात्र होइन विदेशबाट आयात हुने सामग्रीसमेत गुणस्तरहीन हुने गरेको पाइएको छ। वास्तवमा खाद्यान्नमात्र होइन अन्य सामग्रीसमेत गुणस्तरयुक्त छैनन्। सर्वसाधारणले खान जाने रेस्टुराँ तथा होटलको अवस्था पनि गएगुज्रेको छ। यस्ता ठाउँमा गएर खाना खाँदा कुनै न कुनै स्वास्थ्य समस्या उत्पन्न हुन्छ। विषाक्त खाद्यान्नका कारण बिरामी नपर्ने कमै हुन्छन्। यो अनुभव घरघरमा गरिएको छ। अहिले बजारमा विषादियुक्त तरकारीको भरमार छ। घरघरमा यसको चर्चा हुन्छ। तर, यो समस्याको निराकरणतर्फ सरकारले ठोस कदम चाल्न सकेको छैन।

यस्तो समस्याको समाधान कानुनले मात्र गर्न सक्दैन। व्यक्ति आफैमा पनि उच्च नैतिक चरित्र हुनुपर्छ। अरुले पैसा हालेर किनेको सामग्री उपभोग योग्य हुनुपर्छ भन्नेमा सम्बन्धित बिक्रेता वा आपूर्तिकर्ता सचेत हुनुपर्छ। खाना वा मिठाइ बेच्नेहरूले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसका लागि धेरै खर्च लाग्दैन। अंग्रेजीमा एउटा भनाइ छ– क्लिनलीनेस इज नेक्स्ट टु गड्लीनेस। अर्थात् सरसफाइ भगवान्बराबर हुन्छ। सरसफाइमा ध्यान दिने हो भने अहिले बजारले जुन तहमा आर्थिक गतिविधि गरिरहेको छ, त्यसमा बढोत्तरी हुनेछ। त्यतिमात्र होइन ससाना खाना खाने ठाउँ र उत्पादकहरूले समेत बजारको राम्रो अंश हासिल गर्न सक्छन्। अचेल स्वास्थ्यप्रति सचेत मानिसले जथाभावी खानै छाडेका छन्। यसले अन्ततोगत्वा ससानो व्यवसाय गरीखानेलाई नोक्सान गरेको छ। बजार अनुगमनलाई चुस्त पारेर सरकारले उपभोक्तालाई विश्वास दिन सक्ने अवस्था सिर्जना गर्नुपर्छ। 'कस्मेटिक' किसिमको अनुगमनले मात्र हाम्रो अहिले बिग्रेको अवस्थामा सुधार आउँदैन। बजार अनुगमनका निम्ति जनशक्ति नपुग्ने हो भने नयाँ भर्ना गरे हुन्छ। बजारमा काम गर्न सक्ने जनशक्ति अवसरको प्रतीक्षामा छ। निश्चय पनि बजारका निम्ति कानुनी र नैतिक बन्धन दुवै चाहिन्छ। त्योभन्दा बढ्ता बजारलाई सुधार्न उपभोक्त स्वयं पनि सचेत हुनुपर्छ। कुनै उपभोक्ता पहिलोपटक ठगिन्छ भने त्यो बिक्रेताको गल्ती हो, तर त्यही बिक्रेताबाट पटकपटक ठगिन्छ भने त्यो उपभोक्ताको कमजोरी हो। अतः उपभोक्ता आफै बजारको राजा हुने हो भने पटकपटकको यो ठगाइप्रति सचेत हुनुपर्छ। सरकारले पनि उपभोक्ता हितकारी नियमहरू ल्याउन सक्नुपर्छ। बजार अनुगमनका नाममा गरिने मौसमी अनुगमन र जसको अनुगमन गर्ने हो त्यसैलाई अग्रिम जानकारी दिएर गरिने अनुगमनले यथार्थमै कुनै परिणाम दिन सक्दैन।   

प्रकाशित: २ भाद्र २०७३ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App