१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अदालतसामु माफी माग्न डा.केसीलाई मोर्चाको आग्रह

काठमाडौं – मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले डा. गोविन्द केसीलाई जनताका बीचमा माफी माग्न आग्रह गरेको छ। रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरेर सर्वोच्च अदालतको मानहानी गरेको भन्दै डा. केसीलाई माफी माग्न आग्रह गरेको हो। 

मोर्चाका अध्यक्ष विजय थापाले अनशनको नाममा पश्चिमा शक्तिहरुको आडमा अदालतमाथि प्रहार गरेको आरोप लगाउँदै डा. केसीलाई माफी माग्न आग्रह गरे। ‘स्वास्थ्य क्षेत्रमा भएका विकृतिलाई रोक्नुपर्ने उहाँको माग जायज छ, तर सरकारको नुनपानी खाएर अस्पतालमै धर्ना दिनु जायज होइन, कि खुल्ला राजनीतिमा आउनुपर्यो, उहाँले माफिया, भष्ट्र, दलाल जस्ता शब्दहरु प्रयोग गर्नुहुन्छ तर प्रमाणित कसैलाई गर्नुहुन्न, यसरी राजनीति गर्न पाइँदैन,’ उनले भने।

राष्ट्रको अहित हुने काम गर्नेलाई नछोड्ने भन्दै उनले थपे– ‘अदालतले पुर्जी काटेको खण्डमा अदालत जान्न भन्ने केसी को हुन? किन उनी अदालतसामु जाँदैनन्? उनी कुन शक्तिको आडमा यस्तो काम गर्दैछन्? त्यसको खोजी हुने कि नहुने? अदालतको आदेशलाई मानेर अदालत जानु भएन भने हामी अस्पतालबाट उठाएर अदालतमा राख्छौँ।’
पत्रकार हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहराले अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेको बताएका छन्। उनले भने, ‘लोकतन्त्र र कानूनी शासनको पक्षधर भएको नाताले अदालतमाथिको प्रहारलाई सामान्य रुपमा लिन सकिएन त्यसैले मैले डा. गोविन्द केसीको बिरुद्धमा मुद्धा दर्ता गराएको छु, उहाँले आफ्नो गल्तिलाई मानवीय त्रुटि भन्नुहुन्छ अरुको डुब्लीकेट भन्नुहुन्छ, यूरोपियन यूनियन शक्तिको भरमा अदालतमाथि हमला गर्ने कुरा कुनैपनि हालतमा स्वीकार्य हुँदैन।’

डा. केसीको १४ पटकको अनशन र त्यसले उब्जाएका तरंगहरुले मुलुकको सर्वोच्चतामाथि प्रश्न चिन्ह खडा भएको भन्दै बोहराले शक्तिशाली नागरिकता आयोग गठनको माग गरेका छन्। 

उनले भने, ‘मैले चुनाव अघि नै यो काम सक्नुपर्छ, नेपाली भन्दै गैरनेपालीहरुले नागरिकता प्राप्त गरेका छन् पहिले छानविन गरेर मात्र चुनाव जाउ र असली जनमत आउछ भनेको थिएँ, तर आज अदालतका नाममा भैरहेका अनेका दृश्यहरुले देखाउन खोजेका चित्रहरु सामान्य छैनन्, २०२० सालदेखि यता र २०६४ सालमा विशेषगरी मधेशमा हचुवाको भरमा नागरिकता बाँढियो त्यसले नेपालको राष्ट्रियतामाथि खतरा निम्त्यायो।’

प्रकाशित: १६ फाल्गुन २०७४ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App