८ वैशाख २०८१ शनिबार
समाज

मुग्लिन सडकमा क्यान्टी लिभर नराखिने

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ। 

सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न कठिन भएपछि घरमा बार्दलीजस्तो बनाएर सडक चौडा बनाउने प्रविधि (क्यान्टी लिभर) राख्ने योजना प्रस्ताव गरिएको थियो । 

मुग्लिनबाट नारायणगढतर्फ ८०० मिटरदेखि एककिलोमिटर ३०० मिटरसम्मको ५०० मिटर लम्बाइको नौ ठाउँमा १२३ मिटर लम्बाइमा क्यान्टी लिभर राख्ने तयारी गरिएको थियो। ती ठाउँमा शुरुमा सडक पाँच दशमलव पाँचदेखि छ मिटरसम्म फराकिलो थियो। भित्तो काटेर हाल सात दशमलव पाँच मिटरसम्म फराकिलो भएको छ। सम्झौताअनुसार ती ठाउँमा सडक नौ मिटर फराकिलो बनाउनु पर्ने हुन्छ। 

ठेकेदार कम्पनी सुप्रिम रौताहा जेभिले क्यान्टी लिभर राख्न अस्वभाविक रुपमा थप रकम माग गरेपछि सो तयारी असफल भएको हो। सो क्षेत्रमा सडक चौडा गर्न परामर्शदाता कम्पनीले तीनवटा विकल्प दिएको नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनाल बताउँछन्। 

पहिलो विकल्प क्यान्टी लिभर, दोस्रो विकल्प नियन्त्रित विस्फोट गराएर भित्तो काट्ने र तेस्रो विकल्प आठ मिटर सडक चौडा गर्ने रहेको थियो। ठेकेदार कम्पनीले तेस्रो विकल्प रोज्दै क्यान्टी लिभर राख्ने भए रु छ करोड थप रकम माग गरेको आयोजनाले जनाएको छ। त्यति ठूलो रकम मापदण्डअनुसार दिन नमिल्ने खनालले बताए। 

आयोजना सम्झौता गरिएअनुसार नौ मिटर फराकिलो बनाउनु पर्छ भन्ने पक्षमा रहेको छ भने विभागका उच्च कर्मचारीलाई प्रभावमा पारेर आठ मिटर मात्र सडक फराकिलो वनाउन ठेकेदार कम्पनी लागि परेको छ। सडक सम्झौता गरेअनुसार फराकिलो बनाउनु पर्ने अडान लिँदै आएको सो आयोजनाका प्रमुख इन्जिनियर चन्द्रनारायण यादव निवृत्त भएसँगै क्यान्टी लिभर राख्ने कुरा हराएको छ भने सडक आठ मिटर कायम गरेर काम सम्पन्न गर्ने तयारी गरिएको छ। 

सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठ क्यान्टी लिभर राख्ने भनिएका ठाउँको सडकमुनि खोक्रो भएकाले क्यान्टी लिभर राख्न काट्दा बाटो भाँसिएर चार मिटरमा कायम हुनसक्ने खतरा रहेको बताउँछन्। नियन्त्रित विस्फोट गर्दा पनि १०० मिटर माथिबाट काट्दै आउनु पर्ने भएकाले समस्या उत्पन्न भएको उनको भनाइ छ। उनले ८ दशमलव दुई मिटरसम्म फराकिलो गर्नसक्ने भएकाले क्यान्टी लिभर र भित्तो काट्ने काम आवश्यक नभएको बताए। 

आयोजनाका प्राविधिक भने सडकको सो भागको ठेक्का रकम मात्र रु एक अर्ब ३० करोड भएकाले ठेकेदारलाई काम नै नगरी उन्मुक्ति दिन नहुने बताउँछन्। एक इञ्जिनियरले भने, ‘एउटा गाडी बिग्रँदा अरु दुई गाडी आवतजावत गर्नका लागि नौ मिटर चाहिन्छ। यो अडान लिने प्रमुख निवृत्त भएकाले विभागलाई प्रभावमा पारेर ठेकेदार कम्पनी उम्किन खोज्दै छ।’ 

ठेकेदार कम्पनीका प्रबन्धक शिशिर कन्दङ्वाले सो सडकको ५० मिटर भागमा बाहेक अन्यत्र नौ मिटर फराकिलो हुने भएकाले क्यान्टी लिभर र नियन्त्रित विस्फोट गराएर सो ठाउँमा भित्तो काट्न नपर्ने बताए। सोही खण्डको चेपाङ डाँडामा भने नियन्त्रित विस्फोट गराएर भित्तो काट्नु पर्ने ठेकेदार कम्पनीले माग गर्दै आएको छ। 

आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खानल सो ठाउँमा ३०० मिटर लम्बाइमा भित्तो काट्नु पर्ने बताउँछन्। त्यहाँ पहाड ४४ मिटर अग्लो रहेको छ। एक वर्ष अघिदेखि भित्तो काट्दै आएको भए पनि उपलब्धि हुन नसकेको उनको भनाइ छ। सो ठाउँमा पनि नियन्त्रित विस्फोट गराउने कुरामा आयोजना र विभाग सकारात्मक रहेको छ। उक्त सडकको आँपटारीबाट १६ किलोमिटर मुग्लिनतर्फसम्म ११ मिटर र त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाउने सम्झौता रहेको छ। सन् २०१५ को अप्रिलबाट दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको सो सडकको काम हालसम्म ७६ दशमलव ५ प्रतिशत मात्र सम्पन्न भएको छ। रासस

प्रकाशित: १७ फाल्गुन २०७४ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App