७ वैशाख २०८१ शुक्रबार
विचार

ओली गफ र ओली हठ

केही पत्रकार, कलाकार, स्तम्भ लेखक, राजनीतिज्ञ, राजनीतिक विश्लेषक र समाजप्रति कुनै जिम्मेवारीबोध नगर्ने गफाडीहरू पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीलाई हावादारी कुरा गर्ने मान्छेको रुपमा प्रस्तुत गरिरहेछन्। मानौँ कि उनी कुनै क्षमता बेगर हावादारी गफ गर्दै अचानक यो देशको एकजना उच्च आशालाग्दा राजनेता हुन आइपुगेका हुन्। तर विचरा उनीहरूलाई ओली र एमालेसँगै मुलुकको भविष्य पनि धरापमा पर्दै गएको अर्थात् ओलीको बहिर्गमनसँगै नेपालको संविधानलाई मधेसवादी दलहरूमार्फत् उनीहरूको अनुकूल बनाउने र त्यसो नगरिए संविधान खारेज नै गरी नेपाललाई अराजकतातर्फ धकेल्ने भारतको पुरानै योजना जनतासामु आइसकेको कुरातर्फ होशै छैन। हुन त मान्छेका असल र खराब पक्षका बारेमा सन्तुलित ढङ्गले कुरा गर्नुपर्छ भन्ने सामान्य चेतना नै नभएकाहरूलाई होश हुने कुरै पनि भएन।  

अब एक छिन हावादारी कुराका बारेमा कुरा गरिहेरौँ। वास्तवमा के ओलीले हावादारी कुरै गरेका थिए त? काठमाडौं निजगढ फास्ट ट्र्याक निर्माण, शैक्षिक प्रमाणपत्रका आधारमा युवालाई ऋण, आन्तरिक तथा बाह्य रेल सञ्जाल, भारतीय हस्तक्षेप र नाकाबन्दीको सशक्त प्रतिरोध र सामना, तुइन विस्थापन, निःशुल्क किड्नी डायलासिस्, संविधानको कार्यान्वयनमा नेतृत्व, सामाजिक सुरक्षा भत्तामा वृद्धि, स्थानीय निकायमा बजेट वृद्धि, चीनसँगको पारवहन सम्झौता आदि जस्ता योजनाहरू सबै हावादारी नै थिए?

त्यसो हो भने चन्द्रमामा रकेट पुर्‍याउने योजना हावादारी थियो र रकेट पुर्‍याएको कुरा पनि हावादारी नै थियो। त्यसो हो, भने स्वीट्जरल्याण्डमा हावाबाट विद्युत उत्पादन गरिएको कुरा पनि हावा हो। त्यसो हो भने, विकसित मुलुकमा घरघरमा ग्यासको पाइप जोड्ने कुरा पनि हावादारी नै हो किनकि त्यस्तो कुरा ओलीले गरे। त्यसो हो भने, नेपालको झण्डा बोकेको पानी जहाज पहिले पनि थियो अब फेरि सुचारु गर्ने कुरा पनि हावा नै थियो आदि।

ओलीका केही कमजोरीका साथमा यस्ता धेरै राम्रा कुराहरू थिए, तर सबै राम्रा कुराको विरुद्धमा नेपालका अविवेकी राजनीतिज्ञहरू, ओलीको डाह गर्नेहरू, सही र सत्य कुरा बोल्नै नसक्ने वा त्यसको फेद टुप्पै समात्न नसक्ने केही बुद्धिहीन बुद्धिजीवीहरू, सधैँ अरुकै दास भई बाँचेका कथित राष्ट्रवादीहरू र भारतीय शासकको खेताला काम गरिरहेका जनघाती र राष्ट्रघातीहरूले तिनलाई हावा भनिदिए। त्यसो भन्नेहरूको अर्थमा अब नेपालमा कसैले पनि म यसो गर्छु उसो गर्छु नभन्नुपर्ने भयो? किनकि त्यो हावादारी हुन्छ। अब प्रचण्डले पनि यसो गर्छु, उसो गर्छु भन्नै भएन। कि त ओलीले पहिले नै गर्न थालिसकेका कामहरू नयाँ काम गर्न थालेँ भन्दै प्रचण्डले दोहोर्‍याएजस्तै गरिरहनुपर्‍यो। त्यो हावादारी हुँदैन। भए पनि त्यो त ओलीले गरेको हावादारी काम न हो तर्किने ठाउँ रहन्छ। प्रचण्डले त हावादारी काम गर्नु परेन नि! तर काम त्यसरी दोहोरिनुमा प्रचण्डको कुनै दोष छैन। दोष त मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारीहरूको थियो। किनकि उनीहरूले प्रचण्ड नामको मान्छेलाई यस्ता काम कुराहरू थाहा हुँदैन भन्ने कुरा पहिले नै जानेर चाहिँदो काम मात्र गर्न सुझाउनु पर्दथ्यो। त्यसो गरिएन अनि प्रचण्डलाई लाजमर्दो त हुने नै भयो नि! 

आजभोलि अचम्मको सन्नाटा छाएको छ। अरु त अरु नै भए, राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीको सरकार फेर्नैपर्छ भनिरहेका एमालेकै नेताहरूसमेत राष्ट्रिय सहमतिको सरकार नबन्दासमेत सञ्चोका साथ बसिरहेका छन्। मानौँ कि राष्ट्रिय सहमतिको सरकार बनिसक्यो। ओलीइतर एमाले नेताहरूको यो मौनताले राष्ट्रिय सहमतिको सरकारको नारा त ओलीलाई कुर्सीबाट झार्नु मात्र रहेछ भन्नेतर्फ सङ्केत गरिरहेको छ। ओलीलाई झार्नु थियो झारियो अब काम सकियो भन्ने अर्थ लागिरहेको छ। नत्र राष्ट्रिय सहमतिको सरकारको पक्षमा पहिलेभन्दा झनै चर्कोरुपमा आवाज उठ्नुपर्ने होइन र? अनि, राष्ट्रिय सहमतिको सरकारको कुरा गरेर नथाक्नेहरूले जनताले यस्ता प्रश्नहरू गर्छन् नै भन्ने पूर्वानुमान गर्नु पर्दैन? मलाई लाग्छ निःस्वार्थ रुपमा सोच्नेहरूले यस्ता कुरालाई बेलैमा अनुमान गर्न सक्छन् तर ओलीलाई कुर्सीबाट नझारी नहुने, भारतीय शासकको दलाली गरेर प्रधानमन्त्री नभई नसक्ने, भारतीय स्वार्थलाई नेपाली चूलोमा स्थापना गराएर त्यसको साँझ बिहानको आशीर्वादले नेपालमा शासन गर्न खोज्नेहरूले यो कुरातर्फ सोच्ने कुरै थिएन र सोचेनन्।

सारमा, राष्ट्रिय सहमतिको सरकारको कुरा भारतीय उक्साहटमा आफ्ना आज्ञाकारी शिष्यहरूमार्फत् उठाइएको नारा थियो भन्ने कुरा नेपाली जनतालाई पहिल्यै थाहा थियो। र, उनीहरूलाई राष्ट्रिय सहमतिको सरकार नबन्ने पक्का हुँदाहुँदै पनि एमालेका केही ठूला नेताहरुले त्यस पक्षमा लागेर गैर एमालेभन्दा बढी चर्को राष्ट्रिय सहमतिको सरकारको पक्षमा वकालत गरेको घटनालाई चासो मानेर शङ्कालु आँखाले हेर्दै पनि थिए। आज उनीहरू नै एमालेको सरकार ओलीको हठका कारण ढल्यो र वाम गठबन्धन टुट्यो भन्दै ओलीलाई गलत साबित गर्ने प्रयत्न गरिरहेका छन्।

यस्ता कुरा गर्नेहरूसँग मेरा केही जिज्ञासाहरू यस्ता छन्ः

– नेपाली जनतालाई राम्रो थाहा छ, ओली सरकार ढल्नुमा भारतीय विस्तारवादको हात छ। यस्तो नाङ्गो सत्यलाई कसरी मोडेर ओलीको हठका कारण भन्न सकिन्छ? यस कुराले त भारतीय शासकहरूको बचाव नै भएन र? के ओलीको हठलाई सरकार ढल्नुको कारण बताएर त्यही गर्न खोजिएको हो? अर्थात् भारतीय शासकको हात छैन भन्न खोजिएको हो?

– ओलीले भद्र सहमतिअनुसार प्रचण्डलाई प्रधानमन्त्री पद सुम्पनु पर्दथ्यो ओलीले हठ गरे सुम्पेनन् अनि वामगठबन्धन टुट्यो र सरकार ढल्यो रे! हो, प्रचण्ड भारतीय षडयन्त्रमा सामेल नभएको अवस्था र भद्र सहमति भएकै थियो भने सहमति कार्यान्वयन गर्नैपर्थ्यो र वाम गठबन्धनले निरन्तरता पाउनैपर्थ्यो। तर म जान्न चाहन्छु, के बिना कारण ओली सरकार ढाल्नलाई दिल्लीमा योजना बनाउने प्रचण्डलाई सरकार सुम्पनु हुन्थ्यो? हुँदैनथ्यो। त्यसरी सरकार सुम्पनु र यसरी सुम्पनुमा भिन्नता छ। त्यसरी सरकार सुम्पनु भनेको भारतीय शासकको योजना मुताबिक चल्नु हो भने यसरी ढल्नु भनेको भारतको हेपाहा प्रवृत्तिको विरुद्धमा लडेर नेपाली शिर र स्वाभिमानको रक्षा होइन र? त्यसकारण भद्र सहमतिको नाममा ओलीले भारतीय शासकका नेपाली कार्यकर्तालाई खुरुक्क सरकार सुम्पनुपर्थ्योे भनेर के भन्न खोजिएको हो? के सरकारको लागि राष्ट्रिय स्वार्थ र स्वाभिमानसमेत त्याग्नु भन्न खोजिएको हो? यहाँ ओलीको हठ कसरी र के अर्थमा बेठीक भएको छ?

– ओलीलाई राम्रो थाहा थियो भारतले सरकार ढाल्न सक्छ तर पनि उनले सरकारलाई गौण ठानेर राष्ट्रको पक्षमा मात्र हठ गरेका थिए। अनि के सरकारको नाममा त्यसो नगर्नुपर्थ्यो भनिएको हो? सबैलाई थाहा छ उनले भारत र चीन सम्बन्धको दूरीलाई बराबरीमा राख्न खोजेका थिए। एकतर्फी परनिर्भरताका कारण मुलुक र जनताले बेलाबेला समस्या भोगिरहनुपर्ने भएकाले त्यसलाई समाप्त पार्ने पहल गरे र भारतको पुरानै रुचिका विरुद्ध हठ गरे चीनसँग पनि मित्रता बढाएर। के सरकार जोगाउन ओलीले त्यसो पनि नगर्नुपर्थ्यो भनिएको हो हठ त्याग्नु भनेर? भारतीय दासै भइरहनुपर्थ्यो भनिएको हो कि के भन्न खोजिएको हो? ओलीलाई हठी देख्नेहरूले यस्को चित्त बु‰दो उत्तर दिनुपर्छ नेपाली जनतालाई।

– ओलीले मधेसी र आदिवासी जनजाति आन्दोलनकारीको एजेन्डाहरू भारतको समेत प्रष्ट एजेन्डा भएकै कारण जस्ताको तस्तै माग पुरा गर्न मानेनन्। के त्यो हठ त्याग्दै भारतीय एजेन्डा मान्नुपर्थ्यो ओलीले? के भारतलाई चिढ्याउनुहुन्नथ्यो सरकार टिकाउन? के पहिलेका नेतालेजस्तो भारतीयलाई नेपाली नागरिकता प्राप्त गर्न सजिलो गरिदिनु पर्दथ्यो? के नेपाली नागरिकता लिएका भारतीय नागरिकको नागरिकताको प्रमाणपत्र खारेज गर्नुहुन्नथ्यो? के सरकार जोगाउनका लागि यस्तो सही हठ त्यागेर ओली प्रधानमन्त्री भइरहनु पर्दथ्यो? कि के भन्न खोजिएको हो ओलीको हठ भन्नेहरू हो? मधेसी र आदिवासी जनजाति आन्दोलनको सही आवाजलाई सही ढङ्गले नेपालको संविधानमार्फत् सम्बोधन गर्नुपर्छ त्यसमा विवाद आवश्यक छैन। तर अन्ततः नेपालको अहित र भारतको हित हुने एजेन्डाका विरुद्धमा हठ गर्नु त सही नै होइन र?

– ओलीले पार्टी, देश र जनताको स्वार्थका पक्षमा मात्र काम गर्न चाहे। त्यसमा उनको हठ कहाँ देखियो? अरु पार्टीको कुरा सुन्ने हो कि आफ्नो कुरा गर्ने हो? कि विगतमा झैँ अरुको खुट्टामा उभिँदाउभिँदै एमालेको लैङ्गिक पहिचान नै गुमाउनुपर्दथ्यो भनेको हो? ओलीलाई निर्णय क्षमताविहीन, अस्थिर, सरकारको लागि जसको पनि कुरा सुन्ने, लुर नभएको, पदका लोभी, स्वार्थी आदि बन्नुपर्थ्यो भन्न खोजिएको हो? अरुलाई म जस्तै बनाउँछु भनेर कल्पना त गर्नु भएन नि! जो त्यस्तो हुनै सक्दैन त्यसैले नै उनी के.पी. शर्मा ओली भएका हुन्। उनी न प्रचण्ड, न देउवा न लुर नभएको पदलालची नेपाली राजनेता नै हुन्। अहिले ओलीलाई तह लाउन मिलेका छन् तर ओली सबै पूर्वाग्रहविहीन नेपालीका सामु कहिल्यै ढल्न नसक्ने गरी ठिङ्ग उभिएका छन्। उनी ढल्नका लागि नेपालका अरु नेताहरूजस्तो झिनामसिना कुराहरूमा अल्झने हुनुपर्छ अनि मात्र ढल्छन्।

माथिका यी केही तर्कहरूबाट ओलीलाई हठी देख्नेहरू सरकार र कुर्सीमात्र देख्नेहरूको भीड मात्र रहेछ भन्ने निष्कर्ष निक्लन जान्छ। ओलीले प्रधानमन्त्री भइरहन चाहेको भए भारतीय शासकको योजनामुताबिक काम गरिरहन्थे राष्ट्रको पक्षमा आफ्नो हठ प्रदर्शन गर्दैनथे। बरु उनले दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता ओढ्नुपर्ने परम्परालाई उल्टाइदिए र  काठमाडौंमा पानी पर्दा दिल्लीमा छाता ओढ्ने बनाइदिए। के यस्ता सबै ओली हठ बेठीक थिए? थिएनन् सही थिए। उनको सत्तामा हुँदा राष्ट्रघाती र सत्ताबाहिर हुँदा राष्ट्रवादी देखिने बेठीक हठ छैन र सरकारका लागि जे पनि गर्ने पदलालची खराब हठ पनि हुँदैनन्।

अन्त्यमा के साँच्चै ओलीले अरु विकसित मुलुकका नेताजस्तै हावादारी कुरा मात्र गरिरहेका थिए? हावादारी थिए भने तपाईं पनि म छोराछोरीलाई डाक्टर, इञ्जिनियर, वकिल, असल, ठूलो मान्छे बनाउँछु पनि नभन्नु होला। तपाईं कम्युनिस्ट कार्यकर्ता हो भने वर्गीय समानता स्थापित गर्छु र प्रजातान्त्रिक समाजवादवाला हो भने कांगे्रस हुन्छु पनि नभन्नुहोला तपाईंका विरोधी छरछिमेक र उनका मतियारहरूले हावादारी मान्छे भनिदेलान्।

केन्द्रीय सदस्य, नेकपा (एमाले)

प्रकाशित: २ भाद्र २०७३ ०५:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App