४ वैशाख २०८१ मंगलबार
समाज

घर ठडियो, ऋण थपियो

धादिङमा भूकम्पपछि सरकारी अनुदानमा निर्माण गरिएका घर । तस्बिर : सरिता

धादिङ – तीन हिउँद र बर्खा टहरामा गुजारेका भूकम्पपीडितले अझै पनि घामपानी छेक्ने ओत भेट्न सकेका छैनन् ।  भूकम्प गएको तीन वर्ष पुग्न लाग्दा बल्ल पीडितहरुले सुरक्षित बासको जोहो गर्न थालेका छन् । पीडितले सरकारी अनुदानसँगै ऋण लिएर  सुरक्षित घर बनाइरहेका छन् । केहीले ऋणमै घर ठड्याइसकेका छन्। 

नेत्रावती गाउँपालिका–४, माथिल्लो घोर्मुका धनबहादुर घलेले घर ठडाएका छन् । उनले ढुंगा–सिमेन्टको गारोमा जस्ता पाताले छाएको दुईकोठे घर बनाएका छन् । सरकारले दिएको ५० हजारबाट घर बनाउन सुरु गरेका उनले दोस्रो, तेस्रो किस्ताबापतको ३ लाखमा डेढ लाख थपेर साढे ४ लाख रुपैयाँमा घर बनाएका हुन् । उनको थाप्लोमा डेढ लाख ऋण थपिएको छ । ‘घर बनाउदाँबनाउँदै पैसा पुगेन,’ धनबहादुरले भने, ‘छरछिमेकबाट डेढ लाख ऋण खोजेर घर ठडाए । भूकम्पपछि टहरामै बास थियो । अहिले बल्ल पक्की घरमा बस्न पाएको छु ।’ उनको ११ जनाको परिवार छ । छोराछोरी पढ्नका लागि अन्यन्त्र बस्छन् । चाडपर्व र परिवारका सबै सदस्य जम्मा भएको बेलामा दुईकोठे घरमा सुत्ने ठाउँको अभाव हुने उनले बताए। 

२०७२ वैशाखको भूकम्पले धनबहादुरको घर बस्नै नहुने गरी ढालेको थियो । घर बनाएपछि उनलाई ऋणको भारी पनि बढेको छ । पक्की घरमा बस्न पाउने भएपछि ऋणको बोझ थपिए पनि केही गरी तिरौंला भन्ने आँट पलाएको उनले बताए । ‘ऋण गरेर घर बनाइयो, विस्तारै तिर्दै गरौँला नि,’ उनले भने, ‘पहिले गाँस, बास र कपासको व्यवस्था गर्ने र त्यसपछि ऋण पनि तिरौंला ।’ भूकम्पपछि उनको परिवार ढलेकै घरको नजिकै अस्थायी टहरा बनाएर बस्दै आएको थियो । झरी, शीत, तुषारो र बर्खा टहरामुनि बिताउँदाको कष्ट सम्झँदै उनले भने, ‘अब त टहराको कहर सकियो ।’ तीन बर्खा र हिउँद टहरामा बिताएको सुनाउँदै उनले भने भने, ‘बर्खामा पानीको पिरलो, हिउँदमा चिसोको सकस । अब सुखको सास फेर्न पाइने भयो ।’ माथिल्लो घोर्मुकै इमान गुरुङले पनि भूकम्पपछि पक्की घर निर्माण गरेका छन् । उनले पनि दुई लाख ऋण खोजेर पक्की भवन बनाएका हुन् । आफ्नै शैलीमा घर निर्माण गर्दा इन्जिनियरले घर पास नगरिदिने हो कि भनेर सरकारको मापदण्डअनुसार घर बनाउन थालेको तर बनाउँदाबनाउँदै सरकारले दिएको पैसाले नपुगेर ऋण खोज्नुपरेको गुरुङले बताए । ‘सरकारले अनुदानमा दिएको रकम अपुग भयो, दुई लाख ऋण खोजेर घर बनाएको हुँ’, उनले भने, ‘कामदार, निर्माण सामग्री र ढुवानी खर्च बढ्दा ऋणको पनि भारी थपियो । जे भए पनि जसोतसो गरेर नयाँ घर बनाइयो। घर नबन्दासम्म घरकै चिन्ता थियो । अब पुरानै दैनिकीमा फर्किएका छौं।’

माथिल्लो घोर्मुका भूकम्पपीडित केही घर निर्माण गरेर पक्की भवनमा बस्न थालिसकेका छन् । केहीले भर्खर घर बनाउन सुरु गरेका छन् भने केहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । केही अझै टहरामै छन् । सरकारले दिएको अनुदान रकमले घर बनाउन नपुगेको भन्दै कतिपयले ऋण खोजेर घर बनाएका छन् । ‘सरकारले दिएको अनुदान रकमले घर बनाउन पुगेन’, गुरुङले भने, ‘पहिले सुरक्षित ठाउँको जोहो, अनि ऋण तिराैँला ।’ 

घर बनाउन कामदार अभाव रहेको  भूकम्मपीडित बताउँछन् । घर बनाउन चाहिने सामग्री र मजदूरको मूल्य पनि बढेको छ । त्यसमाथि भनेका बेला कामदार नपाउँदा र ज्याला पनि बढ्दा घर बनाउन नसकेको कतिपय पीडितको भनाइ छ। सामान ल्याउन ढुवानी खर्च महंगाो भएका कारण घर बनाउन ढिलाइ भएको पल्लोथोकका सानुकान्छा तामाङले बताए। उनले सहकारीबाट ऋण झिकेर घर बनाएका छन्। उनले सरकारले दिएको रकममा ५० हजार रुपैयाँ ऋण थपेर ३ लाख ५० हजार रुपैयाँमा घर तयार पारेका छन्। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धादिङमा १८ हजार ९ सय ४० जनाले अनुदान लिएर घर निर्माण सम्पन्न गरेका छन् । कुल लाभग्राही ७३ हजार ३ सय ४० रहेकोमा ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन् । अहिले ३१ हजार ६ सय ६६ घर निर्माणाधीन अवस्थामा छन् । सरकारले दोस्रो किस्ताबापतको रकम लिने म्याद चैत मसान्तसम्म तोकेसँगै पुनर्निर्माणले पनि गति लिन थालेको छ। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App