coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

युएई जान प्रहरी रिपोर्टको सास्ती

लाजिम्पाटस्थित युएईको दूतावासमा प्रहरी रिपोर्ट बुझाउन पुगेका सर्वसाधारण । तस्बिर : रुद्र-नागरिक

काठमाडौं– निकैको दौडधुपपछि काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) को राजदूतावासमा बुधबार चालचलनको रिपोर्ट बुझाएपछि बर्दिया, मधुवनका कमल डाँगी निकै खुसी थिए ।त्यसो त तीन दिनअघि नै चालचलन प्रमाणितको प्रहरी रिपोर्ट बुझाएर घर फर्कने योजना बनाएका डाँगीले बुधबार पनि सोही रिपोर्ट युएईको दूतावासमा बुझाउन पाउने-नपाउने यकिन थिएन।

किनकि लगातार तीनदेखि बिहान सात बजे युएईको दूतावाससमा पुग्दासमेत उनले प्रहरी रिपोर्ट बुझाउन पाएका थिएनन् ।‘हरेक दिन बिहान सात बजे दूतावासबाहिर पुग्दासमेत प्रहरी रिपोर्ट बुझाउने पालो नपाएपछि मंगलबार राति नै लाइनमा बसेको थिएँ,’ तीन दिनको प्रयासपछि युएईको दूतावासमा प्रहरी रिपोर्ट बुझाउन पाएका डाँगीले हर्षित हुँदै भने, ‘रिपोर्ट बुझाउन पाएपछि विदेश जान पाएको जस्तो भइरहेको छ । यद्यपि उनलाई युएई दूतावासका कर्मचारीले दुई दिनपछि मात्र बुझाएको प्रहरी रिपोर्ट फिर्ता लैजान भनेका छन् । उनले दुबईस्थित एक डिपार्टमेन्ट स्टोरमा काम गर्न जान थालेको बताए।

केही दिनयता रोजगारीका लागि युएई जाने युवायुवतीले बर्दियाका डाँगीले झैं सास्ती बेहोरिरहेका छन् । तीन साताअघि युएई सरकारले रोजगारीमा जाने हरेकको चालचलन रिपोर्ट अनिवार्य गरेपछि त्यसको मार नेपाली युवायुवतीले पनि खेपिरहेका हुन् ।

रोजगारीका लागि युएई जाने हरेकको चालचलन राम्रो भएको प्रमाण प्रहरीबाट लिने र सोही प्रमाणलाई काठमाडौंस्थित युएई दूतावासले प्रमाणित गर्न थालेपछि त्यसको सास्ती युवायुवतीले खेपिरहेका हुन् । प्रहरीले बनाइदिएको रिपोर्ट युएई दूतावासमा बुझाउन दुई दिनभन्दा बढी लाग्ने गरेको भुक्तभोगी सिन्धुपाल्चोकका अर्जुन तामाङले बताए ।‘मंगलबार रातिदेखि नै लाइनमा बसेका कारण आज (बुधबार) १२ बजे दूतावासमा प्रहरी रिपोर्ट बुझाउन सकेँ,’ उनले भने, ‘मध्यरातमा आएर लाइन नलागेको भए पालो आउने रहेनछ । किनकि मेरो लाइनभन्दा पछाडि रहेका थोरैले मात्र प्रहरी रिपोर्ट बुझाउन पाए।’

युएई सरकारको निर्णयपछि दूतावासले प्रहरी रिपोर्ट संकलन गर्न थालेयता युएई दूतावास रहेको लाजिम्पाट–लैनचोर सडक खण्डसमेत अस्तव्यस्त हुन थालेको छ । दूतावासका कर्मचारीले दैनिक पाँच सय प्रहरी रिपोर्ट बुझ्ने गरे पनि लाइनमा भने तीन गुणा बढी बस्ने गर्छन् । कसले पहिला पालो पाउने भन्दै लाइनमा बसेका युवायुवतीले गर्दा लाजिम्पाट–लैनचोर खण्ड अस्तव्यस्त भइरहेको स्थानीय श्रद्धा श्रेष्ठले बताइन् । एकातिर प्रहरी रिपोेर्ट बुझाउने र अर्कोतर्फ दूतावासले प्रमाणित गरेको रिपोर्ट फिर्ता लैजान युवायुवती भेला हुने गर्छन्।

युएई जान खोजेका महिलासमेत रातभरि लाइनमा बस्नुपर्दा सास्तीको चरम मारमा पर्ने गरेको गुनासो गरेका छन् । रात र दिनभरिजसो जुलुस जस्तो लाइन भइरहे पनि अहिलेसम्म त्यस्तो लाइनको व्यवस्थापन गर्न कसैले चासो दिएका छैनन् । लाइन व्यवस्थापनका लागि न युएई दूतावासले कुनै उपाय अवलम्बन गरेको छ न नेपाल सरकारले नै रोजगारीका लागि युएई जान खोज्ने युवायुवतीले भोगिरहेको सास्तीमा चासो राखेको पाइन्छ।

श्रम तथा रोजगार मन्त्रालयका सहसचिव तेजराज पाण्डे प्रहरी रिपोर्ट बुझाउन युवायुवती आफैं युएई दूतावास पुग्नुभन्दा मेनपावरले सहजीकरण गर्नुपर्ने बताउँछन् । ‘युएईले आफ्नो देशमा अपराध गरेका व्यक्ति जान नपाऊन् भनेर प्रहरी रिपोर्ट मागेकोप्रति नेपालले केही भन्न सक्दैन,’ उनले भने, ‘मुख्य कुरा सेवाग्राहीले सास्ती नपाऊन् भन्ने नै हो।’पछिल्लो समयमा आर्थिक र भौतिक प्रगति गरेको युएईमा रोजगारीका लागि जान खोज्ने युवायुवतीको संख्या पनि बढ्दो छ । गत माघमा श्रम स्वीकृति लिएर चार हजार चार सय ७८ युवायुवती युएई गएको वैदेशिक रोजगार विभागले जनाएको छ । जसमा महिलाको संख्या चार सय ११ थियो ।


 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App