७ वैशाख २०८१ शुक्रबार
कला

दशकपछि जन्मभूमी पुगे उदितनारायण

भारदह (सप्तरी) - भारदहस्थित पूर्व–पश्चिम लोकमार्गको उत्तर पट्टी छेउमै छ प्रसिद्ध गायक उदितनारायण झाको घर। डेढ दशकदेखि सुनसान रहेको उक्त घरमा आजभोलि निकै चहल पहल छ। चहल पहल हुनुको कारण हो उदितनारायण झाको आगमन। 

डेढ दशकपछि सोमबार उदित जन्मभूमी फर्किँदा उनको घरमा चहल पहल बढेको हो। घरायसी कामकाजका सिलसिसामा उदित भारदह पुगेका हुन्। उनले कंकालनी मन्दिरमा पूजाआजा पनि गरेका छन्। उनले पूजा गर्नकै लागि आफू घर आएको बताए। उनले यस पटकको होली पनी भारदहमै मनाउने योजना बनाएका छन्।

उदितलाई भेट्ने र फोटो खिच्नेको भिड छ उनको घरमा। उनी पनि प्रशंसकसँग रमिरहेका छन्। छिमेकी सुरेश राउतले उदितले गाउँमा गरिब विपन्नलाई आर्थिक सहयोग गरिरहेको बताए। ०५७/०५८ तिर भारदह आएका उदित लामो समयपछि गाउँ फर्किएको स्थानीयले बताएका छन्।

जेठी श्रीमती रञ्जना नारायणलाई सार्वजनिक रुपमा पत्नी स्वीकार गर्न इन्कार गरेपछि उदितविरुद्ध नेपाल तथा भारतमा महिला अधिकारवादीले आन्दोलन गरेका थिए। रञ्जनालाई पत्नी स्वीकार्नु पर्ने भन्दै उनको बिरुद्धमा उनकै गाउँमा समेत प्रदर्शन गरिएको थियो। उक्त घटनापछि उनी गाउँ फर्केका थिएनन्।

सामान्य परिवारमा १ दिसम्बर सन् १९५५ मा जन्मेका उदितले गाउँलाई अत्यन्तै माया गर्ने गरेको स्थानीय बताउँछन्। उनी गाउँलाई माया गर्ने भएकै कारण गाउँमै लाखौं लगानीमा उदितले घर बनाएको भारदहका पूर्व गाविस अध्यक्ष पवन मण्डलले बताए। गाउँको विकासका लागि समेत उदित चिन्तशील रहेको उनको भनाई छ। उदितको घरको छेउमा रहेको इलाका प्रहरी कार्यालय भारदह स्थापना गर्नमा उदितको ठुलो योगदान रहेको उनी वताउँछन्। उदितले कंकालनी भगवती मन्दिर निर्माणका लागि पनि ठूलो सहयोग गरेका छन्।

उनले मैथिली, नेपाली, हिन्दी लगायत ३० बढी भाषाका झण्डै १५ हजार भन्दा बढी गीत गाइसकेका छन्।  

प्रकाशित: १६ फाल्गुन २०७४ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App