८ वैशाख २०८१ शनिबार
अर्थ

उखुको भुक्तानी माग्दै ज्ञापन

सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा लामबद्ध किसानको उखु बोकेका सवारी साधन । तस्बीर : टंक-नागरिक

सर्लाही  – उधारोमा दिएको उखुको बक्यौता अविलम्ब भुक्तानी माग गर्दै किसानले इन्दुशंकर चिनी मिल व्यवस्थापनलाई ज्ञापनपत्र बुझाएका छन्।

सर्लाहीको हरिवनस्थित इन्दुशंकरले दुई महिनादेखि भुक्तानी रोकेपछि मिलगेट उखु उत्पादक समिति हरिवनले ज्ञापनपत्र बुझाएको हो । ‘किसानले दुई महिनादेखिको भुक्तानी पाएका छैनन्,’ समितिका अध्यक्ष बेदबहादुर बुढाथोकीले भने, ‘भुक्तानी रोकिँदा मजदुर, किसान र ढुवानीकर्तालाई नजिकिँदो होली मान्न समस्या भएको छ ।’

विगतमा किसानलाई उखु दिएको ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने मिलले यस वर्ष भने बेवास्ता गरेको प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले आरोप लगाए । अविलम्ब भुक्तानीको व्यवस्था नमिलाए किसान आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्र बुझाउन गएका माओवादी नेता कमल बुढाथोकीले चेतावनी दिए।
मिलका उखु प्रबन्धक योगनारायण रजकले किसानको बक्यौता नियमित भुक्तानीका लागि आफूहरु सकारात्मक रहेको बताए । ‘बैंकिङ प्रोसेसमा ढिलाइ हुँदा  भुक्तानीमा केही समस्या आएको छ,’ उनले भने, ‘केही दिनपछि नै नियमित भुक्तानीको व्यवस्था मिलाउँदैछौं।’

पाकिस्तान र बंगलादेशबाट सस्तो मूल्यमा चिनी आयात हुँदा स्वदेशी चिनी बिक्री नभएकाले भुक्तानीमा समस्या आएको रजकले जानकारी दिए । ‘मिल चलेको अढाइ महिना भइसक्यो, अहिलेसम्म एक बोरा पनि चिनी बिक्री भएको छैन,’ रजकले भने, ‘अन्य देशले चिनी निर्यातमा अनुदान दिएपछि सस्तो विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा समस्या आएको छ।’

पुस पहिलो साताबाट सञ्चालनमा आएको मिलले बुधबारसम्म २६ लाख ४० हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ २० पैसाका दरले उखु खरिद गरेको मिलले पुस १६ सम्मको भुक्तानी गरेको छ । यो मिल किसानको रकम भुक्तानीमा अहिलेसम्म मुलुकमै व्यवस्थित मानिएको थियो।

जिल्लाकै पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर मिलले गत वर्षकै भुक्तानी दिन सकेको छैन । यस वर्ष सात लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरिसकेको उक्त मिलले किसानको नियमित भुक्तानी नदिएको भन्दै उखु प्रबन्धक अरुणकुमार सिंहले केही दिनअघि नै जिम्मेवारी छाडेका थिए ।‘विगतको बक्यौता महिनादिनभित्र भुक्तानी गर्ने र यस वर्षको नियमित भुक्तानी गर्ने सर्तमा मैले पुस पहिलो साता मिल प्रशासन सम्हालेको थिएँ,’ सिंहले नागरिकसँग भने, ‘तर व्यवस्थापन पक्षले भुक्तानी नगरेपछि मैले जिम्मेवारी छाडिदिएँ ।’

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App