७ वैशाख २०८१ शुक्रबार
समाज

गाउँमै नागरिकता पाउँदा वृद्धवृद्धा द‌ङ्ग

शिविरमा नागरिकता बनेपछि ७४ वर्षीय कान्छीमाया नागरिकता देखाउँदै । तस्बिर : सरिता

धादिङ – गजुरी ६ का अतिमाया दमार्इंले ८४ वर्षको उमेरमा नागरिकता लिएकी छन् । गाउँमा आयोजित एकीकृत घुम्ती शिविरमा उनले नागरिकता लिएकी हुन्। १९९० सालमा जन्मिएका उनले नागरिकता पाएपछि अब वृद्धभत्तासमेत लिन पाउने भएकी छन्। 

उनी भन्छिन्, ‘धादिङबेसी गएर नागरिकता बनाउन आँट नभएर यत्तिकै बसिरहेकी थिएँ, अहिले गाउँमै नागरिकता दिन आयो।’ 

नागरिकता लिएपछि खुसी हुँदै अतिमायाले भनिन्, ‘उमेरमा नागरिकता चाहिएन, वास्ता पनि गरिएन, वृद्धभत्ता लिने बेलामा नागरिकता बनाउनुपर्ने रहेछ भनेर थाहा पाइयो तर धादिङबेसी हिँडेर जान सकिएन । अब त भत्ता पनि पाउँछु रे’, उनले भनिन् । उनलाई शिविरसम्म छोराले बोकेर ल्याएका थिए। 

नागरिकता पाएपछि अतिमायाको चाउरी परेको अनुहारमा चमक छाएको छ । नागरिकता नहँुदा १४ वर्षसम्म अतिमाया सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको थियो । गाविस सचिवले नागरिकता बनाउनु अनि मात्र भत्ता पाइन्छ भनेपछि नागरिकता बनाउन सदरमुकामसम्म जान खर्चको जोहो गर्दै थिइन् । सदरमुकामसम्म जान धेरै समय हिँड्नुपर्ने र नागरिकता लिने विधिबारे थाहा नहुँदा उनको नागरिकता बन्न सकेको थिएन। 

गजुरी गाउँपालिका ४ सासिराङकी ७५ वर्षीया कान्छीमाया तामाङले नागरिकता पाएकी छन् । गाउँमा शिविर आउँदैछन् रे भन्ने सुनेपछि ५ घन्टा हिँडेर शिविरमा आएको उनले सुनाइन् । ‘नागरिकता नभएकै कारण वृद्धभत्ता रोकिएको थियो,’ कान्छीमायाले भनिन्, ‘अब वृद्धभत्ता खान पाउने भएँ।’ 

भौगोलिक विकटताका कारण सदरमुकामसम्म ओर्लन नसक्दा र घरायसी समस्याका कारण उनीहरुले नागरिकता लिन पाएका थिएनन्। 

गाउँमै जिल्ला प्रशासन कार्यालय धादिङको घुम्ती टोली पुगेपछि गाउँका धेरैको नागरिकता, विवाहदर्ता, अपांगता परिचयपत्र बनेका छन् । शिविरमा गजुरी गाउँपालिकाको तार्केक, छेपाङ, किरान्चोक, पेटारेलगायतका स्थानीयले सेवा लिएका छन्। 

जिल्लाका विकट बस्तीमा घुम्ती शिविर सञ्चालन गर्दै आइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । ‘गाउँमै सेवा दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो’, ढकालले भने, ‘भौगोलिक विकटतासँगै खर्चका हिसाबले पनि सस्तो भएकाले शिविरबाट धेरैले सेवा लिएका छन्।’

गजुरी गाउँपालिका ६ जरेबगंैचामा सञ्चालित घुम्ती शिविरमा पाँच सय २२ जनाले नागरिकता र १९ जनाले अपांगता प्रमाणपत्र बनाएका हुन् । गजुरी गाउँपालिकाभित्रका विभिन्न प्रक्रिया तथा प्रमाण नपुगेर नागरिकता, व्यक्तिगत घटना दर्ता र अपांग परिचयपत्र लिनबाट वञ्चित भएका चेपाङ, तामाङ र दलित समुदाय लाभान्वित भएका छन्।

नागरिकता नभएर भत्ता तथा अन्य विभिन्न सेवाबाट वञ्चित भएकाहरु नागरिकता पाएसँगै खुसी भएको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् । गजुरी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा प्रयास नेपाल र अक्फामको सहयोगमा शिविर सञ्चालन भएको थियो।

प्रकाशित: १७ फाल्गुन २०७४ ०४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App