७ वैशाख २०८१ शुक्रबार
समाज

चौँरीपालनबाट करोडपति

तस्वीर: नवीन लामिछाने/मनाङ/रासस

मनाङ– युवा विदेशिने लहर चलेको बेला मनाङको नेस्यङ गाउँपालिका–६ का ३२ वर्षीय कान्छा गुरुङ भने चौँरीपालनमा व्यस्त छन् ।

शुरुमा दश वटा चौँरीबाट व्यवसाय शुरु गरेका गुरुङ अहिले करोडपति बनीसकेका छन् । अहिले गुरुङको चौँरी गोठमा साठी वटा चौँरी छन् । चौँरी गाईकाे व्यापार एवं दुग्धजन्य उत्पादनबाट गुरुङले मनग्ये आम्दानी गरेका छन् ।

आजकाल पढेलेखेका युवा विदेशिएका र जागिरको सिलसिलामा शहर बजारमा भौँतारिएको देख्दा आफूले अँगालेको पुख्र्यौली पेशा नै उचित भएको गुरुङ बताउँछन् । ११ वर्षदेखि चौँरी गोठमा बस्दै आएका कान्छा गुरुङले शुरुमा जम्मा १० वटा चाँैरीबाट यो पेशाको थालनी गरेको बताए । 

अहिले ६० वटा चौँरी र १५ वटा भाले (याक) रहेका छन् । उनी चौरीको दूध दुहुने, मोही पार्ने र दूधदहीबाट विभिन्न परिकार, चिज, नौनी, घ्यु र छुर्पी बनाउछन् । अहिले एक केजी नौनीको रु २५ सय पर्छ भने एक पालामा करिव १० केजी नौनी हुन्छ । उनले उत्पादन गरेका यी परिकारहरु मनाङका होटललगायत काठमाडौं पोखरा र बाहिरी मुलुकमा समेत पुग्ने गरेका छन् ।

त्यस्तै, एउटा याकको मूल्य अहिले रु एक लाख २० देखि ३० हजार सम्म पर्छ । कान्छा गुरुङले वर्षमा चार÷पाँचवटा याक बेच्ने गरेको र एक वर्षमा १० देखि १२ लाखसम्म आम्दानी गर्ने गरेको बताए । कान्छा भन्छन्, “अहिले आफूसँग भएका सबै चाँैरी र याकको मुल्य चार÷पाँच करोड पुग्छ ।” 

शुरु शुरुमा त रमाईलो नै भयो बीचमा आफ्ना साथीहरु विदेश गएको देखेर आफूलाई पनि सबै छाडेर विदेशिने रहर जागेको र घरको समस्याले गर्दा गोठमै थन्किनु पर्दा नरमाइलो लागेको बताए । अहिले विदेशिएका साथीहरुको अवस्था देख्दा आफूले गरेको कामप्रति सन्तुष्टि मिलेको उनी बताउँछन् । (नवीन लामिछाने/मनाङ/रासस)

 

प्रकाशित: १६ फाल्गुन २०७४ १३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App