coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एकजना प्रहरीलाई ११ हजार पर्यटकको भार

पोखरा- पर्यटन व्यवसायीका अनुसार सन् २०१४ मा पोखरामा झन्डै ३ लाख विदेशी पर्यटक भित्रिए। भूकम्पले पोहोर यो संख्या केही घट्यो। विदेशीबाहेक पोखरा घुम्न आउने स्वदेशी पर्यटकको लेखाजोखा छैन। स्वदेशी पर्यटक पनि लाख हाराहारी आउने व्यवसायीको अनुमान छ।

पोखरा भित्रिने लाखौं स्वदेशी र विदेशी पर्यटकलाई शान्ति सुरक्षामा सघाउन, भोग्नुपरेका कठिनाइलाई सुल्झाउन, गुनासा सुनिदिन यहाँ जम्मा २७ जना पर्यटक प्रहरी खटिएका छन्। ३७ जनाको दरबन्दी भए पनि अहिले २७ जनामात्र छन्। पोखरा भित्रिने करिब ३ लाख विदेशी पर्यटकका लागि २७ जना प्रहरी बाँडिदा एकजना प्रहरीले ११ हजारभन्दा बढी पर्यटकलाई वर्षमा सेवा दिनुपर्छ। त्यसबाहेक स्वदेशी पर्यटकलाई पनि सघाउँदा अझै भार थपिन्छ। यसले पर्यटक प्रहरीको सेवामा चुस्तपन आउन नसकेको पर्यटन व्यवसायीको भनाइ छ। 

'एकजना प्रहरीले वर्षमा १०–११ हजारलाई सेवा दिनै सक्दैन। विभिन्न ठाउँमा बाँडिएर खटिएको पर्यटक प्रहरीले जनशक्ति अभावमा सेवामा चमक ल्याउन सकेको छैन,' पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष सोमबहादुर थापा भन्छन्, 'पर्यटक प्रहरीसँग हाम्रो ठूलो अपेक्षा थियो। बाहिर देख्नका लागि पर्यटक प्रहरीको उपस्थिति छ। चुस्त सेवामा जुट्न सकेको छैन। आवश्यक पर्दा खटिन न त जनशक्ति छ, न साधन–स्रोत नै। पर्यटक प्रहरी आफैंलाई सहयोगको खाँचो छ।'

पर्यटक प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र लगायत सुरक्षा निकाय पर्यटन क्षेत्रमा खटिए पनि व्यवसायीले पर्यटक प्रहरीसँग सहयोगको बढी अपेक्षा गर्ने उनले बताए। 'हुन त पर्यटन क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र सबै निकाय खटिएका छन्। तर पर्यटक सेवामा खटिएको पर्यटक प्रहरीसँग सबैको अपेक्षा छ। पर्यटकले पनि तिनै प्रहरी खोज्छन्। कामको प्रकृतिले पनि पर्यटक प्रहरीसँग सामिप्यता बढेको हो,' उनले भने, 'त्यसैले पर्यटक प्रहरी सबै कुराले सुसज्जित हुनुपर्ने भन्ने हाम्रो माग हो।' एकैपटक हजारौं पर्यटकलाई सेवा दिनु नपरे पनि सीमित जनशक्ति लाखौं पर्यटकको सेवा र सुरक्षामा खटिनुपर्ने भएकाले प्रभावकारी नदेखिएको उनले बताए।

पोखरा आएका पर्यटकले घुमघाम र बसोबासका क्रममा भोग्नुपरेको समस्याबारे पर्यटक प्रहरीलाई जानकारी दिन्छन्। आर्थिक वर्ष ०७२/७२ मा पर्यटक प्रहरीमा १ सय ६० वटा गुनासा पुगेका थिए। तर तीमध्ये जम्मा ३७ वटा गुनासालाई मात्र पर्यटक प्रहरीले सुनुवाइ गरेको थियो। होटलमा दुर्व्यवहार खेप्नुपरेको, सामान चोरिएको, नराम्रो खानाले बिरामी परेको लगायत गुनासा पर्यटक प्रहरीमा आउने गरेका छन्।

पर्यटक प्रहरी निरीक्षक जयराम वन्त सीमित स्रोत–साधनबीच खटिनु परेकोमा असहज भएको गुनासो गर्छन्। 'कुनै अप्ठेरो पर्‍यो भने हामीसँग न त जनशक्ति छ, न, स्रोत साधन नै। कतिन्जेल मागेर काम चलाउने,' वन्तले भने, 'खट्ने क्षेत्र ठूलो छ, तर जनशक्ति छैन। त्यसैले हाम्रो सेवा प्रवाह पनि उत्ति प्रभावकारी बन्न सकेको छैन।'

नेपाल भित्रिएका पर्यटकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, पर्यटकले भोग्नुपरेका गुनासो सुन्न, विदेशी पर्यटकको नेपाल बसाइ सुरक्षित बनाउन ०३५ सालमा पर्यटक प्रहरी स्थापना भएको थियो। ७ जनाबाट सुरु भएको पर्यटक प्रहरीमा अहिले देशभरमा जम्मा २ सय २७ जना छन्। ती सबै प्रहरीको नेतृत्व एकजना प्रहरी निरीक्षकले गर्दै आएका छन्। तिनै प्रहरी काठमाडौं उपत्यका सहित कास्की, चितवन, झापा, धनुषा, मनाङ, मुस्ताङ लगायत पर्यटकीय जिल्लामा खटिएका छन्। पोखरामा ०६३ देखि पर्यटक प्रहरी आए पनि ०७० पछि बल्ल निरीक्षकको कमान्डमा टोली खटिएको छ।

पर्यटन क्षेत्रमा खटिने गरी बनेको पर्यटक प्रहरीको व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालय मातहत रहेको छ। पर्यटक प्रहरीको मासिक पारिश्रमिकदेखि व्यवस्थापनको सबै जिम्मा पर्यटन मन्त्रालयले गर्दै आएको छ। पर्यटन मन्त्रालय मातहतको यो निकायले स्थानीय प्रहरीसँग समन्वयमा काम गर्दै आएको छ। वन्तले अहिलेका लागि जनशक्ति र पूर्वाधारको अभाव नै मुख्य रहेको बताए।

'कुनै पर्यटकलाई अप्ठेरो पर्‍यो र उद्धारमा खटिनुपर्दा हामीसँग साधन–स्रोत छैन। यातायात साधनको नाममा पोखरामा एउटा मोटरसाइकल र ४ वटा साइकल छन्। यति ठूलो पर्यटन क्षेत्रका लागि यी साधनले केही राहत दिन्न,' उनले भने, 'त्यसैले हामीलाई तत्काल जनशक्ति र उचित स्रोत साधन चाहिएको छ। हामीलाई ड्युटीमा आउजाउ गर्न पनि साधन अभाव छ।'

कास्कीका लागि खटिएका २७ जना प्रहरी अहिले लेकसाइड सहित घान्द्रुक, विरेठाँटी, धम्पुसमा बाँडिएर खटिएको छ। पोखराको लागि खटिएको यो युनिट पर्यटन बोर्डले गोदामघर बनाएको टहरोमा बसेर व्यवस्थापन गरिरहेको छ। टिनको टहरोमुनि यो युनिटले कार्यालय खडा गरेको छ।

प्रकाशित: २ भाद्र २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App