coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बल्ल सात प्रतिशत काम

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउने उपकरण । तस्बिर :नागरिक

सन्तोष पोखरेल/विशन क्षेत्री

पोखरा – सरकारको राष्ट्रिय गौरवको आयोजनाको रुपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणले बल्ल गति लिन थालेको छ । कात्तिक अन्तिमदेखि निर्माण थालिएको विमानस्थलको अहिलेसम्म झन्डै सात प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख विनेश मुनकर्मीले भौतिक पूर्वाधारका हिसाबले सुरुवाती गति सन्तोषजनक रहेको बताए । ‘झण्डै सात प्रतिशत काम सकिएको छ । ठूला आयोजनाको सुरुको कामको गति केही सुस्त नै हुन्छ,’ उनले भने, ‘अब कामले तीव्रता पाउँछ । त्यसका लागि प्रक्रिया पूरा भएको छ, आवश्यक उपकरण पनि आएका छन् ।’ निर्माण कम्पनीले आवश्यक उपकरण ल्याउन केही समय लागेकोले स्थानीय उपकरणका भरमा मात्र काम गर्दा केही ढिला देखिएको पनि उनले बताए।

‘तीव्र गतिमा काम गर्ने उपकरण बल्ल आएका छन् । अब काम पनि तीव्र गतिमा हुनेछ,’ उनले भने । उनका अनुुसार कोलकाता बन्दरगाहमा रोकिएका ‘हेभी इक्विप्मेन्ट’ बल्ल आएका छन् । अहिलेसम्म स्थानीय स्तरका उपकरणले काम गर्दै आएका थिए । अहिले २१ वटा हेभी इक्विमेन्ट निर्माण कम्पनी आफैंले ल्याएको उनले बताए । उनका अनुसार विमानस्थलको भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मा पाएको कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले अहिले धमाधम काम गरिरहेको छ।

मुनकर्मीका अनुसार अहिले अर्थवर्क (माटोको काम) को काम भइरहेको छ । अहिलेसम्म २५ प्रतिशत अर्थवर्क पूरा भइसकेको छ । चालु आर्थिक वर्षभित्र अर्थवर्कको ८० प्रतिशत काम सकिने लक्ष्य सहित तीव्रता दिएको पनि उनले बताए । त्यसबाहेक चालु आर्थिक वर्षभित्रै टर्मिनल भवनसहित बाँकी रहेको ढल, नालाको काम पनि सुरु हुनेछ।

उनका अनुसार विमानस्थल बनाउन अनुमानित लागत करिब २२ अर्ब रुपैयाँको सात प्रतिशत रकमको काम अहिले नै पूरा भइसकेको छ । धावनमार्ग बनाउन करिब साढे चार लाख घनमिटर माटो खनेर निकालिएको छ । चालु आर्थिक वर्षभत्रि साढे तीन अर्ब रुपैयाँ बराबरको काम गर्ने लक्ष्य रहेको उनले बताए । ठेकेदार कम्पनिले पैसा पाउनका लागि दातृ निकाय चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंक र नेपाल सरकारबीच केही दिनअघि अर्काे सहमति भएकोले अब काम सहज भएको उनले बताए।

    विमानस्थलको भूगोल नमिलेका कारण एस्काभेटर र डोजर प्रयोग गरि धावनमार्ग सम्याउने काम भइरहेको उनले बताए । धावनमार्गको भूभाग कडा परेकोले पनि काममा तीव्रता नदेखिएको उनले बताए । अर्थवर्क सकेपछि विमानस्थलको नाला, धावनमार्ग, ट्याक्सी–वे, टर्मिनल लगायत पूर्वाधार कुन ठाउँमा रहन्छन् भन्ने देखिने गरी टुंगो लाग्ने पदाधिकारीको भनाइ छ । विमानस्थलको फ्रेमवर्क आउन २०१९ को मेसम्म कुर्नुपर्न उनीहरुको भनाइ छ।

सरकारले सन् २०२१ जुलाइसम्म विमानस्थल निर्माण सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिएको छ । चिनियाँ लगानीकर्ता एक्जिम बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण यसअघि नै अनुमोदन गरेको छ । एक्जिम बैंकले अर्थ मन्त्रालयलाई गत मे ३१ देखि ‘लोन इफेक्टिभ’ भएको जानकारी यसअघि नै दिएको छ । लोन अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने हुन्छ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भएको थियो । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने छ । सुरुका सात वर्षलाई ‘ग्रेस पिरियड’ मानिएको छ । त्यसैले प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ । वर्षमा दुई किस्ताका दरले २६ किस्ता (१३ वर्ष) मा ऋण चुक्ता गर्ने गरी सम्झौता भएको पदाधिकारीले बताए।

त्यस्तै विमानस्थल बनाउन पाँच सय २१ रोपनी जग्गा अधिग्रहण सकिएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसीईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्सट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ।

इपिसी मोडलमा बन्ने भएकोले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ । चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप पाँच सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।


 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App